बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

भारतीय सेनामा कार्यरत छँदा विदामा घर गएको बेला पर्यटकीय नगरी पोखरामा अचानक उनको एक जना जापानी युवतीसंग जम्काभेट हुन्छ । कुरो सन् १९९८ सालको हो, भाइसंग नेपाल घुम्न गएकी ती जापानी युवतीसंग भाषाका कारण खासै राम्रोसंग वार्तालाप हुन नसकेपनि अंग्रेजीमा सामान्य चिनापर्ची र ठेगाना आदान-प्रदान गरी उनीहरु विदावादी हुन्छन् । पल्टनमा फर्केपछि उनी कारगिलको युद्धको भुमरीमा परे । यता प्रेमको मुना पलाउँदै गरेको जापानी साथीसंग पत्राचार हुन थाल्यो । लडाईमा परेको खबरले चिन्ता ब्यक्त गर्दै दीर्घायुको कामना गरेका ती युवतीका पत्रले उनीहरुबीचको सम्बन्ध अझ प्रगाढ हुन थाल्यो । नेपालमा भेट्ने गरी विदा मिलाएर पल्टनबाट उनी घर आउँथे, ती युवती पनि नेपाल पुग्थिन् । फेरि केहि दिनमै छुट्टएिर आ-आफ्ना गन्तब्यमा फर्कन्थे । यसरी मायाको डोरीमा बाँधिएको यो जोडीले तेस्रोचोटी ती युवती नेपाल जाँदा सन् २००१ मा बिबाह बन्धनमा गाँसिए । त्यसपछि ७ वर्षे पल्टने जागीर छोडेर उनी नेपाल आए, त्यसपछि सुरु भएको जापानको यात्राले अहिले १७ वर्ष पुरा गरिसकेको छ ।
उनी हुन् बागलुङ बरेङ, हुग्दीशिरका मनु थापा । ४ वर्षको सानै उमेरमा बाबु गुमाएका थापाले बाबा भनेर बोलाउने भाग्य खोसिएकोमा सबैभन्दा दुखित तुल्याउने बताए । जापानी साथीसंग नजिकिएपछि पल्टनमा छँदै नेपाल आएर जापानी भाषा पढ्ने गरेका थापा बिबाहको अर्को वर्ष सन् २००२ को जनवरीमा जापानमा पहिलो पाईला टेकेका हुन् । जापान आएपछि सुरुसुरुमा काम नपाएर खानुपरेको हण्डरको लामै बेलीबिस्तारमा उनले भने – ‘मुश्किलले घर बनाउने सिकर्मीको काम त पाएँ, भाषा नजान्ने भएकोले साह्रै गाह्रो भयो, त्यसपछि झन मिहिनेत गरेर भाषा राम्रो बनाउने र सीप सिक्न मलाई बाध्य बनायो । त्यसैको परिणामस्वरुप त्यतिबेला सिकेको सीपअनुसार अहिले म आफैले ब्यवसाय गर्दै आएको छु ।’
नागोयाको चिकुसा सिटी अन्तर्गत पर्ने खाकुओजानमा बस्दै आएका थापालाई कामले काम सिकायो, कालिगढ त बनायो नै, भाषा पनि त्यस्तै राम्रो बनाए । निर्माण तथा रिकन्ट्रक्शन गर्ने, रिफम गर्ने कोउजी सम्बन्धि काम गर्ने उनको आफ्नै कम्पनी छ भने नाचगान, भोजभतेर गर्न मिल्ने साउण्ड सिस्टम र वाद्यवादनसहितको ठूलो हल भएको आफ्नै रेष्टुरेन्ट पनि छ ’चौतारी’ । त्यस्तै अर्को रेष्टुरेन्टको छिट्टै ओपन गर्ने सुरसारमा उनी जुटेका छन् । सारङ्गी र बाँसुरी भनेपछि भुतुक्कै हुने थापा राम्रो सारङ्गी वादककारुपमा चिनिन्छिन् । उसो त उनी बाँसुरी वादनमा पनि माहिर छन् । आफ्नो गाडीमा सारङ्गी र बाँसुरी अनिवार्य हुने गरेको बताउँदै उनले भने – ’सिगो (ट्राफिक लाइट) रोकिँदा पनि बाँसुरीमा हात जान्छ ।’ कुनै पनि औपचारिक अध्ययन नगरे पनि राम्रो सारङ्गी बजाएर नेपालीहरुको मात्र नभएर जापानीहरुको पनि मन जित्न उनी सफल छन् । नेपाली तथा जापानी कार्यक्रमहरुमा सारङ्गी बजाउन जान उनलाई भ्याई-नभ्याई छ । बजाउनुसम्म त एउटा कुरो भयो अझ रोचक प्रसंग त के भने थापाले आफै सारङ्गी बनाएर विक्रि गर्दै पनि आईरहेका छन् । उनी लोभलाग्दो फिनिसिङका गुणस्तरिय सारङ्गी आफै बनाउँछन् ।
