मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौंँ – नेपाली काँग्रेसका संस्थापक एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको ९४ औँ जन्मजयन्ती शनिबार मनाइरहँदा उहाँसँग नजिक रहेर काम गर्नेहरू उहाँलाई अतुलनीय र उच्चकोटीको नेताका रूपमा स्मरण गर्नुहुन्छ ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निष्ठाको राजनीति गर्ने नेताका रूपमा उहाँलाई स्मरण गर्नुभयो । पौडेलले भन्नुभयो, “भट्टराई सत्याग्राही हुनुहुन्थ्यो, जीवनभर प्रजातान्त्रिक मूल्य मान्यताका पक्षमा उभिनुभयो, स्वच्छ राजनीतिज्ञका रूपमा छवि विशिष्ट रह्यो । ”

“स्वर्गीय नेता भट्टराईले पार्टीभित्र र सरकारमा रहँदा निष्पक्ष भएर काम गर्नुभयो, कसैलाई पनि रोलक्रम मिचेर काखापाखा गर्ने काम गर्नुभएन,” उहाँले भन्नुभयो, “राज्यको ढुकुटीलाई पवित्र सम्पत्ति मानेर राष्ट्र विकास र राष्ट्रिय हितभन्दा अन्यत्र खर्चनु हुँदैन भन्ने भावना रहेको थियो । ”

स्वर्गीय भट्टराईलाई पार्टीले उचित सम्मान गर्न नसकेको वरिष्ठ नेताले गुनासो गर्नुभयो । “पार्टीले विशिष्ट योगदानलाई भुल्नु, उचित कदर गर्न नसक्नु गम्भीर त्रुटि हो, आजको दिनमा स्वर्गीय भट्टराईको विचार र आदर्शलाई हामीले कार्यकर्तालाई बुझाउन नसक्दा पार्टीभित्र विचलन आइरहेको छ,” उहाँले भन्नुभयो ।

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले स्वर्गीय भट्टराईलाई त्याग, तपस्या र लोकतन्त्रका लागि सङ्घर्षशील नेताका रूपमा स्मरण गर्नुभयो । २०४६ को जनआन्दोलनपछि भट्टराई अन्तरिम सरकारमा प्रधानमन्त्री हुनुहुन्थ्यो भने नेता नेपाल संविधान सुझाव आयोगका सदस्य हुनुहुन्थ्यो ।Krishna_bhattarai-596577f48fa847.22728629

“निष्ठाको राजनीतिमा अविचलित रहनुभयो, सन्त नेताका रूपमा गरिमा कायम राख्न सक्नुभयो, भ्रष्टाचारको दाग कहिल्यै लाग्न दिनुभएन,” उहाँले भन्नुभयो, “नेपालको विकासको सपना देख्न सक्ने नेता हुनुहुन्थ्यो, त्यतिबेला देखेको मेलम्चीको पानी काठमाडौँ ल्याउने सपना अहिले पूरा होला जस्तो देखिएको छ, नेपालीको आर्थिक विकासलाई सिङ्गापुरको स्तरमा पु¥याउने सपना देख्नुभएको थियो । ”

नेता नेपालले स्वर्गीय भट्टराईलाई नेपाली काँग्रेसले धेरै पीडा दिएको भन्दै त्यो स्तरको पीडा कुनै राजनीतिज्ञले भोग्न नपरोस् भन्ने कामना पनि गर्नुभयो । उहाँले नेपालका हरेक राजनीतिज्ञले स्वर्गीय भट्टराईको जीवनका राम्रा पक्षबाट प्रेरणा लिन सक्नुपर्ने धारणा पनि व्यक्त गर्नुभयो ।

स्वर्गीय भट्टराईको नेतृत्वको अन्तरिम सरकारका मन्त्री तथा संविधानविद् नीलाम्बर आचार्यले अत्यन्तै उच्चकोटीको र लचिलो व्यवहार भएको सहज नेताका रूपमा भट्टराईलाई स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो, “स्वर्गीय भट्टराई राष्ट्र, राष्ट्रियता र जनताप्रति दृढसङ्कल्पित नेता हुनुहुन्थ्यो, त्यसैले त सङ्गीन परिस्थितिमा पनि छोटो समयमा नै मुलुकमा संविधान जारी गर्नुभयो, निर्वाचन गराउन सक्नुभयो । ”

भट्टराई कहिल्यै निजी स्वार्थबाट प्रेरित नहुनुभएको र आफू मातहतमा रहेकालाई स्वतन्त्रतापूर्वक काम गर्न दिने व्यक्तित्व रहेको आचार्यले बताउनुभयो । काम गर्दा कहिल्यै हस्तक्षेप पनि नगरेको उहाँले
स्मरण गर्नुभयो ।

“नेपालको राजनीति हरेक परिवर्तनपछि शून्यबाट सुरु भएको जस्तो भाव हुन्छ, नेतृत्वमा जाने र जिम्मेवारी लिनेहरूले आफूभन्दा अगाडिका व्यक्तिले के, कसरी र कस्तो काम गरेका रहेछन् भन्ने बुझ्ने प्रयास गरेमा राम्रो हुन्थ्यो,” उहाँले भन्नुभयो, “अहिलेको नेताले स्वर्गीय भट्टराईका जीवन शैली र काम गर्ने शैली पछ्याउन सके धेरै सकारात्मक परिवर्तन हुनसक्थ्यो । ”

भट्टराई प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकारको भूमिका निर्वाह गर्नुभएका वरिष्ठ पत्रकार किशोर नेपाल स्वर्गीय भट्टराई समकालीन नेपालको जाज्वल्यमान नेताका रूपमा रहनुभएको बताउनुभयो । स्वर्गीय नेताको बौद्धिक क्षमता, वाक्पटुता, सबै कार्यकर्तालाई होल्डमा राख्ने र मिलाएर अगाडि बढ्न सक्ने क्षमता भएको नेताका रूपमा उहाँले स्मरण गर्नुभयो ।

नैतिक मूल्य मान्यताका आधारमा स्वर्गीय भट्टराई अतुलनीय नेताका रूपमा रहेको पत्रकार नेपालले स्मरण गर्नुभयो । स्वर्गीय भट्टराईको नाउँमा आफैलाई प्रवद्र्धन गर्न खोज्नेहरूको भीड बढ्नु दुखद रहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया