आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौँ – व्यवस्थापिका संसद् सचिवालयले सङ्घीय संसद्को बैठक सञ्चालन हलको व्यवस्थापनलाई तीव्रता दिएको छ । सचिवालयले प्रतिनिधिसभाको बैठक सञ्चालनको हल व्यवस्थापन अन्तिम चरणमा पुर्याएको छ । पुस मसान्तसम्म प्रतिनिधिसभा बैठक सञ्चालन हल तयार हुनेछ । तर, राष्ट्रियसभा हल व्यवस्थापनका लागि भने केही खरिद प्रक्रिया जारी रहेका कारण केही समय लाग्ने सचिवालयले जनाएको छ ।

संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले प्रतिनिधिसभा बैठक कक्ष व्यवस्थापनको काम अन्तिम चरणमा रहेको बताउनुभयो । राष्ट्रियसभाको हल भने पूरै नयाँ व्यवस्थापन गर्नुपर्ने भएकाले आवश्यक सामान खरिद प्रक्रिया चलिरहेका कारण केही ढिला हुने उहाँले बताउनुभयो ।

“बैठक हल व्यवस्थापन करिब अन्तिम चरणमा छ, अहिलेकै स्पिरिटमा काम हुँदा प्रतिनिधिसभाको बैठक कक्ष पुस मसान्तसम्म तयार हुन्छ । राष्ट्रियसभाको सवालमा भने सामान खरिद प्रक्रिया जारी रहेकाले केही समय लाग्नेछ”, उहाँले भन्नुभयो ।

रुपान्तरित संसद्को कार्यकाल सकिएसँगै सचिवालयले अहिलेको संसद् भवनमै सङ्घीय संसद्का दुवै सदनको बैठक राख्ने गरी हल व्यवस्थापन तयारी गरेको थियो । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र व्यवस्थापन समितिसँगको सहमतिअनुसार सचिवालयले संसद् रिक्त रहेको अवस्थामा पनि भवनको भाडा सम्झौता कायम राखेको थियो ।

सचिवालयले यसअघिको संविधानसभा बैठक कक्षमा प्रतिनिधिसभा बैठक राख्ने गरी अहिले काम गरिरहेको छ । यसअघिका ६०१ सांसद अट्ने उक्त हललाई अहिले २७५ सांसद र त्यसपछि सचिवालयका कर्मचारी र केही भागमा सञ्चारकर्मीलाई स्थान दिने गरी बैठक कक्ष व्यवस्थापन गरिरहेको छ । सिट पुनः व्यवस्थापन लगायतका काम मिलाउने काम अहिले भइरहेको छ ।

यस्तै हालको संसद् भवनको नुप्त्से हलमा राष्ट्रियसभा बैठक राख्ने गरी हल बनाउने काम भइरहेको छ । पूरै नयाँ संरचना बनाउनुपर्ने भएकाले सामान खरिदका लागि सूचना प्रकाशित भइसकेको छ । खरिद प्रक्रिया पूरा भएपछि बैठक कक्ष व्यवस्थापन सम्पन्न हुनेछ ।

‘सचिवालय बानेश्वरमै’
संसद् सचिवालयले राष्ट्रियसभाका कर्मचारीबाहेक अन्य सचिवालय संसद् भवन परिसर नयाँ बानेश्वरमै राख्ने गरी गृहकार्य गरिरहेको छ । यसअघिको सेना समायोजन विशेष समितिको सचिवालय र नेपाल कानुन आयोग रहेको स्थानमा राष्ट्रियसभाको सचिवालयको केही भाग रहनेछ । पदाधिकारीको कार्यालय, कार्यव्यवस्था शाखा तथा बैठक सञ्चालनका लागि अत्यावश्यक अन्य शाखा बानेश्वरमै रहनेछन् ।

कानुन आयोग र लगानी बोर्डको समेत कार्यालय रहेको सम्मेलन केन्द्रको स्वामित्वमा रहेको उक्त स्थान पनि भाडामा सचिवालयले लिने समझदारी भइसकेको छ । सोही अनुुसार राष्ट्रियसभाको आवश्यक सचिवालय बानेश्वरमै रहने तयारी थालिएको हो ।

पहिलो संविधानसभामा सिंहदरबारस्थित संसद्को ग्यालरी हल सानो भएपछि पहिलो सम्मेलन केन्द्र भाडामा लिई संविधानसभा बैठक सञ्चालन गरिएको थियो । ठूलो आकारमा संविधानसभा बनेपछि उक्त ग्यालरी बैठकमा लवी र आवश्यक आसन कक्ष सानो भएको थियो ।

अहिलेको सानो प्रतिनिधिसभा वा राष्ट्रियसभा बैठक सिंहदरबारस्थित ग्यालरी बैठकमै सञ्चालन गर्न सकिने भए पनि अहिले भौतिक रूपमा सम्भव छैन । भूकम्पका कारण उक्त भवन क्षतिग्रस्त छ ।

सचिवालयले अहिले वार्षिक १० करोड रुपियाँ भाडा सम्मेलन केन्द्र व्यवस्थापन समितिलाई तिर्दै आएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक सञ्चालन कक्षको तयारी जारी रहे पनि प्रदेशसभा बैठक सञ्चालनका लागि भने भवन खोजी कार्य जारी छ ।

तपाईको प्रतिक्रिया