मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं – चार खाडी मुलुकले दुई महिनायता कतारमाथि गरेको चर्को नाकाबन्दीको प्रत्यक्ष असर नेपाली कामदारमा पनि देखिन थालेको छ । कतारका केही कम्पनीले नेपालीलगायत विदेशी कामदारको डिमान्ड गर्न छाडेका छन् । केहीले पहिले स्वीकृत भइसकेको कामदार लिन बन्द गरेका छन् ।

नेपालीको समस्याबारे दोहास्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई लिखित रूपमा जानकारी गराएको छ ।

केही कतारी कम्पनीले विदेशी कामदारको डिमान्ड नगरेको सत्य हो ।

केही कम्पनीले नेपालबाट कामदार लिने प्रक्रिया रद्द गरेका छन् , कतारस्थित नेपाली राजदूत रमेश कोइरालाले भन्नुभयो ।

तर, कति कतारी कम्पनीले नेपालबाट डिमान्ड लिन छाडे भन्ने तथ्यांक दूतावास र म्यानपावर एजेन्सीसँग छैन । राजदूत कोइरालाले कतारमा हाल कार्यरत नेपालीको रोजगारीमा असर नपरेको बताउनुभयो ।

कोही पनि नेपालीले कतारमा जागिर गुमाएका घटना हालसम्म दूतावासको जानकारीमा आएको छैन । उनीहरूको जागिर संकटमा परेको सुनिएको छैन,  उहाँले भन्नुभयो ।

३० नेपालीको रोजगारी गुम्यो
तर, दुई मुलुकबीच कूटनीतिक सम्बन्ध तोडिएका कारण साउदीस्थित कतारको लगानीमा रहेका कम्पनीमा काम गर्ने नेपालीमाथि परेको छ । कतारका नागरिकको लगानीमा साउदी अरेबियामा सञ्चालित कृषि र पशुपालन व्यवसायमा कार्यरत ३० भन्दा बढी नेपाली कामदारको रोजगारी गुमेको छ ।

उक्त संख्या अरू बढी पनि हुन सक्ने उनीहरूको भनाइ छ । ती नेपाली पशुपालन र कृषिलगायत पेसामा संलग्न थिए । उनीहरूमध्ये केही ट्रक ड्राइभर पनि छन् । कतार र साउदीबीच कूटनीतिक सम्बन्धविच्छेदको अवस्था छ । कतारले साउदीमा लगानी गर्ने व्यवसायी त्यसबाट प्रत्यक्ष प्रभावित भएका छन् ।

खाडी मुलुकले कतारसँगको जल, स्थल र हवाई सम्पर्क विच्छेद गरेको घोषणापछि नेपालीलाई पर्न सक्ने समस्याबारे सतर्क रहन सरकारको निर्देशन दिएको थियो ।

साउदीस्थित नेपाली दूतावासका उपप्रमुख आनन्द शर्माले कतारी नागरिकले सञ्चालन गरेका कम्पनीमा केही नेपालीको रोजगारी संकटमा परेकोबारे बुझ्ने काम भइरहेको जानकारी दिनुभयो । हामी ती नेपाली साउदीमा कहाँ कुन अवस्थामा छन् पत्ता लगाएर उद्धार गर्न प्रयास गर्नेछौं, उहाँले भन्नुभयो ।

कतारका नागरिकले चलाएका कम्पनीमा नेपाली समस्यामा परेको सम्बन्धमा दोहास्थित नेपाली दूतावासले साउदीस्थित नेपाली दूतावासलाई जानकारी गराएको उहाँले बताउनुभयो । यसरी समस्यामा परेका नेपालीले हामीसँग सम्पर्क गरेका छैनन् ।

आफ्नै ढंगले उनीहरूको जानकारी लिन प्रयासमा छौँ, शर्माले भन्नुभयो । कतारमाथि नाकाबन्दी लगाउँदै आएको प्रमुख मुलुक साउदीले कूटनीतिक सम्बन्ध अन्त्यको घोषणा गर्दै कतारमाथि हवाई र जमिनबाट आवागमनमा रोक लगाएको छ ।

साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले ५ जुनदेखि कतारमाथि नाकाबन्दी गरिरहेका छन् । कतारले आतंकवादलाई प्रश्रय दिएको आरोप ती मुलुकले लगाए पनि उसले त्यसको खण्डन गरेको छ ।

तपाईको प्रतिक्रिया