Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

अतिबादका कारण निर्वाचन अन्यौलमा

काठमाडौं – सत्तागठबन्धन दल नेपाली काँग्रेस र माओबादी केन्द्रको सहमती अनुसार पहिलो चरणको स्थानीय निर्वाच सम्पन्न गरेलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएपछि भावी प्रधानमन्त्री को हुने भन्ने बिषय नेपाली राजनीतिको केन्द्रिय बिषय बनेको छ । पूर्वसहमतीअनुसार नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा प्रधानमन्त्रीको लाइनमा भएपनि बिकसित पछिल्लो घटनाक्रम हेर्दा उनलाई त्यति सजिलै प्रधानमन्त्री बन्न दिने छांट देखिएको छैन ।

एकातिर नेपाली काँग्रेसभित्रै देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्न चलखेल सुरु भएको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कुनै पनि हालतमा देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्ने रणनीति अगाडि सारेको छ ।

यता काँग्रेस सभापति देउवा भने जसरी पनि प्रधानमन्त्री बनिछोड्ने र एमाले अध्यक्ष केपी ओली जसरी पनि उनलाई रोकिछोड्ने अतिवादबाट नेपाली राजनीति यतिखेर थप पेचिलो बन्न पुगेको छ । जसले गर्दा चार प्रदेशमा बाँकी रहेको दोस्रो चरणको निर्वाचन पनि प्रभावित बन्न पुगेको छ ।

पहिलो चरणको निर्वाचन शान्ति र निष्पक्षताका साथ सम्पन्न गराए पनि देउवाले अति नै गरेपछि प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिएका हुन् । निर्वाचनको मुखमा यसरी प्रधानमन्त्रीको राजीनामा आएपछि प्रदेश १, २, ५ र ७ को निर्वाचन अन्यौलपूर्ण बन्न पुगेको हो । तराईमा २२ वटा स्थानीय तह थप्न सरकारले गरेको निर्णयलाई तत्काल कायम नगर्न सर्वोच्च अदालतले दिएको आदेश र मधेसका केही दलले आन्दोलन घोषणा गरेपछि आसन्न निर्वाचनलाई थप अन्यौल बनाएको हो ।

पहिलो चरणको निर्वाचनबाट उत्साहित भएका नेपाली जनताहरु यतिखेर दोस्रो चरणको निर्वाचन पनि होस् र जनप्रतिनिधिले छिटो जनताका काम सुरु गरुन् भन्ने चाहन्छन् । तर, राजनीतिको केन्द्रमा कसैलाई जसरी पनि प्रधानमन्त्री बन्नैपर्ने र कसैलाई जसरी पनि रोक्नुपर्ने अतिवाद देखिएपछि निर्वाचन हुने १५ दिन पनि बांकी नरहंदा अन्योलको कालो बादल मडारिएको हो ।

यतिबेला एमालेले संसद नै चल्न दिएको छैन । संसद नै अवरुद्धका कारण प्रधानमन्त्रीले सिंहदरबारबाट राजीनामा दिनुपरेको थियो । राष्ट्रपतिबाट संसदमा नीति तथा कार्यक्रम प्रस्तुत हुनासाथ  एमालेले पुनः संसद अवरुद्ध गरेको थियो । त्यस यता यो क्रम जारी छ । जसरी पनि देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्न एमालेले अब सहमतीय सरकार बन्नुपर्छ भन्ने सर्त अगाडि सारेको छ । सहमति हुन्छ भने प्रचण्डलाई नै पुनः प्रधानमन्त्री बनाउन सकिने प्रस्ताव एमाले अध्यक्ष केपी ओलीले गरेका छन् । ओलीले यस्तो गर्नुको पछाडि अर्को संसदीय चुनावमा पनि यही गठबन्धन कायम हुँदा आफू कमजोर भइने डरले एमाले जसरी हुन्छ माओवादी र कांग्रेसलाई मिल्नै नदिने रणनीतिमा उत्रेको बताईन्छ ।

एमाले अध्यक्ष ओलीले प्रचण्डको नाममा सहमति हुँदैन भने कांग्रेसकै रामचन्द्र पौडेलको नेतृत्वमा भए पनि सहमतिको सरकार बनाउन सकिने बताएका छन् । सत्ता र शक्तिका लागि देउवा जे पनि गर्न तयार हुन्छन् भन्ने डर एमालेमा देखिन्छ । तसर्थ कहिले प्रचण्ड त कहिले रामचन्द्रले नेतृत्व गर्न सक्छन् भनेर एमालेले सर्त पसारेर समय लम्बाउँदै छ ।

सहमतीय सरकार गठन हुन सकेन भने ३१ जेठको निर्वाचनसम्म देउवालाई रोक्न सके उनीबाट हुने शक्तिको दुरुपयोगले निर्वाचनमा आफूहरु कमजोर बन्न सक्ने डरको अन्त्य हुने बुझाई पनि एमालेमा रहेको बुझिएको छ । सत्ताका खेलाडी देउवाले राज्यसत्ताको प्रयोग गर्दा दोस्रो चरणको निर्वाचनको परिणामप्रति नै एमालेको डर र आशंकाका कारण जसरी पनि देउवालाई रोक्न एमाले लागिपरेको देखिन्छ । ***

तपाईको प्रतिक्रिया