आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

डायस्पोरामा संस्थागतरुपमा नेपाली भाषा र साहित्यिक क्षेत्रमा हुने क्रियाशीलतालाई हेर्ने हो भने जापानको नाम अग्रपंत्तिमा आउने गर्दछ । विश्वभरि छरिएर रहेका नेपालीहरुलाई नेपाली भाषा र साहित्यप्रतिको लगाव जोगाईराख्न र आफु रहेबसेकै मुलुकबाट यसको श्रीवृद्धिका लागि संगठितरुपमा क्रियाशील रहने उद्देश्यले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सञ्जाल बिस्तार अभियान सन् १९९१ मा अमेरिकाको वासिङ्टन डिसीबाट सुरुभएको हो । यसका संस्थापक अध्यक्ष होमनाथ सुबेदीको नेतृत्वमा सुरु भएको यस अभियानमा जापानका नेपालीहरु भने संस्थागतरुपमा सन् २००३ बाट जोडिन पुगेका हुन् । उसो त त्यसअघि नै केन्द्रिय समितिमा जापानबाट खेम भट्टचन (हाल अमेरिका) उपाध्यक्ष भईसकेका थिए । प्रवासमा नेपाली एकता र भाइचारालाई साँचो अर्थमा मजबुत बनाउन भाषा, साहित्य, कला सँस्कृति एवं गीतसंगीतको महत्वपूर्ण भूमिका रहने गर्दछ ।

ब्यस्तताको बीचबाट उछार खेल्दै बचेखुचेका समयलाई नेपाली साहित्यको साधनामा खर्चिने नेपालीमनहरुको जापानमा बिशाल पंत्ति छ । यो खुशीको बिषय हो कि, जापानमा नयाँ पुस्ताको आशालाग्दो जमात नेपाली साहित्यको गोडमेलमा अनवरतरुपमा जुटिरहेको पाईन्छ । उनीहरु कहिले राजधानी टोकियोको कोलाहलबाट टाढा टाढासम्मको साहित्यिक यात्रा तय गर्दै साहित्यिक मझेरीमा खाल जमाउन पुग्छन् भने कहिले लटरम्म झुलेका मनमोहक साकुराका बोटमुनि झुम्मिएर आ-आफ्ना अनुभूति साहित्यिक सिर्जना मार्फत अभिब्यक्त गर्ने गर्दछन् । पछिल्ला केही वर्षयताका साहित्यिक गतिविधि र सक्रियतालाई नियाल्दा साहित्यमा रुची राख्ने जो कोहीका लागि एउटा राम्रो प्लेटफर्मको रुपमा विकसित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान एउटा नमुना च्याप्टर बन्न सफल देखिन्छ । पूर्व अध्यक्ष बेलुकाजी थापाको पालाबाट सुरु भएको हरेक तीनमहिनामा हुने साहित्यिक शृङ्खला जस्ता लोकप्रिय कार्यक्रमले स्रष्टा तथा सर्जकहरुलाई एकैथलोमा ल्याईदिएको मात्र छैन साहित्यको फाँटमा उदाएका उम्दा नयाँ स्रष्टाहरु र पुराना अग्रजहरुबीचको आत्मीयता अझ कसिलो  बनाउने काम गरिरहेको छ । सन् २०१५ को सेप्टेम्बरमा अन्तर्राष्ट्रिय स्तरको साहित्यिक कार्यक्रम पहिलोपटक जापानमा सफलतापूर्वक सम्पन्न गरिनुले अनेसास जापानको चुलिएको उचाई र चर्चासंगै अन्य मुलुकहरुमा भएका अन्तर्राष्ट्रिय स्तरका साहित्यिक कार्यक्रमहरुमा हुने गरेका जापानको सक्रिय सहभागिता, प्रस्तुती र भूमिकाले जापानको शिर थप उचो बनाएको प्रतीत हुन्छ । यो संगै अनेसास जापानले गएको एक वर्षमा तीन साहित्यिक पुस्तक प्रकाशन गरेर नयाँ कीर्तिमान नै कायम गरेको छ । जसमा जापानमा रहेका सयौं कवि तथा कवयत्रीहरुको कविता सङ्ग्रह ’जापानमा नेपाली कवि र कविता’ पहिलो रहेको छ भने, टोकियोमा सम्पन्न चौथो अन्तर्राष्ट्रिय साहित्य सम्मेलनका अवसरमा विश्वभरबाट आएका स्रष्टाहरुको साहित्यिक सिर्जना, सम्मेलनमा प्रस्तुत गरिएका कार्यपत्र र सम्मेलन गतिविधि समेटिएको एक ऐतिहासिक दस्तावेज ’नेपाली डायस्पोरा’ प्रकाशन गरिनुले साहित्यिक गतिविधीलाई दस्तावेजीकरण गर्ने असल परम्पराको थालनी भएको छ । यो आफैमा सह्रानीय कार्य हो । यसैगरी सोही साहित्यिक सम्मेलनका अवसरमा देशविदेशबाट आएका साहित्यकारहरुबीच भएको हाइकु गोष्ठिमा प्रस्तुत हाइकुकारहरुको हाइकु, नेपाली साहित्यमा हाइकु विधाको प्रवेश, चर्चा र बढ्दो लोकप्रियताका बिषयमा भएका छलफल र बहसलाई अर्को दस्तावेजकारुपमा ’तातेसिना हाइकु सङ्कलन’ प्रकाशित हुनुले नेपाली साहित्यको भण्डारणमा अनेसास जापानले अर्को ईटा थप्ने काम गरेको छ । प्रकृतिको सुन्दर बान्कीमा सजिएको जापानको नागानो प्रिफेक्चरमा पर्ने तातेसिनामा भेला भएका हाइकुकारहरुको अविस्मरणीय क्षणलाई उक्त पुस्तकले ताजगी गरेको छ । उसो त यसै वर्ष निवर्तमान अध्यक्ष विष्णुप्रसाद घिमिरेको कविता संग्रह ‘एक्लो विजेता’ र अघिल्लो वर्ष हालका महासचिव अरुण पौडेलको मुक्तक संग्रह ‘बाडुल्की र यादहरु’ पनि अनेसास जापानले प्रकाशन गरिसकेको छ ।

