आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले समृद्ध नेपाल निर्माण गर्ने ऐतिहासिक अभिभारा अहिलेको पुस्ताको काँधमा आएको बताएका छन् ।
विश्वका जुनसुकै बिकसित मुलुकको इतिहास हेर्ने हो भने त्यहाँ पनि कुनै एउटा पुस्ताले ठूलो त्याग गरेको पाईएको र नेपालमा त्यो जिम्मेवारी अहिलेको हाम्रो पुस्ताको काँधमा आएको नेता थापाले बताए ।
आइतवार टोकियोमा भएको एक कार्यक्रममा बोल्दै पूर्व स्वास्थ्यमन्त्री समेत रहेका संघीय संसदका सदस्य थापाले साना तथा मझ्यौला स्केलका उद्योगमा लगानी गर्न प्रवासी नेपालीहरुलाई आग्रह गरेका छन् ।

प्रवासमा रहेका नेपालीहरुले सबैले आ-आफ्नो गाउँ गाउँमा साना भएपनि उद्योग धन्दामा लगानी गरेर रोजगारी सिर्जना गर्न र विदेशमा सिकेको काम गर्ने सँस्कार भित्र्याउन आग्रह गरेका हुन् ।

’समृद्ध नेपाल निर्माणमा प्रवासी नेपालीहरुको भूमिका बिषयक’ एक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै नेता थापाले अगाडि भने – ’समृद्ध नेपालको भोक सबैतिर जागेको छ, यो स्वभाविक छ, तर यसको स्वरुप के कस्तो हुने भन्नेमा भने अझै बहस जरुरी छ ।’

नेता थापाले समृद्धि समावेशी चरित्रको हुनुपर्नेमा जोड दिदैं अहिलेका विकसित मुलुकहरुले जस्तै अब नेपालले समृद्धि हासिल गर्न सयौं वर्ष नलाग्ने दावी गरे ।
संवैधानिक स्थायीत्वको जगमा टेकेर नेपालले अब स्पष्ट मार्गचित्रसहित समृद्धिको यात्रालाई अगाडि बढाएमा केहि दशकभित्र राम्रो प्रगति गर्न सकिने दावी गरे । देशमा अहिले युवाहरुको बाहुल्यता रहेको, संबैधानिक तथा राजनैतिक स्थिरताले दिशा समातेको, बिश्वको ध्यान एशियातर्फ केन्द्रित रहेको, सूचना र प्रविधिका कारण बिकासको गति तिब्र पार्न पहिलेजस्तो सयौं वर्ष कुर्न नपर्ने दृष्टान्तसहित मुलुकले छिट्टै समृद्धि हासिल गर्न सकिने भन्दै प्रवासी नेपालीहरुलाई समृद्ध नेपाल निर्माणको साझा महाअभियानमा जोडिन अपिल गरे ।

समृद्धि हासिल गर्न धेरै हिसाबले अहिले वातावरण अनुकुल भएपनि केही चुनौती भने अवश्य रहेको तर्फ संकेत गर्दै लामो संघर्षपछि हासिल गरेको लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान, संघीयता, धर्मनिरपेक्षता जस्ता उपलब्धिलाई असफल पार्न केही शक्तिहरु योजनाबद्ध ढंगले लागिपरेको उनले बताए । जबरजस्ती हिंसाको प्रयोग, डर र भयको वातावरण सिर्जना गरी जनतामा चरम निराशा छर्ने प्रयास भईरहेको भन्दै यी शक्तिहरुले आकार ग्रहण गर्ने हो भने समृद्धिको यात्रामा अवरोध पनि आउन सक्ने संकेत गर्दै नेता थापाले त्यसतर्फ सबै सचेत रहनुपर्नेमा जोड दिए ।

