सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडौं – बल प्रयोगको सिद्धान्तलाई आत्मसात गर्दै आएको माओवादी केन्द्रले औपचारिक रूपमै ‘संसद्वाद’ अवलम्बन गरेको छ । पार्टी सचिवालय बैठकमा शनिबार अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनलाई अब शान्तिपूर्ण र प्रतिस्पर्धात्मक रूपमा संस्थागत उपयोग गर्ने लिखित प्रस्ताव पेस गरेपछि माओवादीले औपचारिक रूपमा ‘संसद्वाद’ लाई अवलम्बन गरेको हो । दाहालको लिखित प्रस्तावलाई सचिवालय बैठकले पारित गरेको छ । दाहालले निर्वाचनलाई रुसमा लेनिनले ‘दुमा’ उपयोगको अर्थका रूपमा नेपालमा लिन नहुने भन्दै अब शान्तिपूर्ण र प्रतिस्पर्धात्मक नीति उपयोग गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

‘शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको वर्तमान चरणमा पार्टीले निर्वाचनलाई लेनिनले ‘दुमा’ को उपयोग गरेको अर्थमा नलिई सर्वहारा श्रमजीवी वर्गको संघर्षले ल्याएको उपलब्धिलाई संस्थागत र उपयोग गर्ने नयाँ चरणको क्रान्तिको तयारीको अर्थमा ग्रहण गर्नुपर्छ’, सचिवालय बैठकले पारित गरेको दाहालको दस्ताबेजमा जोड दिइएको छ ।

लेनिनले सन् १९०५ को निर्वाचनमा पार्टी पराजित भएपछि पार्टी बचाउन भन्दै पुनः क्रान्तिमै जाने निर्णय लिनुभएको थियो । माओवादी केन्द्रले पनि यसअघि निर्वाचनलाई मात्र उपयोगका रूपमा लिँदै आवश्यक परे फेरि क्रान्तिमै फर्किने बताउँदै आएको थियो । तर, शनिबार पारित दाहालको राजनीतिक प्रतिवेदनपछि भने वैधानिक रूपमा अबदेखि उसले निर्वाचनलाई प्रयोग गर्ने स्पष्ट गरेको छ । केन्द्रीय सचिवालय बैठकमा यो विषयलाई व्याख्या गर्दै दाहालले पार्टी निर्वाचनमा पराजित भए पनि संस्थागत प्रयोग गर्नुपर्ने बताएको बैठकमा सहभागी एक नेताले अन्नपूर्णलाई जानकारी दिए ।

‘हामीले निर्वाचन नजिते पनि चुनावलाई अब उपयोग गर्दै जनताबाट नभागी संस्थागत र उपयोग गरेर जानुपर्छ’, दाहालको भनाइ थियो ।प्रतिगमन निम्त्याउने षड्यन्त्र दाहालले अहिलेको परिवर्तन उल्टाउन देशी÷विदेशी चलखेल भइरहेको पनि दस्ताबेजमा उल्लेख गर्नुभएको छ । परिवर्तन संवाहक पार्टीका नाताले माओवादीले प्रतिक्रियावादको जुनसुकै षड्यन्त्रको सामना गरेर जानुपर्ने दाहालले बताउनुभएको छ ।

‘अहिलेको परिवर्तन सामन्ती शक्ति, वैदेशिक प्रतिक्रियावादी शक्तिलाई पचेको देखिँदैन । ०६२÷६३ को जनआन्दोलनका सहयात्रीलाई पनि चित्त बुझेको छैन’, दाहालको गोप्य दस्ताबेजमा भनिएको छ, ‘कांग्रेसको बुर्जुवा यथास्थितिवादी धारा र एमालेको पहाडिया उच्च जातीय अन्धराष्ट्रवादी र परिवर्तनविरोधी संशोधनवादी धारालाई मलजल गरेर प्रतिगमनतिर लाने षड्यन्त्र भइरहेको छ । यसको सामना गरेर जानुपर्छ ।’

जनतासँग घनिष्ट सम्बन्ध गाँसिएको सुढृढ संगठन नै प्रतिक्रियावाद, अवसरवादविरुद्धको संघर्षमा सर्वहारावर्ग र श्रमजीवी जनसमुदायको अचुक हतियार हुने दाहालको दस्ताबेजमा उल्लेख छ ।

