शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं – नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतामा विष्णु पौडेलको महत्वपूर्ण भूमिका रहृयो । तत्कालिन एमालेका उपमहासचिव पौडेल वाम एकताका सुत्राधारमध्ये एक हुनुहुन्छ । दुई ठूला पार्टी एकताका लागि सक्रिय भूमिका खेल्नुभएका पौडेलले नेपालको शक्तिशाली कम्युनिष्ट पार्टी नेकपाको महासचिवको जिम्मेवारी पाउनुभयो । यसै सन्दर्भमा महासचिव पौडेलसँग पार्टीको आगामी कार्यदिशा र शीर्ष नेताहरुको व्यवस्थापन लगायतका विषयमा समुद्रपारिका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंश :-
एकीकरण प्रक्रिया सुरु गरेको सात महिनामा दुवै पार्टी एक भएर नेपाल कम्युनिष्ट पार्टी बनेको छ, योसँगै तपाईले महासचिवको जिम्मेवारी पाउनुभयो । कस्तो लागेको छ ?
यो मेरो लागि एकदमै ठूलो र गौरवपूर्ण जिम्मेवारी हो । यो जिम्मेवारीलाई म सफलताका साथ पूरा गर्न सक्नेछु भन्ने विश्वास छ । आगामी दिनहरुमा मैले गर्ने कामले त्यो प्रमाणित गर्नेछ । राष्ट्रको बिकास र समृद्धिका लागि कम्युनिष्ट पार्टीहरु बीचको एकता आवश्यक थियो । त्यसका लागि मैले सकेको भूमिका निभाएको हुँ । शायद मलाई मूल्याङन गरेरै यो जिम्मेवारी दिनुभएको हो । निश्चय पनि यत्रो इतिहास बोकेको पार्टीको महासचिव हुँदा जिम्मेवारी बढेको महसुस भएको छ । तर म यो जिम्मेवारी राम्रोसँग पूरा गर्नेछु ।

एकताका दौरानमा दुई पार्टी बीचको सम्बन्ध निकै उतारचढावपूर्ण रहृयो होला, पछिल्लो समयमा के-के विषयले एकीकरण टुंगियो ?
मलाई के लाग्छ भने, पहिलो कारण देशको आश्यकता हो । दोस्रो कारण हामीबीच भएको सहकार्य र प्राप्त गरेका अनुभव हुन् । जनताको चाहना र जनमतले पनि यसका ठूलो भूमिका खेल्यो । देश र जनताको बृहत्तर हितका लागि पार्टी एकीकरण गर्नुपर्छ भन्ने अनुभूति अर्को महत्वपूर्ण कारण हो । यति कुरा भनिरहँदा चुनौती थिएनन् पनि भन्न सकिदैन । तर पनि समाधान गर्न नसक्ने प्रकृतिको समस्या कहिले पनि देखेनौं । उतारचढाव चाहिँ भएको भन्दा पनि बढी चर्चा गरिएको थियो । सन्तुलित, परस्परमा विश्वासको सम्बन्धमा भने कहिले पनि कमी आएन र पार्टी एकताले मूर्तरुप लियो ।

केन्द्रमा कुरा मिल्यो तर जनवर्गीय संगठन र अन्य मातहतका कमिटीका विषयबारे के योजना छ ?
केन्द्रीय तहमा गठन गरिएका संस्थाहरूले पार्टीलाई वैधानिक र संस्थागत ढंगबाट अघि बढाउँछन् । अधिकार र कर्तव्यको क्षेत्राधिकारको सीमाहरूबाट पार्टीलाई अघि बढाउन भूमिका खेल्छन् । तीन महिनाभित्र समग्रतामा एकीकरण प्रक्रिया टुंग्याउनेछौं । पार्टीका स्थानीय तह र जनवर्गीय संगठनहरूसहित सबै तहको एकतालाई टुंग्याउनेछौं ।

