मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं – डा. राकेशकुमार यादव
सरुवा रोग विशेषज्ञ
जाडोयाममा मानिसलाई रुघाखोकीले अत्यधिक सताउने गर्छ । तर, सामान्यजस्तो देखिने यस्ता रुघाखोकी गम्भीर प्रकृतिका समेत हुन सक्छन् । यसलाई इन्फ्लुएन्जा भाइरस पनि भनिन्छ । त्यसैले, रुघाखोकीलाई सामान्य रूपमा नलिई समयमै उपचार गरेर निर्मूल पार्न जरुरी हुन्छ ।

यसरी फैलन्छ
इन्फ्लुएन्जा भाइरस संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा वा बोल्दा मुखबाट निस्किने पानीका कणका कारण हावाका माध्यमबाट वातावरणमा फैलन्छ । संक्रमित व्यक्तिको एक मिटरको दूरीमा रहेको व्यक्तिलाई समेत यस्तो भाइरस सर्न सक्छ । श्वासप्रश्वासका माध्यमबाट व्यक्तिमा इन्फ्लुएन्जा सर्ने गर्छ । त्यसैले इन्फ्लुएन्जा निकै छिटो र छोटो समयमा एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलन सक्छ ।

लक्षण
यस्तो इन्फ्लुएन्जा लाग्ने व्यक्तिमा ज्वरो आउने, घाँटी दुख्ने, चिलाउने, शरीर दुख्ने, श्वास फेर्न गाह्रो हुने समस्या हुन्छ । त्यस्तै, रुघाखोकी र ज्वरोसँगै अन्य जटिल समस्या पनि देखा पर्न सक्छ । घाँटी खसखस हुनु, नाकबाट पानी बग्नु, नाक बन्द हुनु पनि यसका लक्षण हुन् ।

सावधानी
यस्ता भाइरसको संक्रमणबाट बच्नका लागि भिडभाडमा त्यति धेरै बस्नु हुँदैन । यदि भिडमा जानुपर्ने भए पनि सावधानी अपनाउनुपर्छ । त्यसका लागि मास्क प्रयोग गर्न पनि सकिन्छ ।

संक्रमण भएका बिरामीसँग लसपस गर्ने, बिरामीले प्रयोग गरेका सामग्री प्रयोग गर्नु हुँदैन । यदि बिरामीसँग बस्नैपर्ने बाध्यता आइपरे पनि करिब एक मिटर टाढा रहनुपर्छ ।

बाहिर निस्केर घर पुगेपछि अनिवार्य रूपमा साबुनपानीले हातगोडा धुनुपर्छ । यसो गर्दा संक्रमण सर्ने डर कम हुन्छ ।

जाडोमा झोलिलो खाद्यपदार्थ बढी सेवन गर्नुपर्छ ।

जाडो मौसम सुरु हुनुपूर्व नै इन्फ्लुएन्जाविरुद्धको खोप लगाएमा यस्तो संक्रमणको सम्भावना
कम हुन्छ ।

जोखिम समूह
जाडो मौसममा बालबालिका, वृद्धवृद्धा, गर्भवती र दीर्घरोगी महिला इन्फ्लुएन्जाको उच्च जोखिममा हुन्छन् । फोक्सोको समस्या, अंग प्रत्यारोपण गरेका, क्यान्सरका उपचार गराइरहेका व्यक्तिमा रोगप्रतिरोधी क्षमता कमजोर हुन्छ र यस्ता व्यक्ति पनि उच्च जोखिममा हुन्छन् । यस्ता जोखिम समूहका व्यक्तिलाई मौसमी रुघाखोकीले अत्यधिक सताउने गर्छ र बिस्तारै स्वास्थ्यसम्बन्धी गम्भीर रोगसमेत लाग्न सक्छ । त्यसैले यस्ता व्यक्तिले अधिक सावधानी अपनाउनुपर्छ ।

तपाईको प्रतिक्रिया