उनी भन्छन् – ’सुरुका दिनमा काममा जाउ जापानी, घरमा पनि जापानी, बोले पनि जापानी, नबोले पनि जापानी, त्यसैले नेपालको साह्रै मिस गरेको महशुस हुन्थ्यो, विरक्त लाग्दा मैले बाजालाई सारथी रोजेको हुँ, त्यसमाथि सारङगीले बिछट्टै मोहनी लगायो ।’
उनले बनाएका सारङ्गी १ लाख ५० हजार देखि २ लाख येनसम्ममा विक्रि हुने गरेको उनी बताउँछन् । नेपाल, अष्ट्रेलिया, युके, अमेरिका सम्मका सारङ्गीका शौखिनहरुले आफ्नो सारङ्गी अर्डर गर्ने गरेको उनले बताए ।
सारङ्गी बनाउन आवश्यक पर्ने सामग्रीहरु जापानमा उपलब्ध हुने भएता पनि असाध्यै महङ्गो पर्ने र धेरै दिन लगाएर बनाउनुपर्ने हुँदा यसको लागत महंगो पर्ने उनको तर्क छ । सारङ्गीका ओस्ताद श्याम नेपाली (हाल अमेरिका) को प्रेरणाबाट आफु सारङ्गी साधनाको गहिराईमा डुडुल्की मार्न पुगेको उनी बताउँछन् । श्यामलाई गुरु मान्दै आएका थापाले नेपालमा अहिले चलेका टप सारङ्गी वादकहरुको नाम लिदैं भने – ’धर्म गन्धर्व, हेमन्त कान्छा, कमल विश्वकर्मा अहिले सारङ्गी बजाएरै नाम र दाम दूवै कमाएका छन् । राम्रो सारङ्गी वादकको संख्या नेपालमा कम भएकोले पनि उनीहरुको डिमाण्ड बढि छ ।’
तीन छोरी र एक छोराका पिता थापा म्युजिकबाट कमाउने उद्देश्य भने नभएको बताए । ’कलाले बाँचेको देश जापानले धेरै सिकायो, सिकेको सीप नेपालसम्म पुर्‍याउन चाहान्छु’ – उनले भावुक हुँदै भने – ’ठूलो छोरीको हाइस्कुल तेस्रो वर्षमा लाग्दैछ, बिस्तारै नेपाल फर्केर पोखरामा जापानी मोडलको घर आफै बनाएर उतै ब्यवसाय गरेर बस्ने सोच छ ।’
यताको ब्यवसाय भाइ, भतिज, आफन्तलाई जिम्मा लगाएर बिस्तारै सपरिवार नेपाल फर्कने मुड बनाएका थापाले जापानका औजार, सामाग्री र सीपलाई नेपालमा उपयोग गर्ने योजना सुनाए । ११ वर्ष सम्म हाउजिङ सम्बन्धि कोउजी गर्ने एउटै कम्पनीमा सिकर्मी काम गरेका थापाले कामको सिलसिलामा ओकिनावा बाहेक जापानको सबै ठाउँमा पुगेको बताउँछन् । ’कामसंगै सीप सिक्ने मौका पाएँ, सारङ्गीले जापानीहरुसंग धेरै घुलमिल बनायो, स्टेजमा उभिन सक्ने आत्मबल बढायो, जिन्दगीको गाडि राम्रैसंग गुडेको छ, सन्तुष्ट छु’ – उनले भने ।
आफ्नो सफलताको पछाडि श्रीमतीको साथ, सहयोगको ठूलो हात रहेको बताउने थापाले सारङ्गीका लागि आवश्यक पर्ने विभिन्न सामग्रीहरुको खोजखन्तर गर्नुका साथै यसको उदगम र बिकासक्रम बारे पनि गहिरोसंग अध्ययन गर्दै आएको बताए । परापूर्व कालमा कुनै ठाउँमा भएका घटना-विशेषलाई सूचना संप्रेषणको माध्यमकारुपमा सारङ्गीको धुनमा गीत घोलेर गाइने जातिले जनजनमा पुर्‍याउने गरेकोले सारङ्गीको प्रचलन बढ्दै आएको अध्ययनबाट थाहा लागेको उनी बताउँछन् । उसो त पृथ्वीनारायण शाहले पनि नेपालको एकिकरण गर्दा गाईनेहरुमार्फत एकिकरणका लागि गोर्खाली फौज अगाडि बढेको सूचना संप्रेषण गर्न लगाएका थिए भन्ने भनाई छ ।
दुई दाजु र चार दिदीका कान्छो भाइ थापा दार्जिलिङ कारगिलको युद्धबाट बाँचेर आएको जिन्दगीलाई पछाडि फर्केर हेर्दा आफुलाई नाफाको जिन्दगी ठान्दछन् । विदेशीसंग नजिकिएकोमा सुरुमा आमा बेखुशी भए पनि पछि आमाकै आग्रहमा जापानी युवतीसंग घरजम गर्न पुगेको ती पुराना दिन सम्झदैं थापाले भने – ’विदेशमा जति रमे पनि आफ्नो जन्मभूमि, आफु हुर्केको धुलोमाटो त कहाँ भुल्न सकिन्छ र ? त्यसैले श्रीमती पनि उत्साहित छिन्, अबको बाँकी जिन्दगी नेपाल आमाकै काखमा बिताउने संकल्प गरेको छु ।’ ***
प्रस्तुती – तिलक मल्ल

तपाईको प्रतिक्रिया