बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

टोकियो–काम गर्ने उद्देश्यले नक्कली शरणार्थी आवेदन दिनेहरूको संख्या बढेसँगै जापानको न्याय मन्त्रालयले शरणार्थी सम्बन्धी नयाँ नियम यही नोभेम्बर महिनाको मध्यतिरबाट पूर्णरुपमा लागू गर्ने जापानका संचार माध्यमहरुले समाचार प्रकाशित गरेका छन् ।
यस नियम लागू भएसँगै काम गर्ने उद्देश्यले नक्कली शरणार्थी आवेदन दिनेहरूको संख्या घट्न सक्ने बताइएको छ । हालसम्मको नियम अनुसार आवेदन दिएको ६ महिनापछि काम गर्ने अनुमति प्राप्त गर्दै आएकोमा अब भने आवेदकहरूलाइ चार वर्गमा विभाजन गरी शरणार्थी आवेदन दिने सक्कली या नक्कली भनेर २ महिनाभित्र नै छानविन हुने बताइएको छ ।

पैसा कमाउने उदेश्यका साथ विद्यार्थी, प्रशिक्षार्थी तथा अन्य भिषा त्याग गरी नक्कली शरणार्थी बन्ने क्रम बढेसँगै जापान सरकारले यो नीति लिएको बुझिएको छ । काम गर्ने उद्देश्यले आवेदन दिएका नक्कली आवेदकहरूलाइ जापानको १७ स्थानमा रहेको इमिग्रेसनको बन्दी गृहमा राखिने पनि बताएको छ ।

अहिले शरणार्थी छानविनको काम औसत १० महिना बढि समय लाग्दै आइरहेको थियो । शरणार्थी आवेदकहरूको अवस्था हेर्दा सम्भावित आवेदकहरू मध्ये एक प्रतिशत भन्दा कम वास्तविक शरणार्थी हुनसक्ने अनुमान गरिएको छ । वास्तविक  शरणार्थी हुनसक्ने सम्भावित आवेदकहरूलाइ भने आवेदन दिएको ६ महिना नपुगे पनि काम गर्न अनुमति दिने बताइएको छ ।

पछिल्लो तथ्यांक अनुसार जापानमा शरणार्थी आवेदन दिनेहरुमध्ये नेपालीहरुको संख्या दोस्रो स्थानमा रहेको थियो । नयाँ नियम लागू पश्चात धेरै नेपालीहरु पनि यस नियमबाट प्रभावित हुनसक्ने जानकारहरु बनाउँछन् ।

तपाईको प्रतिक्रिया