आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – विगत १० वर्ष देखि जापानमा हुँदै आईरहेको १२ वर्ष मुनिका किशोर खेलाडीहरुको फुटबल प्रतियोगिता यस वर्ष पनि हुने भएको छ ।

यहि मार्च २९ देखि तीन दिनसम्म हुने सो अन्तर्राष्ट्रिय जुनियर कोपा पुमा तोरेरोस फुटवल प्रतियोगितामा भाग लिन नेपाली खेलाडीहरु यस वर्ष पनि जापान आउने भएका छन् । १२ जना खेलाडीसहित १ प्रशिक्षक, १ म्यानेजर र १ संचारकर्मीसहित १५ जनाको टोली यहि मार्च २६ तारिख टोकियो आईपुग्ने भएका छन् ।

विगतका वर्षहरुमा झै यस वर्ष पनि नेपाली जुनियर खेलाडीहरुलाई जापानमा सहभागिता गराउने ब्यवस्था एनपिओ नेपाल युथ सकर प्रोजेक्ट नामक गैर सरकारी संस्थाले गरेको हो ।

सो संस्थाका उपनिर्देशक ओमप्रकाश तुलाचनका अनुसार नेपालबाट आमिन्त्रत टोलीको स्वागतमा यहि मार्च २७ तारिख बुधबार साँझ शिन ओकुवो स्थित टोकियो रोधीघरमा एक डिनरसहितको भेटघाट कार्यक्रम राखिएको छ ।

शिजुओका केनको सुसोनो सिटी, शिमोवादा स्थित तोकिनो सुमिका स्पोर्टस् सेन्टरमा हुने प्रतियोगितामा नेपाल लगायत ब्राजिल, जर्मनी, दक्षिण कोरिया र जापानको जे. लिगका ४० टिमको सहभागिता रहने तुलाचनले जानकारी दिए ।

नेपालबाट भाग लिन आउने खेलाडीहरुमा सफल थापा (कास्की), विनय तामाङ (मकवानपुर), अलेक्स पौडेल (काठमाडौं), विश्वास ओझा (काठमाडौं), सरोज दर्लामी (रुपन्देही), बिबिर थापा (बागलुङ), बिशाल बि. क. (स्याङ्जा), बिज्ञ गौचन (म्याग्दी), समिर गौतम (अर्घाखाँची), आर्यन गुरुङ (स्याङ्जा), सुबिन नेपाली (कास्की) र प्रकाश तामाङ (गोरखा) रहेका छन् भने प्रशिक्षक राजेन्द्र तामाङ, म्यानेजरकारुपमा एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ र गोल नेपाल डट कमका पत्रकार विक्रम थापा पनि टोलीमा सम्मिलित हुने छन् । सन् २०१६ देखि नेपालका खेलाडीहरुले उक्त प्रतियोगितामा लगातार भाग लिदैं आईरहेका छन् । नेपालले भाग लिन लागेको यो वर्ष चौथो पटक हो ।

उक्त प्रतियोगितामा उत्साहजनक उपस्थिति जनाई खेलाडीहरुको हौसला बढाई दिन पूर्व राष्ट्रिय फुटवल खेलाडी समेत रहेका फुटबल प्रशिक्षक तथा उक्त एनपिओका अध्यक्ष बसन्त गौचनले जापानबासी नेपालीहरुमा अपील गरेका छन् ।
समुद्रपारिसंग कुरा गर्दै गौचनले नयाँ पुस्ताका खेलाडीहरुलाई प्रोत्साहित गरी नेपाली फुटवल खेलको बिकासमा टेवा पुर्‍याउने उद्देश्यले हरेक वर्ष नेपालका किशोर खेलाडीहरुलाई जापान आमन्त्रण गरी प्रतियोगितामा सहभागी गराउँदै आएको बताए । यस अभियानमा जापानबासी नेपाली संघसंस्था, ब्यवसायी, पत्रकार, विद्यार्थी तथा समस्त खेलप्रेमी नेपालीहरुबाट सक्दो सहयोग र समर्थनको अपेक्षा गरिएको उनले बताए ।
खेलाडीहरुको टोली अप्रिल १ मा स्वदेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।***

तपाईको प्रतिक्रिया