माथिका तीन पुस्तक अनेसासका केन्द्रीय उपाध्यक्ष समेत रहेका जापान च्याप्टरका पूर्व अध्यक्ष प्रकाश पौडेल ’माइला’ को सम्पादनमा प्रकाशित छन् । प्रकाशको प्रकाशनमा देखिएको बढ्दो सक्रियता र प्रकाशनको जिम्मा लिने अनेसास जापानको पहलकदमीले एकै वर्षमा तीन-चार पुस्तकको प्रकाशन संभव भएको देखिन्छ । यसबाट भन्न सकिन्छ कि अनेसास जापानका लागि यो वर्ष २०७४ साहित्यिक उर्वर वर्ष बन्न पुगेको छ ।

प्रकाशनको जिम्मेवारी आफैमा जटिल र संवेदनशील कार्य हो । जापानमा कुनै समय थियो, हरेक संस्थाका वार्षिक वा अर्धवार्षिक मुखपत्र प्रकाशित हुनेगर्दथे । आफ्ना संस्थागत गतिविधि समेटेर प्रकाशित हुने ति प्रकाशनहरु नेपाली समाजमा बिकाउका साधन बन्दथे, जनजनका झोलामा हुन्थे । जमानामा आएको बद्लावसंगै नेपालीहरुमा आएको रुचीमा परिवर्तन र पढ्ने बानीमा आएको ह्रासले गर्दा पुस्तक पढ्ने, पत्रपत्रिका पढ्नेहरुको संख्या पातलिदों छ । पुस्तक पढ्ने बानी बसाल्न प्रेरित गर्नुका साथै प्रकाशन कार्यमा घचघच्याउन गरेको प्रयत्नकारुपमा कम्तीमा पनि अनेसास जस्तो साहित्यिक संस्थाले यो विरासत धान्न सक्नु आजको दिनमा संतोष मान्न सकिने बिषय हो । आजको नेपाली समाजलाई आकर्षित गर्न मनोरञ्जनको क्षेत्रले जति सामर्थ्य राख्दछ त्यति साहित्य, खेलकुद, स्वास्थ्य जस्ता आधारभुत र महत्वपूर्ण क्षेत्रले आकर्षित गर्न सकेको छैन । समाजमा नियमित हुने नेपाली कार्यक्रमहरुमा देखिने दृश्य यसको ज्वलन्त साक्षी मान्न सकिन्छ ।

