शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

टोकियो – जापान आउने अधिकांश बिदेशी बिद्यार्थीहरुको प्रमुख उद्देश्य पैसा कमाउने रहेको र उनीहरुले अध्ययनलाई दोश्रो प्राथमिकतामा राखेको एक अध्ययनबाट खुलासा भएको छ ।

सान्केइ अनलाइनका अनुसार उनीहरुले स्पष्ट रुपमै सो बताउने गरेका छन् । सन २०१५ मा २ लाख भन्दा बढि पुगेको बिदेशी बिद्यार्थीहरु मध्ये करिब ६० प्रतिशत चीन, भियतनाम, नेपाल लगायत ५ एशियाली मुलुकका रहेका छन् । उनीहरु मध्ये अधिकांशको उद्देश्य पैसा कमाउने रहेको बताईएको छ ।

चिबाकेनमा बस्ने एक २३ बर्षिय नेपाली बिद्यार्थीले आफु स्कुलको कक्षामा धेरैजसो समय सुत्ने गरेको र जापानमा काम गरेर पैसा कमाउने उद्देश्य लिएर आएको बताएको रिपोर्टमा उल्लेख छ । उनले हप्ताको ६ दिन रातीको समयमा सामान ढुवानी गर्ने कम्पनीमा काम गर्ने गरेको बताउँदै उनले आफ्ना साथीहरु पनि त्यस्तै गर्ने गरेको बताएका थिए । पैसा पहिलो र पढाई दोश्रो प्राथमिकतामा राखेका बिद्यार्थीहरु धेरै हुनसक्ने सो रिपोर्टमा बताईएको छ । बिद्यार्थी भिसामा रहेकाहरुको लागि हप्तामा २८ घण्टा मात्र काम गर्ने अनुमति हुन्छ । तर, फुलटाइम काम गर्ने तथा स्कुल नै जान छोडी भिसाको अवधि सकेपछि ओभरस्टे बस्ने बिद्यार्थीहरु पनि धेरै भएको रिपोर्टमा उल्लेख छ ।

यस खालको समस्या आउनुमा जसरी हुन्छ धेरै संख्यामा बिद्यार्थी जम्मा गरी नाफा कमाउने उद्देश्यका साथ संचालनमा रहेका जापानी भाषा स्कुलहरु प्रमुख कारण हुन सक्ने बताईएको छ । नक्कली बिद्यार्थीहरुलाई अन्धाधुन्ध भर्ना लिंदा यस्तो समस्या आएको हुनसक्ने रिपोर्टमा उल्लेख छ । पछिल्लो समयमा बढेको यस किसिमको समस्यालाई मध्यनजर गर्दै कानुन मन्त्रालयले आफु मातहतका बिभिन्न अध्यागमन बिभागहरुलाई बिद्यार्थी भिसामा कर्डाईका साथ जाँच गर्न निर्देशन दिएको थियो । बिशेष गरी, चिनिया, भियतनामी, नेपाली, म्यानमार र श्रीलंकाली बिद्यार्थीहरुको हकमा कडाई गर्न मन्त्रालयको निर्देशन थियो ।

जापान सरकारले बिदेशीहरुको बिचमा जापानको बढिभन्दा बढि प्रचार गराउने र जापानलाई बिश्वमा चिनाउने उद्देश्यका साथ सन् २०२० सम्ममा ३ लाख बिदेशी बिद्यार्थी पुर्‍याउने लक्ष लिएको छ । तर पढाई भन्दा पैसा कमाउने उद्देश्यका साथ जापान आउने बिदेशी बिद्यार्थीहरुलाई रोक्न कानुन मन्त्रालयले बिबिध उपायहरु खोजिरहेको पनि बताईएको छ । बिदेशी बिद्यार्थीहरुले उनीहरुको अध्ययन अवधि अनुसार एकै पटकमा बढिमा ४ बर्ष ३ महिनासम्मको भिसा पाउने गर्दछन् । जुन नविकरण पनि हुन सक्छ । सन् २०१७ जुन मसान्तको तथ्याङ्क अनुसार जापानमा २ लाख ९१ हजार १ सय ६४ जना बिदेशी बिद्यार्थीहरु छन् ।***

तपाईको प्रतिक्रिया