समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शनिबार आफ्नो सामाजिक सञ्जालमा दुई फरक समयमा खिचिएका तस्वीरहरू सार्वजनिक गरेका छन्।
यी तस्बिरहरूमध्ये पहिलोमा उनी चितवनको शक्तिखोरस्थित क्यान्टोनमेन्टमा प्रधानमन्त्रीको भूमिकामा शान्तिप्रक्रियासँग सम्बन्धित सेना समायोजनको अवलोकन गर्दै छन्। साथमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संविधानसभा अध्यक्ष सुवास नेम्वाङ देखिन्छन्। दोस्रो तस्वीरमा उनी कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग आन्दोलनका क्रममा रत्नपार्कमा संसद् पुनःस्थापनाको सन्दर्भमा देखिएका छन्। नेपालले यी तस्बिरसँग “इतिहास हो तर धेरै पुरानो होइन” भन्दै सन्देश लेखेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार नेपालले यी तस्वीरहरू पोष्ट गरेर केही संकेतहरू गर्न खोजेका छन्। पहिलो, उनले आफ्नो ऐतिहासिक भूमिका सम्झाउँदै अहिलेको समय पुनः त्यस्तै चुनौती र नेतृत्व आवश्यक हुनसक्छ भन्ने सन्देश दिन खोजेका हुन्। दोस्रो, शान्तिप्रक्रियामा आफ्नो योगदान र संक्रमणकालीन न्यायका विषयप्रति गम्भीर हुन सबैलाई आग्रह गरेका हुन्। तेस्रो, नेकपा एमालेका अध्यक्ष केपी ओलीको हालको कमजोर स्थितिप्रति संकेत गर्दै आफू भविष्यमा पुनः निर्णायक हुन सक्ने संकेत दिएका हुन सक्छन्। अध्यक्ष नेपालको सचिवालयले भने इतिहासमा कसको भूमिका के थियो भन्ने सन्देश दिन दुईवटा फोटो सेयर गरिएको जनाएको छ।