आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – जापानलाई कर्मभूमि बनाउँदै आएका फुकुओका निवासी पुरुषोत्तम सिग्देलले नयाँ गीत ‘छोरो’ लिएर बजारमा आएका छन् ।

पछिल्लो समयमा विदेशमा नेपालीहरुका बालबच्चा जन्मने क्रम बढ्दै गईरहेको सन्दर्भमा उनीहरु विदेशमै हुर्कने, बढ्ने र पढ्ने गर्दैगर्दा आफ्नो माटोलाई बिर्सन सक्ने संभावनालाई इंगित गर्दै उक्त गीत हालै बजारमा ल्याएका हुन् ।

विदेशमा जन्मिएका नेपाली छोरा छोरीहरुलाई नेपालसंग नाता जोड्ने कार्यमा अभिभावकहरुको ध्यानाकर्षण गराउनमा गीत केन्द्रीत देखिन्छ । ‘बिर्सन्छौ कि भन्ने पीर भो, जन्म्यौ तिमी विदेशी माटोमा, तिम्रो देश त नेपालतिर हो’ भन्ने मार्मिक शब्दमा गीतको लय बगेको छ । समग्रमा गायक सिग्देलले ‘माटोको माया’ प्रति दर्शाएको समर्पणभाव गीतमा छचल्किएको छ ।

गायक सिग्देलको आफ्नै लय, शब्द र स्वर रहेको उक्त एकल गीतमा संगीत संयोजन सागर विरहीले गरेका छन् भने प्रकाश भट्टको निर्देशन रहेको छ । यसैगरी गायक सिग्देल, प्रयास सिग्देल, यशोधा लम्साल, कृष्णकुमारी उपाध्याय, नारायणप्रसाद उपाध्याय र देवका उपाध्यायलाई उक्त गीतको फिचरिङमा देख्न सकिन्छ ।

विदेशमा हुर्कदो नयाँ पुस्ता र उनीहरुले बिर्सदै जान लागेको आफ्नो देश नेपालका बारेमा एउटा साँच्चिकै चिन्ता र चासोको पेचिलो बिषयलाई यहाँ गीति छन्दद्वारा उजागर गर्न खोजिएको छ । विदेशमा उनीहरुले नेपाली भाषा, सँस्कार, सँस्कृति, आफन्त, नालनाता, सामाजिक मूल्य मान्यता जस्ता हाम्रा अमूल्य विरासत प्रति विदेशमा जन्मिएका र अब जन्मिने नेपाली छोराछोरी विमुख हुँदै जान सक्ने भएकोले सम्बन्धित सबै सचेत रहनुपर्ने सन्देश गीतले बोकेको छ ।

विदेशमा जतिसुकै सुख, सुविधा र रंगीचंगीमा बसेर रमाए पनि विदेश आखिर विदेश नै हो र आफ्नै देशको धुलोमाटोमा जस्तो आफ्नोपन विदेशमा पाउन कदापि संभव छैन, जतिसुकै वर्ष बसे पनि विदेशमा विदेशीलाई हेरिने दृष्टिकोण र परिचय सँधै विदेशी नै हुन्छ त्यसैले आफ्ना छोराछोरीलाई आफ्नै आँखा अगाडि नेपाल बिर्सदै गएको टुलुटुलु हेर्न नहुने गीतको केन्द्रीय भाव रहेको छ ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जापान शाखाका उपाध्यक्ष समेत रहेका सिग्देलका जापान आउनु अघि कदम डालीमा, अधुरो माया, काँडा बन्यौ फूलको साटोमा र जापान आईसकेपछि जन्मिएको ठाउँ, पोखराको बजारको, बाबाको गीत लगायतका सिर्जना बजारमा आईसकेका छन् । ९ वर्ष अघि जापान आएका तनहुँ भिमादका सिग्देल ज्यान विदेशमा भए पनि ब्यस्तताबाट उछार खेल्दै तन-मन नेपालमै भएसरह गीत, संगीत र सिर्जनामा निरन्तर क्रियाशील छन् ।***

तपाईको प्रतिक्रिया