आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – रोजगारीका लागि जापान आउन चाहनेहरूलाई लक्षित गरी भाषा सिकाउने नाममा हुनसक्ने ठगी रोक्न नेपाल सरकारले आवश्यक पहल थालेको अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार श्रम तथा रोजगार मन्त्रालयले शिक्षा मन्त्रालयसँगको समन्वयमा भाषा सिकाउने नाममा हुनसक्ने ठगी रोक्ने उपायहरूबारे एक खाका बनाउने प्रक्रिया सुरु गरिसकिएको छ।रोजगारीका लागि नेपालसहित नौ देशका कामदारहरू लिने जापानको पछिल्लो निर्णयपछि नेपालमा पनि जापानी भाषा सिक्न चाहनेहरूको सङ्ख्या बढिरहेको छ।त्यसैले ठगी रोक्ने उपायहरूको एउटा खाका बनाउन लागिएको अधिकारीहरू बताउँछन्।

त्यो सँगै जापानमा रोजगारीका लागि पठाईने कामदारको भाषाको दक्षताबारे भविष्यमा लिईने परीक्षाको स्तर र मापदण्ड निर्धारण गर्ने विषयमा पनि गृहकार्य भइरहेको छ।
जापानी भाषा सिकाउने संस्थाहरूले भने विगतमा विद्यार्थी भिसामा जापान जानेहरूका लागि बनाईएको पाठ्यक्रमकै आधारमा अहिले पनि जापानी भाषा सिकाउने गरिएको छ।

भक्तपुरस्थित एउटा जापानी भाषा सिकाउने संस्थासँग आबद्ध शिक्षिका शोभा जतिका अनुसार हाल जापानी भाषा सिक्न आउनेहरुको सङ्ख्या ह्वात्तै बढेको छ।भाषा सिक्न आउनेहरूले कामदारका रूपमा जापान जान आवश्यक पर्ने पाठ्यक्रमबारे सोध्ने गरे पनि आफूहरूले पहिलेकै शैलीमा भाषा सिकाउने गरेको उनी बताउँछिन्।

उनले भनिन्, – ‘जापानमा नेपालीले रोजगारी पाउने विषयका समाचारहरू बाहिर आएपछि भाषा सिक्नेहरूको सङ्ख्या बढिरहेको छ। हामीले समाचारमा आए अनुसारकै भाषा सिकाइरहेका छौँ।’ तर कतिपयले भाषा सिकाईका नाममा ठगी हुन सक्ने चिन्ता व्यक्त गर्न थालेका छन्।

दुई महिनाअघि नेपाल र जापानबीच कामदार लैजानेबारे पहिलो चरणको सहमति भएको थियो।श्रम मन्त्रालयका अनुसार यसबीचमा सम्झौताको खाकाबारे छलफलहरू भएपनि हालसम्म नयाँ सम्झौता हुन सकेको छैन। श्रमसचिव महेश दाहालका अनुसार जापानी भाषाको परीक्षा र कामदारको दक्षताबारे प्रश्न उठ्न थालेपछि त्यसको स्पष्ट खाका पठाउन जापानलाई पत्राचार गरिएको छ।

उनका अनुसार भाषापरीक्षालाई व्यवस्थित गर्न शिक्षा मन्त्रालयसँग समन्वय गरिनेछ। विगतमा विद्यार्थीको रूपमा जापान जानेहरुले आधारभूत मानिने पाँचौ तहसम्मको भाषापरीक्षा दिने गरेका थिए। कामदारका लागि भने चौथो तह सम्मको भाषापरीक्षा पर्याप्त हुने ठानिएको छ। अधिकारीहरूका अनुसार जापानसँगको सहमतिअनुसार अर्को महिनाबाट नै नेपाली कामदार जापान जाने प्रक्रिया सुरु हुनेछ।तर त्यसको लागि भाषाको स्तर र सीपबारे आवश्यक तयारी भईरहेको छैन। ***

तपाईको प्रतिक्रिया