मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं – मिर्गौला मानिसको महत्वपूर्ण अंग हो । मिर्गौलाले काम गर्न छाडेमा मानिसको जीवन असम्भव छ । मिर्गौला मानिसको संवेदनशील अंग भएकाले यसबारे विशेष चासो राख्नुपर्छ । जीवनशैली, व्यायाम र खानाले मिर्गौलामा प्रत्यक्ष प्रभाव पार्छ । मिर्गौलाको समस्याबाट बच्न यी विषयमा ख्याल गर्नुपर्छ :

यसरी मिर्गौला फेल

मधुमेह, उच्च रक्तचापलगायतका समस्याले दुवै मिर्गौला बिगार्न सक्छ । मिर्गौलामा हुने इन्फेक्सनले पनि ठूलो असर पार्छ । यतिसम्म कि मिर्गौला नै फेल हुने सम्भावना बढी हुन्छ ।

पिसाबमा पनि संक्रमण हुने गर्छ । विशेषगरी ब्याक्टेरियाका कारण पिसाब र मिर्गौलामा संक्रमण हुन जान्छ । जसले गर्दा मिर्गौलाको समस्या निम्तिन्छ ।

जोगिन

मिर्गौलाको संक्रमण र फेल हुने समस्याबाट बच्न प्रशस्त मात्रामा पानी सेवन गर्न आवश्यक हुन्छ । पानी कम पिउने, पिसाब रोक्ने, मधुमेहका रोगीलाई मिर्गौला फेल हुने समस्या अत्यधिक हुन्छ । सामान्यतया दैनिक ३ लिटर पानी पिउन आवश्यक हुन्छ ।

मिर्गौला फेल हुने समस्याबाट तुलनात्मक रूपमा महिला बढी ग्रसित हुने गर्छन् ।

मिर्गौला फेल हुनका लागि शारीरिक व्यायामको पनि भूमिका हुन्छ । आवश्यक मात्रामा शारीरिक व्यायाम नगर्दा, अस्वस्थकर जीवनशैली, चुरोट सेवन, रातो मासु सेवन गर्ने व्यक्तिमा मिर्गौलाको समस्या देखिने गर्छ ।

त्यसैले यसमा विशेष सचेतता अपनाउन जरुरी हुन्छ ।

खानाले पनि मिर्गौलामा प्रत्यक्ष प्रभाव पार्छ । फास्टफुड र जंकफुडको अत्यधिक प्रयोगले मिर्गौलासम्बन्धी समस्याको सम्भावनालाई बढाउँछ ।

शरीर दुख्दा पेनकिलर प्रयोग गर्ने प्रचलन छ । यस्तो औषधिले सीधै मिर्गौलामा असर पु-याउँछ ।

मिर्गौलाको सम्भावित खतराबाट जोगिन ३० वर्ष पार गरेका मानिसले कम्तीमा वर्षमा एकपटक मिर्गौला परीक्षण गर्न आवश्यक हुन्छ । यसका साथै उच्च रक्तचाप, मधुमेहको पनि जाँच गरिरहनुपर्छ ।

तपाईको प्रतिक्रिया