काठमाडौं – निजी आवास पुनर्निर्माणको लागि आउँदो असार मसान्तभित्र अनुदान सहयोग वापतको सबै किस्ता लिइसक्न सरकारले आग्रह गरेको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सूचना निकालेर गएको वर्ष पुस मसान्तसम्म पहिलो किस्ता लिएका लाभग्राहीले आउँदो पुस मसान्तसम्म दोस्रो र जेठ मसान्तसम्ममा तेस्रो किस्ता लिइसक्नुपर्ने बताएको हो ।
यस्तै लाभग्राहीको सूचीमा परे पनि अनुदान सम्झौता नगरेका लाभग्राहीले जतिसक्दो छिटो अनुदान सम्झौता गरि आउँदो कात्तिकसम्ममा पहिलो किस्ता लिइसक्नु पर्नेछ । कात्तिक मसान्तसम्ममा पहिलो किस्ता लिएका लाभग्राहीले चैत मसान्तसम्म दोस्रो र असार मसान्तसम्ममा अन्तिम किस्ता लिइसक्नुपर्ने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले आउँदो भदौ ३१ गते भित्रमा १४ जिल्लामा ८१ हजार ८२ परिवारको पुनः जाँच र ५२ हजार २ सय ७८ परिवारको छुट सर्वेक्षण गरि कुल १ लाख ३३ हजार ३ सय ६० परिवारको सर्वेक्षण गरिसक्ने लक्ष्य लिएको छ ।
गुनासो दर्ता गराएकामध्ये यस अघि नै ३९ हजार ९७ परिवार पुनर्निर्माण अनुदान लाभग्राही र १३ हजार ५ सय ६५ परिवार प्रबलीकरण लाभग्राहीमा गुनासो सुनुवाईमार्फत परिसकेका प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सिन्धुली, मकवानपुर, काभ्रेपलान्चोक र दोलखामा सर्वेक्षण गर्नु पर्ने संख्या बढी छ भने रसुवा, ललितपुर, भक्तपुरमा कम छ ।
१४ जिल्लामा २ लाख ७ हजार ५ सय परिवारले गुनासो दर्ता गराएका थिए । सर्वेक्षणको काम इन्जिनियर र स्थानीय सामाजिक परिचालकले गर्नेछन् ।