आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौँ – महानगरीय प्रहरी अपराध महाशाखाले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने आठ जनालाई पक्राउ गरेको छ ।  गत वर्ष ईडीभी चिट्ठा परेपछि अन्तरवार्ता दिन नेपालस्थित अमेरिकी राजदूतावासमा पुगेका एक व्यक्ति नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आधारमा शङ्का लागी पक्राउ परेपछि थप अनुसन्धान सुरु गरिएको थियो ।  अनुसन्धानमा आठ जनाको समूह पक्राउ परेको हो ।

पक्राउ पर्नेमा सिन्धुलीका रुद्र मोक्तान, ताप्लेजुङका भवानीप्रसाद भट्टराई, कालीकोटका विशालजङ्ग शाही, सुरेशबहादुर शाही, धरानका अभय पोखरेल, स्याड लाइफ कन्सल्टेन्सीका अनिल सराफ, काभ्रेका देवराज तामाङ र सन्तोषकुमार तिवारी छन् ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार किसानी काम गर्दै आएका मोक्तान र भट्टराई ईडीभी परेपछि अन्तरवार्ता दिन एसएलसी, कक्षा १२ र बीएड पास गरेको शैक्षिक प्रमाणपत्र बोकेर राजदूतावास पुगेका थिए ।

उनीहरूको शैक्षिक योग्तामाथि शङ्का लागेपछि राजदूतावासले नै नक्कली शैक्षिक प्रमाणपत्रका विषयमा अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरेको थियो ।  प्रहरीले अनुसन्धानमार्फत नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कन्सल्टेन्सी सञ्चालकसहित आठजनालाई पक्राउ गरेको हो ।

अन्य अभियुक्तले समेत नक्कली शैक्षिक प्रमाणपत्र तथा तालिमसम्बन्धी विभिन्न कागजपत्र पेस गरी ‘सेमिनार’मा सहभागी हुने नाममा अमेरिका जाने तयारी गरिरहेको बेला पक्राउ गरिएको महाशाखाले जानकारी दिएको  छ ।

उपत्यकाको सुरक्षाको समीक्षा
महानगरीय प्रहरीले काठमाडौँ उपत्यकाको निर्वाचन सुरक्षा व्यवस्था थप सशक्त र प्रभावकारी बनाउने निर्णय गरेको छ ।  मङ्सिर २१ गतेका लागि निर्धारित काठमाडौँ, ललितपुर र भक्तपुरको प्रतिनिधि र प्रदेशसभा निर्वाचन सुरक्षित, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइनेछ ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्दले उम्मेदवारहरूको सुरक्षादेखि मतदान केन्द्रसम्म र सडक गल्लीदेखि सार्वजनिक स्थलसम्म नियमित सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

उपत्यकामा विस्फोटक पदार्थ तथा शङ्कास्पद वस्तुको प्रयोग चुनौतीका रूपमा रहेको छ भन्दै उहाँले त्यसका लागि उपत्यका प्रवेश गर्ने सम्पूर्ण नाकामा सुरक्षा जाँच बढाइएको बताउनुभयो ।  उपत्यकामा गुड्ने सम्पूर्ण सवारीसाधनमाथि निगरानी राख्नुका साथै चोकचोकमा जाँच गर्ने, सार्वजनिक स्थान तथा मतदान केन्द्रमा नियमित गस्तीसँंगै शङ्कास्पद व्यक्तिमाथि निगरानी राख्ने कार्य भइरहेको जानकारी उहाँले दिनुभयो ।

त्यस्तै नेकपा माओवादी विप्लवसँग सम्बद्ध  कार्यकर्ताको खोजतलास गरी तुरुन्त पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउने, महानगरीय प्रहरी र म्यादी प्रहरीलाई संयुक्त गस्तीमा खटाउने कार्य भइरहेको उहाँले बताउनुभयो ।

प्रत्येक महानगरीय प्रहरी कार्यालयअन्तर्गत रहेका प्रहरी वृत्त तथा प्रभागले आआफ्नो क्षेत्रको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन, स्थानीय समुदाय, जनप्रतिनिधिलगायत अन्य सुरक्षा निकायसँग समन्वय गरी निर्वाचन सुरक्षालाई विश्वसनीय र प्रभावकारी बनाउन निर्देशन भएको उहाँले बताउनुभयो ।

उपत्यकामा हुने हरेक राजनीतिक गतिविधि तथा शङ्कास्पद व्यक्तिको विषयमा सीसी क्यामेरा र सादा पोसाकमा खटाइएका विशेष प्रहरी कर्मचारीबाट निगरानी राख्न लगाइएको जनाइएको छ ।  गुण्डागर्दी, चन्दा असुली र धम्की दिनेजस्ता कार्य कहीँकतैबाट भएगरेमा त्यस्ता व्यक्तिलाई तुरुन्त नियन्त्रणमा लिन निर्देशन दिएको उहाँले बताउनुभयो ।

निर्वाचनमा साना हतियारको अवैध ओसारपसार तथा प्रयोग हुनसक्ने भएकाले उपत्यकासँग जोडिएका विभिन्न जिल्लामा तैनाथ सुरक्षा निकाय प्रमुखसँग समन्वय गरी सीमामा तालिमप्राप्त कुकुरसहितको सुरक्षा टोली परिचालन गर्ने तयारी भइरहेको छ ।

तपाईको प्रतिक्रिया