बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

काठमाडौं – जापान सरकारले नेपालबाट कामदार लैजाने गरी श्रम समझदारी गर्न अवधारणासहितको मस्यौदा पठाएको छ । कामदार लैजानेबारे आवश्यक प्रक्रिया अगाडि बढाउन जापानले मस्यौदा ‘प्रस्ताव मेमोरेन्डम अफ को-अपरेसन’ (एमओसी) पठाएको हो ।

‘कामदार भर्ति र आपूर्तिबारेको अवधाराणा पत्र आइपुगेको छ,’ श्रम मन्त्रालयका सचिव महेश दाहालले भन्नुभयो, ‘सरकारले त्यसको अध्ययन र गृहकार्य गरिरहेको छ ।’  मस्यौदालाई अन्तिम रुप दिन यहि जनवरी १६ तारिखमा जापानी श्रम अधिकारीको प्राविधिक टोली काठमाडौं आउँदै छ ।समान अधिकार मिल्ने
श्रम मन्त्रालयका अनुसार जापानले नेपाली कामदारहरूलाई जापानी सरह सुविधा दिन प्रतिबद्धता व्यक्त गरेको छ । जापानले भित्र्याउन लागेका कामदारलाई कुनै भेदभाव नगरिने र जापानी सरह सेवा सुविधा दिने जापानले नेपाल सरकारलाई पठाएको मस्यौदा प्रस्तावमा उल्लेख छ ।

नेपाल लगायत नौवटा मुलुकबाट जापानमा झण्डै साढे तीनलाख विदेशी कामदार भित्र्याउने निर्णय संसदबाट अनुमोदन गरेको जापानले कामदारलाई शून्य खर्चको अवधारणामा जापान ल्याउनेगरी काम अगाडि बढाइने बताइएको छ ।

यसरी गरिनेछ कामदार छनौट
बीचमा दोश्रो व्यक्ति नराखी प्रतिस्पर्धी आधारमा कामदार रोज्ने प्रस्ताव जापानको छ । प्रारम्भिक प्रस्तावमा जापान जान चाहनेहरूसँग के हुनुपर्छ भन्ने प्रष्ट उल्लेख गरिएको छ ।
‘प्रस्ताव बमोजिम जापानले दुई प्रकारका कामदार लिन खोजेको देखिएको छ,’ सचिव दाहालले भन्नुभयो, ‘कुनै विषयमा ज्ञान र सीप भएका दक्ष कामदार एवम् अति दक्ष क्षमता भएका कामदार जापानको रोजाइमा छन् ।’ कामका लागि जापानले १४ वटा क्षेत्र पहिचान गरेको छ ।

हेरचाह गर्ने क्षेत्र, भवन निर्माण, मसिनरी पार्ट्स र टुल्स, इलेक्ट्रोनिक्स–इलेक्ट्रिकल, सार्वजनिक निर्माण, पानी जहाज निर्माण, सवारी साधन मर्मत, हवाई उड्डयन र विमानस्थल सरसफाइ, होटल रेस्टुरेन्ट, कृषि, माछापालन, खाना र पेय पदार्थ, खाद्य सम्बन्धी सप्लाई चेनहरू छन् । यसैगरी भाषा परीक्षा र दक्षता परीक्षा जापानले आफैँ गर्नेछ । बीचमा कुनै पनि किसिमको दलाल नरहुन् भन्ने जापानको चाहना रहेको श्रम मन्त्रालयको भनाई छ । यस्ता छन् शर्तहरू
जापानमा काम गर्न जान अनिवार्य रुपमा जापानी भाषा जानेको हुनैपर्ने शर्त राखिएको छ । जापानले चाहेका क्षेत्रहरूमा काम गर्ने सीप र दक्षता दोश्रो शर्त हो । काम गर्न जान चाहने मानिसहरूको जापानी भाषामा दखल र कामको दक्षता दुवै जापानीहरू आफै आएर जाँच्ने प्रारम्भिक प्रस्ताव छ ।

भाषा परीक्षाको जिम्मा जापान फाउन्डेसनलाई दिने भनिएको छ । यी सबैबारे नेपाली पक्ष र जापानी पक्षबीच करिब दुई हप्तामा हुने कुराकानीका बेला छलफल हुनेछ । मन्त्रालयका अनुसार जापानले नेपाली कामदारलाई तलब भत्ता सुविधा जापानी नागरिक सरह दिने भनेको छ । प्रस्तावमा त्यो कति हो भन्ने खुलाइएको छैन तर भेदभाव नगर्ने स्पष्ट उल्लेख गरिएको छ ।

सहयोगका लागि केन्द्रहरू स्थापना गर्ने
जापान पुग्ने नेपाल लगायतका कामदारलाई सहयोग गर्ने संस्थाहरू जापानभर स्थापना गर्ने उसको भनाइ छ । कुनै समस्या परयो भने आफ्नो भाषामै आफ्ना कुराहरू राख्न पाउने, केही तलमाथि भयो भने गुनासो गर्न सक्ने, आधारतभूत गुनासा छन् भने सुन्ने र सहजीकरण गर्ने गरी उनीहरूले केन्द्रहरू खोल्ने प्रस्तावमा उल्लेख गरिएको छ ।

जापानले १४ प्रकारका क्षेत्रमा ३ लाख ४५ हजार कामदार लिने सार्वजनिक गरेको छ । नेपाली कति लग्ने भन्ने संख्या भने तोकिएको छैन । ***

तपाईको प्रतिक्रिया