शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

टोकियो – परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशमा रहेका नेपालीहरुलाई नेपालमा लगानी, सीप र प्रविधि भित्र्याउन आग्रह गरेका छन् ।
पाँच दिने औपचारिक भ्रमणमा आइतवार बिहान टोकियो आईपुगेका मन्त्री ज्ञवालीले नेपाल सरकारले लिएको आर्थिक बिकासको एजेण्डामा प्रवासमा रहेका नेपालीहरुलाई साझेदारी भूमिका निर्बाह गर्दै प्राथमिकताको आधारमा लगानी, सीप र प्रविधि भित्र्याउन आग्रह गरेका हुन् ।

एनआरएन जापानले आइतबार अपरान्ह टोकियोमा आयोजना गरेको एक दिवाभोज सहितको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले नेपाल सरकारले अगाडि सारेको ’समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने अवधारणालाई साकार पार्न बिदेशमा रहेका नेपालीहरुको महत्वपूर्ण भूमिका रहने विचार ब्यक्त गरे ।

यसैगरी मन्त्री ज्ञवालीको स्वागतमा आइतवार साँझ जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले आयोजना गरेको रात्रीभोज सहितको भेटघाट कार्यक्रममा बोल्दै उनले नेपालको आर्थिक, सामाजिक र शैक्षिक बिकासमा जापानले पुर्‍याएको योगदानको प्रशंसा गर्दै नेपाल सरकारको तर्फबाट धन्यबाद ब्यक्त गरे । सो अवसरमा बोल्दै राजदूत राणाले मन्त्री ज्ञवाली तथा उनका भ्रमण दलमा सम्मिलित सदस्यहरुको स्वागत गरिन् ।

सो डिनर रिसेप्शनमा जापानको प्रतिनिधी सभाका सदस्य तादाहिको इतो, नेपालका लागि जापानी राजदूत मासामिची साइगो, एनआरएन आइसीसीका अध्यक्ष भवन भट्ट, जपानी राजनीतिज्ञ तथा बुद्धिजीवी, विभिन्न क्षेत्रका प्रतिनिधि, ब्यवसायी तथा मिडियाकर्मीहरुको उपस्थिति रहेको नेपाली दूतावास जापानले एक विज्ञप्तीमार्फत जानकारी गराएको छ ।
मन्त्री ज्ञवाली जापानका परराष्ट्रमन्त्री तारो कोनोको निमन्त्रणामा पाँच दिवसीय औपचारिक भ्रमणमा जापान आएका हुन् । आजै बिहान मात्र टोकियो आईपुगेका मन्त्री ज्ञवालीलाई जापानका लागि नेपाली राजदूत राणा, नेपालका लागि जापानी राजदूत साइगो लगायत परराष्ट्र मन्त्रालयका उच्चाधिकारीहरुले हानेदा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।***

 

तपाईको प्रतिक्रिया