मनोगत अपेक्षाले पार्टी पराजित

दाहालले स्थानीय तह निर्वाचनमा पार्टीको अवस्था र जनताको अपेक्षा नबुझी मनोगत अपेक्षा राखेको पनि स्विकार्नुभएको छ । ‘वैचारिक, राजनीतिक रूपले अस्पष्ट र संगठनात्मक रूपले अस्तव्यस्त पार्टीले धेरै ठूलो नतिजाको अपेक्षा गर्नु नै मनोगत अपेक्षा हुन पुग्थ्यो’, दाहालले भन्नुभयो, ‘हाम्रो अपेक्षा मनोगत रह्यो ।’

निर्वाचनमा पार्टी हार्नुमा प्रतिक्रियावाद र अवसरवादविरुद्ध वैचारिक राजनीतिक संघर्षलाई उच्च प्राथमिकतामा राखी प्रकाशन, प्रशिक्षण, प्रचार र स्कुलिङलाई व्यवस्थित गर्न नसक्नुको परिणाम भएको दाहालको दस्ताबेजमा उल्लेख छ ।
‘शान्ति–सम्झौतादेखि आजसम्म भएका वैचारिक राजनीतिक कार्यादिशा सन्दर्भमा भएका बहस, अस्पष्टता, उतारचढाव, फुट विभाजन र एकताका असाधारण शृंखलाको समुचित संश्लेषण र बुझाइमा स्पष्टता र एकरुपताको अभावका कारण सिर्जित अराजकता आजको हाम्रो पार्टीको परिणामको प्रमुख कारण हुन्’, दाहालले भन्नुभएको छ ।

उहाँले पार्टी निर्माणमा पार्टीभित्रकै अन्तरविरोध मुख्य समस्या भएको पनि बताउनुभयो । जनताको बीचमा रहेर संगठन निर्माण गर्ने, विकास निर्माणका साना–ठूला कामदेखि सामाजिक क्रियाकलापमा सक्रिय सहयोग र सहभागिताद्वारा जनताको मन जित्ने कुरामा नभई पार्टी नेताहरू एकअर्काेलाई दोषारोपण गर्ने र गुटगत स्वार्थमा लागेको दाहालको आरोप छ ।

‘पार्टीभित्रै एकअर्कालाई दोषारोपण गर्ने व्यक्तिगत र गुटस्वार्थलाई सम्पूर्ण आदर्श तोड्दै जाने आत्मकेन्द्रित र हानिकारक प्रवृत्ति विकास हँुदै गएको छ’, दाहालले दस्ताबेजमा भन्नुभएको छ, ‘जनताले हाम्रो पार्टीबाट गरेको सकारात्मक अपेक्षा र हाम्रो यो नकारात्मक स्थितिका बीचको अन्तरविरोध पार्टी निर्माणको समस्याको चुरो बनेको छ ।’

पार्टीभित्रको अन्तरविरोध हल गर्न फेरिएको मोर्चाअनुकूल आमजनतालाई विभिन्न रूपको संगठनमा आबद्ध गर्ने र जनतामा जाने ठोस संगठनले मात्र गर्न सक्ने कार्यक्रमिक ध्येय बनाउनुपर्नेमा दाहालले जोड दिनुभएको छ ।

पार्टी अहिले दिन दिनैको घटनाको पछि दगुर्नुपर्ने वैचारिक राजनीतिक रूपले अस्पष्ट, संगठनात्मक रूपले अस्तव्यस्तको अवस्थामा रहेको भन्दै दाहालले प्रतिक्रियावाद र अवसरवादविरुद्ध वैचारिक राजनीतिक रूपले हस्तक्षेप गर्ने, राजनीतिक हमला र संघर्ष गर्न प्रकाशन, प्रशिक्षण, प्रचार र स्कुलिङलाई अभियानात्मक रूपले सञ्चालन गर्नुपर्ने पनि बताउनुभएको छ ।