तल्लो तहसम्म व्यवस्थापनका चुनौती के देख्नुभएको छ ?
व्यवस्थापनको चुनौती भन्दिन म, त्यसलाई व्यवस्थापनको अभिभारा भन्छु । हामीले दुईवटा पार्टीलाई एकताबद्ध गरेका छौं । एउटै पार्टी नेपाल कम्युनिस्ट पार्टी बनाएका छौं । केन्द्रीय तहमा एकता गरेका छौं । अब तलसम्म सम्पन्न गर्छौं । त्यसैले यो चुनौती होइन, अभिभारा हो ।

पार्टीभित्रै केही शीर्ष नेतालाई पाखा लगाएकोमा तिक्तता छ भन्ने पनि सुनिन्छ, यसलाई कसरी हेर्नुभएको छ ?
मैले चाँही विमति, असहमति या विरोध भन्ने सुनेको छैन । पार्टी एकता संयोजन समितिले प्रस्ताव गर्‍यो र नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समितिले निर्णय गरेर भएको हो । गहिरो तिक्तता छ भन्ने त मलाई लाग्दैन तर पनि केहि तिक्तता होला त्यो विस्तारै सेलाएर जान्छ या शीर्ष तहले व्यवस्थापनको विषयमा निर्णय लिन्छ ।

महाधिवेशनपछि पार्टीको नेतृत्व र प्रधानमन्त्रीको आलोपालोको कुराले गर्दा ढिला भएको भन्ने सुनिथ्यो नि, के भन्नुहुन्छ ?
स्वभाविकै हो भनिथ्यो, हामीले पनि सुन्यौं । बाहिरका रिपोर्टिङ सुन्दा कतिपय कुराहरू मनोरञ्जन दिने खालका थिए । यथार्थमा कुनै पदका लागि केन्द्रित भएर एकता गरिएको होइन । मुलुक र जनताको भविष्यलाई केन्द्रविन्दुमा राखेर सुदृढ र स्थिर सरकार निर्माण गर्ने, मुलुकलाई समृद्धितर्फ लिएर जाने, जनताका विविध समस्यालाई समाधान गर्ने अनि छोटो भन्दा छिटो देशलाई विकासको मार्गमा लिएर जाने, समृद्धि, समाजवादतर्फ मुलुकलाई लिएर जाने उद्देश्यका साथमा गरिएको एकता हो ।

शीर्ष नेताबीच पावर शेयरिङबारे कुनै सम्झौता भएको छ ?
छैन । त्यसमा केही भएको छैन । पावर शेयरिङ दुईवटा फरक पार्टी वा दुई फरक समूहबीचको सहकार्यका अभ्यासमा प्रकट हुने विषय हुन् । हामी दुईवटा फरक पार्टी छैनौं अब । नेकपा हौं आज हामी । त्यसले गर्दा यहाँ कुनै पावर शेयरिङ भन्ने प्रश्न हुन्न । सबै नेतालाई उहाँहरूको इतिहास र योगदानका आधारमा जिम्मेवारी प्रदान गर्ने नीतिका साथ अगाडि बढ्छौं ।

महाधिवेशन कहिलेसम्म गर्नुहुन्छ ?
सामान्यतया: सोच दुई वर्षमा महाधिवेशन गरिएला भन्ने रहेको छ, र नेतृत्व पनि महाधिवेशनले तय गर्छ । अहिले भन्ने विषय छैन । अहिले केही भन्न सक्ने अवस्था छैन ।

उसोभए मूल नेतृत्व प्रतिस्पर्धामा जान्छ कि जाँदैन ?
आगामी महाधिवेशन एकताको महाधिवेशनका रूपमा सम्पन्न हुन्छ । एकता भन्दा नीति, विचार, सिद्धान्त र नेतृत्वको पक्षमा एकता हो । कमिटीका सदस्यको प्रश्नमा एकता पनि हो । हिजो अलगअलग पृष्ठभूमिका थियौं । हाम्रो इतिहास फरक थियो । तर पनि हामीले सहमतिसाथ एउटै पार्टी बनाउन सकेका छौं । नीति, विचार र संगठनको प्रश्नमा सहमतिका साथ निर्णय गर्न सकेका छौं । अब महाधिवेशन सम्म पुग्दा हामीले सहमतिका साथ नीति, विचार र नेतृत्व बारे निर्णय गर्न नसक्ने भन्ने प्रश्न नै हुँदैन ।

