शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

एकता आफैमा आनन्द लाग्ने शव्द हो । सुन्दै उन्मेषशिल उर्जा भरिदिने यो शव्दसंगको सामिप्यता र त्यसको सुन्दर लयसंगको आत्मियता झन कैयौ गुना न्यानो र प्रिय प्रिय लाग्छ ।  पुष्पलालले कल्पेर ६ सालमा रोपेको बिरुवा यतिका दशक बित्दा त बडेमानको बगैचा बन्नुपर्ने हो । तर त्यो सत्यता सपना जस्तै भएर बिते, बिगतमा अव आगत यस्तो हुन दिनुहुन्न । मुल फूलको कलमीहरुबाट कैयौ प्रजाति बनाएर फरक नाम दिईयो र आ-आफ्ना कोठा, कौशी र चोटा चोटाहरुमा सिंचन गरी हुर्काईयो जस्को संख्या धेरै छ । कसैलाई कुन रंग मन परेन, कसैलाई कुन रंग मन परेन । यस्तो लाग्छ शव्दहरु खेलाएर बिशेषणहरु केलाएर मात्र एकले अर्कोको अस्तित्वमा निरन्तर हिलाम्य पानी मात्र सिंचन गरि नै रहे।

 

सबैतिर छरिएका सबै सबै फूलहरुलाई एउटै बगैचामा सार्न के सम्भव छ ? सम्भव देखे पछिल्लो दशकमा आईपुग्दाका अर्का एक माली पुष्पकमल र ओलीले, र थालियो एकताको सुन्दर शानदार एउटै बगैचा बनाउने कार्य योजना । अहोरात्र खटेर बनाउन लागिएको बिशाल बगैचाको मौलोमा त तपाईहरु सूर्यमुखी फूल र कमल नै हुनुहोस । देशभरका कुनाकोप्चेरामा जीवनको हुर्मत गुमाएर मौसमसंग जुधेर फुलेका प्याउलीहरु, पत्थरको कापमा हुर्किएका काल्ने फूल र गुईय फूलहरुलाई नभल्नु होला । बगैचा राम्रो बनाउन कौशीमा फुलाइएका सुखी गमले फूलहरुसंगै क्याक्टस सार्दा भने मनग्य ध्यान दिनुहोला । भोलि यस्तो दिन नआओस क्याक्टस मात्र झांगिएर सिउंडीघारी बनेर अर्को पुस्ताले त्यसलाई फाड़न नपरोस । फेरि लाखा, पाखा र काखा पारिएर यस्तो नहोस, पुष्पलालको श्रेष्ठ सोचको बगैचामा बेमौसमी फूलहरुको राज भएर बनमारा भरिएर मेरै पुस्ताले आगो झोसेर डढेलो बनाएर खाग पार्न नपरोस ।

कामना र शुभकामना मात्र हैन, यो महान अभियानको हिस्सेदार हुनुछ मलाई, जसरी एक कासनमा घरवार छाडेर दुनिया बदलिन हिड्यौ, पख्नुस भन्नु’भो, हामी रोकियौ, अव ब्यबहारले भाग्नुस भन्नुहुन्न पुरा बिश्वास छ । मैले पनि यो बगैचाको समथर उर्वर माटोमा एउटा मखमली फूल रोप्नुछ । मेरी बुढीआमा मेरा बुढो’बा हातभरि नौरंगले सजिएको फूलमाला लिएर स्वागतमा आतुर हुनुहुन्छ । सहिदहरु ठिंग उभिएर एकटक हेरिरहुनु भएको छ । बन्दै गरेको एउटा बिशाल सुन्दर लोभलाग्दो हाम्रै बगैचा जहां नेपालभरका ३ करोड मिहनती मौरीहरु पारिलो माहौलमा झुम्न र पुतलीहरु रुङन रमाईरहन पाईरहुन । हिमाल हेर्दै टिलपिल आंखामा विवशताका आंशुलाई परेलीको आलि लाएर लाहुर भासिएका सयौं घार मौरीहरुका बथानहरु बाकसबाट हैन आकाशबाट गौचरन झरेर ढमढम पाईला र शिर उठाएर हिमाल हेर्दै प्यारो घर फर्कने दिन आओस । इतिश्री !

(लेखक थापा जापानमै रहेर पनि नेपाली वाम राजनीति, साहित्य र पत्रकारितामा निरनतर सक्रिय छन)

तपाईको प्रतिक्रिया