बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाण्डौ – चर्चित लोकदोहोरी गायक पशुपति शर्माले शुक्रबार युट्यूबमाफर्त सार्वजनिक गरेको नयाँ गीत ‘लुट्न सके लुट कान्छा..’ युट्यूबबाट हटाएका छन् ।

‘लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ लगायतका व्यङ्ग्यात्मक शैलीमा नेपालमा बढिरहेको भ्रष्टाचार बेथितिका बारेमा लेखिएको नयाँ गीत उनले युट्यूबबाट हटाएका हुन् ।

आफूले कुनै पनि राजनीतिक दललाई लक्षित गरेर गीत नल्याएको भए पनि कसैलाई अप्ठेरो परेको भए क्षमा माग्ने पनि गायक शर्माले बताएका छन् ।

आफूले नेपालमा बढ्दो विसंगति र विकृतिको उजागर मात्रै गर्न खोजेको बताउँदै शर्माले यही गीतलाई परिमार्जन गरेर छिट्टै बजारमा ल्याउने पनि जानकारी दिएका छन् ।

के भने पशुपतिले ?

आदरणीय श्रोता एवं दर्शकवृन्द, साथै मेरा प्यारा शुभचिन्तकज्यूमा सादर नमस्कार । हिजो रिलिज भएको मेरो ‘लुट्न सके लुट कान्छा’ भन्ने गीतमा यहाँहरुले देखाउनु भएको सहभागिताका लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।

तर त्यही गीतमा प्रयोग भएका केही शब्दहरुलाई लिएर विरोध सिर्जना गर्न खोजिएकाले म आफ्नो कुरा यहाँहरुसमक्ष राख्न गैरहेको छु । सर्वप्रथम त म यहाँहरुलाई जानकारी गराउन चाहान्छु कि म राजनीतिलाई त्यति गहिराइबाट बुझ्दिनँ । तर सुशासन कायम हुनुपर्छ र देशमा विसंगति व्याप्त हुनु हुँदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले विसंगतिलाई व्यङ्ग्य गरोस् भन्ने मेरो एकमात्र ध्येय थियो । मैले कुनै राजनैतिक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि होइन र कुनै राजनैतिक दल या संस्थासँग मेरो कुनै किसिमको पूर्वाग्रह पनि छैन ।

तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असन्तुष्टि रहन गएकोले जुन–जुन शब्दमा असन्तुष्टि देखियो म ती शब्दहरुलाई परिमार्जनथै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अप्ठेरो पारेको खण्डमा म अन्तर हृदयदेखि माफी चाहान्छु ।

मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगतिमाथि प्रहार गर्नु र विकृतिको उजागर गर्नु मात्र थियो यसमा म पुनः प्रष्ट पार्न चाहन्छु । अहिले डिजिटल प्लेटफर्म युट्यूबमा रहेको गीतलाई परिमार्जनसहित पुनः लिएर आउने वाचा गर्दै अहिले बजिरहेको गीत युट्यूबबाट मैले हटाउने निर्णय गरेको छु ।

र अन्त्यमा, म पनि यही देशको एक सचेत नागरिक साथै कलाकार भएको नाताले देशमा विद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवारहरुको अकर्मण्यताविरुद्ध आवाज उठाउन पाउने मेरो नैसर्गिक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि दोहोर्याउन चाहन्छु । धन्यवाद ।

पशुपति शर्मा

तपाईको प्रतिक्रिया