मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

टोकियो- जापानको एक स्की रिजोर्टमा हिमपहिरो जाँदा एकजनाको मृत्यु भएको छ। उक्त स्की रिजोर्टको नजिकै भएको ज्वालामुखी विस्फोटनले उक्त हिमपहिरो गएको हुनसक्ने अनुमान गरिएको छ। गुन्मा प्रान्तको केन्द्रमा रहेको कुसाट्स नजिकै भएको घटनामा कम्तीमा ११ जना घाइते भएको अधिकारीहरूले बताएका छन्।  जापानका सञ्चारमाध्यमहरूका अनुसार थुप्रै मानिसहरूलाई त्यहाँबाट उद्धार गरिएको छ।

चेतावनी

अधिकारीहरूले कुसाट्स-सिरेन ज्वालामुखी त्यहीबेला विस्फोट भएको थियो। तर त्यसैका कारण हिमपहिरो गएको हो कि होइन भन्ने चाहिँ स्पष्ट भएको छैन। रोयटर्स समाचार संस्थाले जापानको मौसमसम्बन्धी संस्थालाई उद्धृत गर्दै लेखेको छ, “थुप्रै मापनहरूका आधारमा हामी भन्न सक्छौं कि विस्फोट भएको हो तर हामी त्यसबारे अझै पुष्टि गर्ने कोशिश गर्दैछौं।” मौसमसम्बन्धी उक्त संस्थाले हिमाल नचढ्न पनि मानिसहरूलाई चेतावनी दिएको छ।

उद्धार

जापानका सञ्चारमाध्यमहरूले चट्टानहरू हावामा उडिरहेका भिडियो सामग्रीहरू प्रशारण गरेका छन्। त्यहाँको सरकारी सञ्चारमाध्यम एनएचकेका अनुसार ज्वालामुखी विस्फोटबाट निस्किएका केही अवशेषहरू हिमालबाट एक किलोमिटर भन्दा तलसम्म झरेका छन्।

हिमपहिरोबाट उद्धार गरिएकामध्ये ६ जना सेना पनि छन् जो उक्त क्षेत्रमा अभ्यास गरिरहेका थिए। भूकम्पीय दृष्टिबाट विश्वका सक्रिय देशमध्ये जापान पनि एक हो जहाँ सन् २०१४ को सेप्टेम्बरमा माउन्ट अनटेकमा अचानक विस्फोट हुँदा ६३ जना मारिएका थिए।बिबिसी

तपाईको प्रतिक्रिया