बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडाैं – कैलालीको धनगढी उपमहानगरपालिकाको भौतिक र वित्तीय प्रगति विवरण अब मोबाइलमार्फत् हेर्न र लागेको गुनासो राख्न पाइने भएको छ । उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको अनलाइन पूर्वाधार व्यवस्थापन प्रणाली ims.susasan.org/dhangadhi लगअन गरेर अथवा मोबाइल एप्सबाट हेर्न सकिने भएको हो ।

योङ इनोभेन्स र धनगढी उपमहानगरपालिकाको सहकार्यमा करीब १७ लाख रुपैयाँको लागतमा सो प्रणाली शुरूवात गरिएको छ । अाज एक कार्यक्रमबीच ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्नुभयो । योङ इनोभेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) विभुषण विष्टले भौतिक विकासलाई प्रविधिसँग जोडेर आईएमएस प्रणालीको विकास भएको बताउनुभयाे । जुन प्रणालीमार्फत् धनगढी उपमहानगरपालिकाको सबै वडाको भौतिक पूर्वाधार विकास र वित्तीय प्रगति विवरण हेर्न सकिने छ ।

बजेट छनौट प्रक्रियादेखि नै सो प्रणालीमा इन्ट्री गरिने हुँदा वडा स्तरको बजेट कार्यक्रम, भौतिक प्रगति विवरण देखाउने गर्दछ ।  यतिमात्रै नभई सम्बन्धित सरोकारवाला निकायले ‘जीपीएस लोकेसन’ सहित अनुगमन गर्न सकिने बिष्टले बताउनुभयाे । नगरपालिकामा नगर प्रमुखको संयोजकत्वमा संयन्त्र गठन भएको हुँदा भौतिक पूर्वाधार विकासको गुणस्तरबारे सम्बन्धित सरोकारवाला निकायलाई आमउपभोक्ताले अनलाइन तथा मोबाइल एप्समार्फत् नै गुनासो गर्न सकिने सीइओ बिष्टको भनाई छ ।

नेपालमै पहिलो पटक शुरूवात गरिएको यो प्रविधिले पूर्वाधार सम्बन्धी सम्पूर्ण तथ्यांक संकलन गर्ने हुँदा सुशासनलाई समेत प्रवद्र्धन गर्ने दाबी गरिएको छ । कार्यक्रममा मुख्यमन्त्री त्रिलोचन भट्टले विकासलाई प्रविधिसँग जोड्नुपर्ने आजको आवश्यकता भएको बताउनुभयाे ।

तपाईको प्रतिक्रिया