जीवनको अर्को नाम भोगाई हो । प्रवासका बिराना बस्तीमा भोगिने हरेक दिनका सुखानुभूति र दुखानुभूति जे होस् अरु कसैका लागि रुचीका बिषय बन्नुका साथै पाठ पनि बन्न सक्दछ । हरेक ब्यक्तिको अनुभव एउटा सिंगो पुस्तक हो । पुस्तकमा पोखिने अभिब्यक्तिहरु स्वयमको मानसपटलमा क्लिक भएका विषयवस्तु बग्दै कलमको टुप्पोबाट अक्षर, शब्द र वाक्य हुँदै पुस्तकाकारमा महासागर बन्ने हुन् । जस्ले एउटा कृतिको रुप धारण गर्दछ र जीवनमा एउटा भिन्नप्रकारको उपलब्धि हासिल भएको खुशी र सन्तुष्टि प्रदान गर्दछ भने आफ्ना अनुभूतिहरु मरणोप्रान्तसम्म संग्रहित बन्न पुग्दछन् । धरातलिय यथार्थतामा रहेर घोत्लिने हो भने जापानमा नलेखिएका बिषयहरु धेरै छन् जुन लेखिनुपर्थ्यो, लेखिएका छैनन् जति देखिएका र भोगिएका छन् हामीबाट । जापान सिक्नेहरुका लागि आफैमा एउटा महाविद्यालय हो, यहाँ सिकेका ज्ञान, सीप र अनुभव घरदेशदेखि परदेशसम्मका सबैलाई सहजै पुर्‍याउन सकिने कोसेलीरुपी सशक्त माध्यम भनेको केवल पुस्तक मात्र बन्न सक्दछ । जापान जस्तो मुलुकका सकारात्मक पक्षहरुलाई उजागर गर्न यहाँका विद्वत नेपाली समाजले जति योगदान गर्न सक्ने क्षमता राख्थ्यो, अपेक्षित सकेको छैन । यस बिषयमा पनि अनेसास जापानले एकै वर्षमा तीन-चार पुस्तकको प्रकाशन गरिनुलाई एउटा सकारात्मक पहलकदमीको दृष्टान्तको रुपमा लिन सकिन्छ ।

दायाँ बायाँ बरालिन छोडेर साहित्यका फाँटमा लामो समयदेखि मियो बनेर छुट्टै पहिचान बनाएका प्रकाश माइलाहरु अनेसासले अरु धेरै जन्माउन आवश्यक छ । नदिले झैं धार परिवर्तन गर्दै रमाउने आजको नेपाली समाजमा निरन्तर एउटै धारमा बगिरहन सक्ने संयमता र धैर्यता धेरै कममा पाईन्छ, जो तुलनात्मकरुपमा साहित्य फाँटमा धेरै भेटिन्छन् ।

हाम्रा साहित्यिक कार्यक्रममा स्तरिकरण, सिर्जना र स्रष्टाहरुको दस्तावेजीकरण, बिधागत ज्ञान, भाषा र साहित्य लेखनीमा शुद्धिकरण जस्ता बिषयहरुले आज जबर्जस्ती बहसको माग गरेको अनुभूत हुन्छ । सामाजिक सञ्जालको बिश्वब्यापीकरण संगै हामीले प्रयोग गर्ने लिपीले हाम्रो भाषा, साहित्यलाई न्याय गर्न सकिरहेको छैनौ । न त पुरै नेपाली, न त पुरै अंग्रेजी भाषा प्रयोग गर्ने बानीले अधिकाँश नेपालीहरुलाई गाँजेको पाईन्छ । नेपाली भाषाको सहि प्रयोग र यसको प्रबर्द्धनका लागि सकेको जति आवाज उठाउन सके मात्र क्रमिक सुधारको थालनी नहोला भन्न सकिन्न । यी र यस्ता आवाज उठाउने हकदारको हैसियत राख्ने सामर्थ्य पनि अनेसासले लिन सक्नुपर्दछ । तथापि नेपाली साहित्य फाँटका आगामी वर्षहरु अरु थप हराभरा हुने लक्षणहरु देखिन थालिसकेका छन् । किनभने केन्द्रविन्दुमा रहेर प्रकाश छर्ने माइला छन् वरिपरि डा. कुमार बस्नेतदेखि बेलुकाजी थापा हुँदै दिनेश ज्ञवाली, आलोक चालिसे, विष्णु घिमिरे जस्ता पूर्वजहरु ब्याकअप बनेर घेरिएका छन् भने ड्राइभरसिटमा अहिलेका उम्दा सर्जक दीप पाठक अध्यक्षकारुपमा आसिन छन् र साथमा सिंगो सशक्त कमिटी छ ।*** फोटो : समुद्रपारिको पुराना फाइलबाट
(लेखक मल्ल अनेसास जापानका सल्लाहकार  हुन)

तपाईको प्रतिक्रिया