Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

सकारात्मक सन्देश प्रवाह गर्न राजदूत राणाको आग्रह

टोकियो – जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने खालका समाचारहरुमा जोड दिन जापानका पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । उहाँले पत्रकारहरु समाजका अभिन्न अंग भएकोले सत्यतथ्य र प्रभावकारी सूचना संप्रेषण गर्ने सन्दर्भमा थप जिम्मेवार बन्नुपर्ने धारणा ब्यक्त गर्नुभएको छ ।

बिहीबार अपरान्ह दूतावासमा आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा बोल्दै राजदूत राणाले जापानबासी नेपालीहरुका समस्याका बारेमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । उहाँले नेपाली समुदायसंग सहकार्य गर्दै बिभिन्न प्रकृतिका समस्याहरुको पहिचान गरी न्यूनिकरण गर्दै लैजानुपर्ने बिचार ब्यक्त गर्नुभयो । त्यसका लागि पत्रकार महासंघ लगायत यहाँका अन्य नेपाली समुदायसंग चरणबद्ध छलफल गरी साझा धारणा बनाई अगाडि बढ्न आवश्यक रहेको बिचार ब्यक्त गर्नुभयो । राजदूत राणाले जापानबासी नेपालीहरुका समस्यालाई एउटा साझा लुज फोरम मार्फत सम्बोधन गर्न सकिने धारणा पनि ब्यक्त गर्नुभयो ।

उक्त पत्रकार भेटघाट कार्यक्रममा राजदूत राणाले आफ्नो कार्यकाल भित्र आफ्नै दूतावास भवनको ब्यवस्था गर्ने महत्वाकाँक्षी योजना सफल पार्न हरसंभवका पहलहरु गर्ने प्रतिबद्धता पुनः दोहोर्‍याउनुभयो ।

सो अवसरमा पत्रकारहरुले सेवाग्राहीका सुबिधालाई ध्यानमा राखी दूतावासबाट प्रवाह हुने हरेक किसिमका सेवालाई थप चुस्त र प्रभावकारी बनाउन चाल्नुपर्ने कदमहरुका सम्बन्धमा सुझाव दिएका थिए । जसनुसार राजदूतको अत्यन्त महत्वपूर्ण समयलाई हप्तैपिच्छे हुने नेपालीहरुका औपचारिक कार्यक्रममा खर्चिनुभन्दा सकेसम्म दुईदेशबीचको कूटनैतिक सम्बन्धलाई थप सुदृढ बनाउँदै मुलुकको हित हुने कार्यमा उपयोग गरिनुपर्ने, त्यसका लागि नेपाली समुदायले पनि सहयोग गरिनुपर्ने, सेवाग्राहीले पाउने सेवाका झण्झटिला प्रक्रियाहरुलाई छिटो र छरितो ढंगले कार्यसम्पादन हुने ब्यवस्था मिलाईनुपर्ने, बिभिन्न सेवा लिएबापत लाग्ने राजश्व शुल्क बैंकमार्फत भुक्तानीको ब्यवस्था गरिनुपर्ने, जापानका बिभिन्न निकायहरुमा हुने नेपालसंग सम्बन्धित महत्वपूर्ण कार्यक्रमहरुका बारेमा दूतावासले पत्रकारहरुलाई समयमै जानकारी गराई समाचार संकलनमा सहजीकरण गरिनुपर्ने, जापानमा बढ्दो नेपाली महिलाहरुको समस्यालाई सम्बोधन गर्न दूतावासमा महिला कर्मचारीसहितको एउटा छुट्टै डेस्कको ब्यवस्था गरिनुपर्ने लगायतका सुझावहरु दिएका थिए ।

करिव दर्जन जति पत्रकारहरुको उपस्थिति रहेको सो पत्रकार भेटघाट कार्यक्रममा दूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल, द्वितीय सचिव टोपनारायण गिरी, तृतीय सचिव रेवन्त केसी लगायतका कूटनीतिज्ञहरुको पनि उपस्थिति रहेको थियो ।

राजदूत राणा केही साताअघि मात्र आफ्नो जिम्मेवारी सम्हाल्न जापान आईपुग्नुभएको हो । उहाँले आफ्नो जिम्मेवारी सम्हालेलगत्तै जापानको नेपाली समुदायका बिभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित ब्यक्तिहरुसंगको भेटघाट तथा छलफल गरी उनीहरुबाट सुझाव तथा सल्लाह लिने कार्यलाई तिब्र पार्दै आउनुभएको छ । सोही मुताविक बिहीबार राजदूत राणाले जापानका क्रियाशील पत्रकारहरुसंग दोस्रोचोटी भेटघाट तथा छलफल गर्नुभएको हो ।  ****

तपाईको प्रतिक्रिया