सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

टोकियो – जापानमा पहिलोचोटी भएको महिला भलिवल प्रतियोगितामा म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान (रातो) टिम विजयी भएको छ । फाईनलमा पुगेको पुन क्लव टिमलाई पराजित गर्दै मोना जापानको (रातो) टिम पहिलो भएको हो ।

 बुधबार सिन्जुकुमा भएको प्रतियोगितामा पुन क्लवलाई एकको विरुद्ध तीन सेट हासिल गरी मोना रातो टिमले विजय आफ्नो पोल्टामा पारेको थियो । प्रथम हुने मोना (रातो) टिमलाई शील्ड र प्रमाणपत्र सहित नगद १ लाख ५० हजार येन र दोस्रो हुने पुन क्लव टिमलाई शील्ड र प्रमाणपत्र सहित नगद ७० हजार येन प्रदान गरिएको थियो । 

१०८ औं अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा एनआरएन जापानको आयोजना र नेपाल भलिवल संघ जापानको सहकार्यमा भएको महिला भलिवल प्रतियोगितामा मनाङ क्लव जापान, मोना जापान (रातो), मोना जापान (निलो), शिवज्योती स्पोर्टस् क्लव जापान, एभरेष्ट इन्टरनेशनल स्कुल जापान, बागलुङ समाज जापान, गल्कोट स्पोर्टस् क्लव जापान र पुन क्लव जापान गरी ८ टिमले भाग लिएका थिए । जापानमा रहेका महिलाहरुको खेलप्रतिभालाई उजागर गर्न एनआरएन जापानले भलिवल प्रतियोगिताका आयोजना गरिएको र यसलाई निरन्तरता दिईने महासचिव बुद्धिराज घिमिरेले बताए । प्रारम्भमा संस्थाकी महिला सदस्य एवं कार्यक्रम संयोजक सिर्जना पाण्डेले प्रतियोगितामा सहभागी खेलाडि एवं सहयोगी सबैलाई स्वागत गर्दै महिलाहरुमा रहेका प्रतिभालाई प्रोत्साहित गर्न कार्यक्रम फलदायी हुने विचार ब्यक्त गरिन् ।

विजयी टिम मोना (रातो) को सम्मानमा सोही साँझ मोना जापानले रात्रीभोजको आयोजना गरी खेलाडिहरुलाई बधाई ज्ञापन गरेको थियो । बिजी ग्रुपका कार्यकारी प्रमुख तथा मोना जापानका वरिष्ठ उपाध्यक्ष दिपक केसी र मोना जापानका सदस्य दिल केसीले खेलाडिहरुको पोशाक प्रायोजन गरेका थिए ।*** 

तपाईको प्रतिक्रिया