बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं  – क्याटालोनियामा भएको मध्यावधिक चुनावमा स्पेनबाट स्वतन्त्र हुने पक्षमा रहेका पार्टीले बहुमत सिट जितेका छन् । स्पेनको स्वायत्त राज्य क्याटालोनियाको संसदका लागि भएको मध्यावधिक चुनावमा स्पेनबाट अलग हुने पक्षमा रहेका पार्टीहरुको गठबन्धनले एक सय ३५ सिटको संसदमा ७० सिट जितेका छन् ।

द प्रो–इनडिपेनडेन्स पार्टिज टुग्यादर फर क्याटालोनिया (जेएक्सक्याट), रिपब्लिकन लेफ्ट अफ क्याटालोनिया (इआरसी) र पपुर युनिटी (सियुपी) ले गरी ७० सिटी जितेका हुन्, यो संसदमा स्पष्ट बहुमत हो । एकै पार्टीमा धेरै सिटी जित्ने दल भने स्वायत्त राज्यको रुपमा क्याटालोनिया स्पेनमै रहनु पर्ने पक्षमा रहेको सिटिजन्स पार्टी रहेको छ । सिटिजन्स पार्टीले ३७ सिट जितेको छ ।

यसले गर्दा क्याटालोनियामा सरकार बनाउनका लागि पहिलो प्राथमिकता सिटिजन्स पार्टीले नै पाउने छ, यदी उसले अरु पार्टीसँग गठबन्धन बनाउन सक्यो भने । तर क्याटालोनियाको स्वतन्त्रताको पक्षमा रहेका पार्टीले गठबन्धन बनाएकोले सरकार उनीहरुले नै बनाउने सम्भावना छ ।

गएको अक्टोबरमा भएको जनमतसंग्रहमा क्याटालोनियाको स्वतन्त्रताको पक्षमा मतदान भएको थियो । यो जनमतसंग्रहलाई स्पेनको केन्द्र सरकार तथा संवैधानिक अदालतले अवैध घोषणा गरेको थियो ।

त्यसपछि चुलिएको विवादपछि मड्रिड केन्द्र सरकारले क्याटालोनियाको सरकार भंग गर्दै शासन आफ्नो हातमा लिएर मध्यावधिक चुनावको घोषणा गरेको थियो । चुनावमा स्वतन्त्रताको पक्षमा रहेका पार्टीको गठबन्धनले बहुमत सिटी जितेपछि स्पेनको केन्द्र सरकारलाई झड्का लागेको छ ।

आफूलाई स्वनिर्वाशनको घोषणा गर्दै बेल्जियममा बस्दै आउनुभएका स्वतन्त्र क्याटालोनिया अभियानका नेता कार्लेस पुइग्डेमोन्टले चुनावको नतिजाले स्वतन्त्रताको पक्षमा भएको जनमतसंग्रहलाई प्रमाणित गरेको बताउनुभएको छ ।

गठबन्धनमा रहेका मध्ये पुइग्डेमोन्टको पार्टी जेएक्सक्याटले इआरसीले भन्दा केही बढी सिट जितेको छ । चुनावको नतिजाबाट ‘क्याटालान रिपब्लिक’ विजयी भएको र स्पेन सरकार पराजित भएको ब्रसेल्समा पत्रकारसँग कुरा गर्दै पुइग्डेमोन्टले बताउनुभएको छ ।

क्याटालोनियामा बिहीबार भएको चुनावमा ८० प्रतिशत भन्दा बढी मत खसेको थियो । स्पेनको उत्तर–पूर्वी तटीय क्षेत्रमा रहेको क्याटालोनिया आफ्नै भाषा तथा सँस्कृति रहेको एक स्वायत्त राज्य हो । यो स्पेनको सबैभन्दा समृद्ध र औद्योगिक क्षेत्र हो ।

स्पेनको अर्थ व्यवस्थामा क्याटालोनिया एक्लैको २२ प्रतिशत भन्दा बढी हिस्सा रहेको छ । स्पेनको कुल जनसंख्याको १६ प्रतिशत बसोबास क्याटालोनियामा छ । तर स्पेनको कुल ग्राहस्थ उत्पादनमा क्याटालोनियाको भूमिका १९ प्रतिशत तथा निर्यातमा २५ प्रतिशत रहेको छ ।

स्पेन आफैमा एक महासंघ मात्रै नभएर धेरै हदसम्म विकेन्द्रिकृत एकीकृत देश हो । स्पेनभित्र जम्मा १७ स्वायत्त क्षेत्र छन्, ती सबैका आ–आफ्नै झण्डा र सरकार छन् ।

तपाईको प्रतिक्रिया