शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं – रौतहटको दक्षिणी क्षेत्रका बाढीपीडित बालबालिका तथा वृद्धवृद्धा बिरामी पर्न थालेका छन् । राति परेको शीत र डुबानमा परेको चापाकलको दूषित पानी पिउनाले बिरामी बढेको स्वास्थ्यकर्मीले बताएका छन् ।

जिल्लाको फतुवा विजयपुर नगरपालिकाका रामएकवाल रामको परिवारका सबै सदस्य बिरामी छन् । उनीहरू डुबानमा परेका चापाकलको दूषित पानी पिउन बाध्य छन् । बाढीले घर भत्कायो, सातासम्म परिवारले त्रिपाल अभावमा खुला आकासमै रात बिताए । अहिले परिवारका सबैलाई टाउको दुख्ने, रुघाखोकी, ज्वरोको समस्या छ ।

विभिन्न संघसंस्थाको सहयोगमा चिकित्सक संघ काठमाडौंले गरेको स्वास्थ्य शिविरमा परिवारै जँचाएको उनले बताए । उनको परिवार मात्र होइन, टोलका डेढ सयभन्दा बढी पीडित बिरामी परेका छन् । ज्वरो निको नभएपछि स्थानीय गम्हीरा दासले १० वर्षीय छोरा धर्मेन्द्रलाई स्वास्थ्य शिविरमा पुर्‍याए । स्थानीय साझादेवीलाई ज्वरो आएको एक साता भयो । गाउँमा बिक्री हुने सिटामोल औषधि खाइन् । ‘औषधि खाँदा ज्वरो हट्ने, छाडेपछि फेरि आउने गर्छ,’ उनले भनिन् । सामान्य ज्वरो, रुघाखोकी लाग्दा गाउँका सबैले पसलबाट औषधि किनेर खाने गरेको उनले बताइन् ।

जिल्लाका फतुवा विजयपुरका विभिन्न टोल, कटहरिया आसपासका गाउँ, लौकाहा, नरकटिया, राजपुर, महादेवपट्टी, ब्रह्मपुरी, गैरीगाउँलगायत स्थानका सर्वसाधरणमा ज्वरो आउने, टाउको दुख्ने, झाडापखाला लाग्ने जस्ता समस्या देखा पर्न थालेको स्थानीयले बताएका छन् । सातायता नेपाल, सशस्त्र प्रहरी र नेपाली सेनाको समन्वयमा जिल्लाका बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन भएका छन् ।

तपाईको प्रतिक्रिया