प्रवासी नेपालीहरुले विभिन्न ढंगले मुलुकलाई पुर्‍याएको योगदानको सह्राना गर्दै नेता थापाले अब उनीहरुको ध्यान उद्यमी बढाउनेतिर केन्द्रित हुनुपर्ने र त्यसको लागि आ-आफ्नो गाउँ गाउँमा ठूलो संख्यामा लघु तथा मझौला उद्योगमा लगानी गरेर समृद्ध नेपालको अभियानमा सहभागी हुन आग्रह गरे ।

समृद्ध नेपाल निर्माणका लागि नागरिकको सहभागिता तथा प्रवासीहरुको लगानी आकर्षित गर्न राज्यका सबै संबैधानिक अंगहरु बलियो बनाउनुपर्ने, कानुनी अड्चनहरु भएमा संशोधन गरिनुपर्ने, प्रशासनिक संयन्त्रलाई चुस्तदुरुस्त र ब्यवस्थित गरिनुपर्नेमा उनले जोड दिए ।

समृद्ध नेपाल निर्माणको बलियो जग बसाल्न शिक्षा, स्वास्थ्य, पूर्वाधार र कनेक्टिभिटीलाई पहिलो प्राथमिकतामा राखिनुपर्ने र त्यसका लागि स्रोतको पहिचान गरिनुपर्ने नेता थापाको भनाई थियो ।
समृद्ध नेपाल निर्माण अभियान जापानको आयोजना र त्यसका संयोजक महेशकुमार श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा नेता थापासंग सहभागीहरुले अन्तरक्रिया गरेका थिए ।
सहभागीहरुको जिज्ञासामा केहि आक्रोश, थोरै आशा र धेरै निराशा झल्किन्थ्यो । नेताहरु भाषण र गफै मात्र गरेर हिड्नुभन्दा देश बिकास गरेर देखाउनुपर्ने, विदेश घुम्दा त्यहाँबाट सिकेको राम्रा पक्षलाई नेताहरुले नेपालमा गएर ब्यवहारमा लागू गरिनुपर्ने, प्रवासी नेपालीहरुका आवाजको सुनुवाई हुनुपर्ने, प्रवासीलाई रेमिट्यान्स पठाउने नागरिककारुपमा मात्र हेरिन नहुने, गणतन्त्र नेपालको कर्मचारीतन्त्रमा सेवाग्राहीलाई गरिने हेपाहा ब्यवहारमा परिवर्तन आउनुपर्ने, गणतन्त्र र संघीयताको नाम जपेर मात्रै परिवर्तन नहुने जस्ता दर्जनौ सुझाव तथा गुनासा नेता थापा समक्ष राखेका थिए ।

जबाफमा नेता थापाले नेपाल अहिले त्यतिधेरै सबैतिर बिग्रेको, भत्किएको र लठालिंगको स्थितिमा नभएको भन्दै आलोचनात्मक टिप्पणी गर्न सबैलाई छूट भएपनि त्यति धेरै निराशा हुनुपर्ने र कुण्ठा पाल्नुपर्ने अवस्था नरहेको भन्दै प्रवासीहरुलाई आश्वस्त पार्ने प्रयत्न गरेका थिए ।
नेता थापाले एक अर्को प्रसंगमा, तथ्य नबुझिकन मान्छेलाई अति छिट्टै देवत्वकरण र दानवीकरण गर्ने संस्कार नेपाली सोसाइटीमा नराम्रोसंग मौलाएको र यसले समाजमा नकारात्मक प्रभाव पारेको भन्दै यस्तो संस्कार टिकाउ नहुने धारणा ब्यक्त गरे । सकारात्मक सोचका साथ आगडि बढ्न र अहिले मुलुकलाई साथ चाहिएको बेलामा प्रवासीहरुले हात दिन ढिला नगर्न उनले आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेस सिन्धुपाल्चोकका सभापति बिकास लामाले पनि आफ्ना विचार राखेका थिए । जनसम्पर्क समिति जापानका रामजंग कार्कीको सञ्चालन र एनआरएन आइसीसीका प्रवक्ता भूषण घिमिरेको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।***

तपाईको प्रतिक्रिया