चुनाव जितेका स्थानमा आधारइलाका

साता दिन लामो समयसम्म चलेको माओवादी केन्द्रीय सचिवालय बैठकले स्थानीय तहका अहिले जितेका तहमा चुनावी आधारइलाका बनाउँदै अन्य तहमा पनि सोहीअनुसार संगठन विस्तार गर्दै लैजाने रणनीति बनाएको छ । त्यसका लागि उसले २० साउनदेखि २२ गतेसम्म निर्वाचित जनप्रतिनिधिको भेला बोलाउने निर्णय गरेको छ ।प्रवक्ता पम्फा भुसालका अनुसार बैठकले निर्वाचनमा अन्तर्घात गर्ने, पार्टीविरोधी गतिविधि गर्नेको विषयमा निष्पक्ष छानबिन गर्न पनि समिति गठन गर्ने निर्णय गरेको छ ।

पार्टी निर्वाचनमा अन्तर्घात गर्ने, भोट बेच्नेलाई पार्टीविरोधी आत्मघाती गतिविधिका रूपमा लिई निष्पक्ष छानबिन गर्न प्रत्येक प्रदेशमा ३ सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय माओवादीले गरेको हो ।

स्थानीय तह निर्वाचन भएका ६ वटै प्रदेशमा त्यसरी गठन हुने समितिलाई १५ भदौभित्र निष्पक्ष छानबिन गरी सुझावसहितको प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउन बैठकले निर्देशन दिएको छ । उसले सरकारमा रहेर पार्टीले गरेका कामलाई व्यवस्थित प्रचार–प्रसार गर्ने पनि बताएको छ ।
माओवादीले आगामी प्रदेशसभा निर्वाचनका लागि चुनावी घोषणापत्रको मस्यौदा तयार पार्न नेता नारायणकाजी श्रेष्ठ तथा प्रदेश सभा टिकटका लागि नेता रामबहादुर थापाको नेतृत्वमा सिफारिस समिति गठन गरेको छ ।

केन्द्रीय समिति विघटन गर्ने

माओवादी केन्द्रले ४ हजार संख्याको केन्द्रीय महाधिवेशन आयोजक समिति विघटन गरी २ अंकसम्मको बनाउने प्रस्ताव पारित गरेको छ । तर, त्यसका लागि त्यसअनुसारको प्रस्ताव आयोजक समिति बैठकमा प्रस्तावका रूपमा राख्ने र त्यसलाई अनुमोदन गरेर मात्र केन्द्रीय कार्यालयले निर्णय लिने कार्ययोजना पारित गरेको छ ।

दाहालले केन्द्रीय सचिवालयको विस्तारित बैठकमा राखेको प्रस्तावमा त्यस्तो उल्लेख छ ।पार्टीले ३ हजार ९ सय ९९ सदस्यसम्मको आयोजक समिति बनाउने भने पनि त्यो ४ हजार बढीको संख्यामा पुगेको र अहिले कति पुगेको छ भन्ने विषयमा आफंैलाई पनि जानकारी नभएको दाहालले बताउनुभएको थियो ।दाहालले २ अंकसम्मको केन्द्रीय समिति, सोहीअनुसार चुस्त कार्यालय र पोलिटब्युरोको संरचना निर्माण गरेर जानुपर्ने बताउनुभयो।

‘विद्यमान आयोजक समितिसमक्ष चुस्त संगठन निर्माणको प्रस्ताव पेस गर्ने, १५ भदौभित्र सबै प्रदेशका आयोजक समिति सदस्यको अलग–अलग बैठक राखेर अनुमोदन गराउने र त्यस्तो अनुमोदित प्रस्तावलाई कार्यालय बैठकले निर्णय लिई अन्तिम प्रस्तावका रूपमा कार्यान्वयनमा लैजाने प्रस्ताव पारित भएको छ’, बैठकमा सहभागी एक सचिवालय सदस्यले अन्नपूर्णसँग भने ।

सारमा दाहालको दस्तावेज

 लेनिनको ‘दुमा’ नीति नेपालमा अनुपयुक्त
– शान्तिपूर्ण र प्रतिस्पर्धात्मक नीति अवलम्बन गरिने
– परिवर्तन उल्टाउन देशी÷विदेशी चलखेल
– कांग्रेस ‘बुर्जुवा यथास्थितिवादी’
– एमाले ‘पहाडिया अन्धराष्ट्रवादी’
– चुनाव जितेका स्थानमा आधारइलाका निर्माण
– केन्द्रीय समिति विघटन गरिने
– घोषणापत्र तयार पार्न नारायणकाजी श्रेष्ठको कमिटी
– टिकटका लागि रामबहादुर थापा नेतृत्वको समिति गठन

तपाईको प्रतिक्रिया