पछिल्लो दशक हेर्ने हो भने दुई पार्टी बीचको सम्बन्ध तिक्ततापूर्ण नै रहृयो नि ?
नेताहरूबीचको सम्बन्ध जतिबेला कटुतापूर्ण र शत्रुतापूर्ण भनेर चर्चा गरिन्थ्यो । त्यस समयमा पनि शत्रुता र कटुतापूर्ण सम्बन्ध होइन । खासगरी युद्धविराम, बाह्र बुँदे सहमति, विस्तृत शान्ति सम्झौता, लोकतान्त्रिक गणतन्त्रको स्थापनाको आन्दोलन, संविधानसभा, संविधानसभाबाट संविधान निर्माणमा विमति मात्रै होइन, हामीबीचमा घनिष्ठ सम्बन्ध पनि रहृयो । त्यसैक्रममा अलग अलग पार्टी अब आवश्यकता छैन र एउटै पार्टी भएर अघि बढ्नुपर्छ भन्ने कुरा भयो । त्यसका लागि वैचारिक, राजनीतिक र संगठनात्मक संयुक्त आधार तयार भयो र यो एकता सम्पन्न भएको हो ।

अन्त्यतिर छौं अब सरकार कसरी चल्छ, पाँच वर्ष ओलीनै प्रधानमन्त्री बन्नुहुन्छ ?
सरकारले जनताप्रति र राष्ट्रप्रति समर्पित भएर सुदृढ सरकारकारूपमा काम गर्छ । जहाँसम्म प्रधानमन्त्रीको कुरा छ त्यसमा म के भन्छु भने, यो सरकार छँदै छ । यो कुनै पनि संयुक्त सरकारभन्दा पनि एकल सरकार हो, बहुमत छँदै छ । यो सरकारलाई नेपाल कम्युनिस्ट पार्टीका सांसदको मात्रै समर्थन भएको होइन, अन्य दलको पनि समर्थन छ । गतिशील रूपले अघि बढ्छ ।

अन्त्यमा, नेकपाको चरित्र विगतको एमाले र माओवादीको भन्दा फरक कसरी हुन्छ ?
पार्टी एकता भर्खरै मात्रै औपचारिक रूपमा टुंगिएको छ । अब दुईवटा पार्टी इतिहासलाई सम्झेर त्यसमा अल्झिएर बस्दैनौं । हामी एउटा पार्टी भएका छौं । हाम्रो इतिहास होला तर अब हामी एउटै पार्टी भएका छौं । हामीले हाम्रो सिद्धान्त, कार्यक्रम, नीति र विचारहरूलाई व्यवस्थित गरेका छौं । राजनीतिक प्रतिवेदनको रूपमा त्यो लिपिबद्ध गरिएको छ । हाम्रो समग्र पार्टीको निर्माण र सञ्चालनका सम्बन्धमा हामीले एउटा वैधानिक व्यवस्था गरेका छौं । अन्तरिम विधान छ । त्यो विचारले हामीलाई मार्गदर्शन गर्छ । तसर्थ विरासतमा हामीले चाहे नेकपा एमालेको झण्डा अन्तर्गत आर्जन गरिएका उपलब्धि, विचार र मान्यता हुन्, चाहे नेकपा माओवादी केन्द्रको नेतृत्वमा आर्जन गरिएका उपलब्धि, विचार र मान्यता, हामी तीनलाई निरन्तरता दिन्छौं ।***

तपाईको प्रतिक्रिया