Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

बारपाक – ‘गोरखा भूकम्प’को केन्द्र गोरखाको सुलिकोट गाउँपालिका–२ स्थित बारपाकमा कृषि उपज सङ्कलन केन्द्र निर्माण गरिएको छ । केयर नेपालले स्वाँरा सघन गाउँ विकास केन्द्रको सहकार्यमा खाद्य सुरक्षा तथा जीविकोपार्जन कार्यक्रमअन्तर्गत रु १५ लाख २४ हजार सात सय ६७ लगानी गरी भवन निर्माण गरेको हो ।

केयर नेपालका खाद्य सुरक्षा तथा जीविकोपार्जन अधिकृत लेखनाथ अधिकारीले कृषि उपज सङ्कलन गरी केन्द्रमा भण्डारण गर्ने र बजारीकरण गर्न सहज भएपछि यहाँका किसान खुसी भएको बताउनुभयो । भूकम्पपछि भूकम्पपीडितको जीविकोपार्जनमा सुधार ल्याउन तरकारीका बीउ वितरण गर्नेदेखि बेमौसमी तरकारी खेतीका लागि टनेललगायत सहयोग गरिएको केयरले जनाएको छ । यस्तै केयरले स्वाँरा सघन गाउँ विकास केन्द्रको समन्वयमा धार्चे गाउँपालिका–५ गुम्दामा आलुको बीउ भण्डारण गर्ने रस्टिक स्टोर भवन पुनर्निर्माण गरेको छ ।

जिल्ला कृषि विकास कार्यालयसँग समन्वय गरी निर्माण गरिएको भवनमा आलुको बीउ भण्डारण गर्ने बताइएको छ । रु १२ लाख ७८ हजार दुई सय ७१ लगानी गरी भवन पुनःर्निर्माण गरिएको केयर नेपालका गोरखास्थित प्रमुख माधव ढकालले जानकारी दिनुभयो । आलु उत्पादनको पकेट क्षेत्रमा गुम्दा पर्छ । गुम्दामा बर्से्नि आलु उत्पादन भए पनि बर्खाका बेला पहिरोले कच्ची सडक अवरुद्ध गर्दा बजारीकरणमा समस्या हुँदै आएको आलु उत्पादक कृषि सहकारी संस्थाका अध्यक्ष कर्ण माइला गुरुङले बताउनुभयो । रस्टिक स्टोर सञ्चालनमा आएपछि आलुको बीउ भण्डारणमा सहज हुने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत यामकुमार श्रेष्ठले बताउनुभयो ।

गुम्दामा चार सय रोपनी क्षेत्रफलमा आलु खेती हुँदै आएको छ । स्थानीय शिक्षक सुनिल गुरुङले बीउ, आलु र तरकारी खाने आलु भण्डारण गर्ने बेग्लाबेग्लै भवन आवश्यक परेको बताउनुभयो । रस्टिक स्टोरमा भण्डारण गरेको बीउ आलु बेचेर किसानले फाइदा लिन सक्ने उहाँको भनाइ छ ।  केयरले गुम्दामा अलैँची खेती विस्तारका लागि ३० हजार अलैँचीका बिरुवा वितरण गरेको छ ।

यस्तै अलैँची सिँचाइका लागि रु छ लाख बजेट विनियोजन गरी पाइपमार्फत पानी ल्याएर अलैँची सिँचाइ गरिने बताइएको छ । स्वाँरा सघनका कार्यकारी निर्देशक सीताराम श्रेष्ठले आलु बेचेरै गुम्दाका किसानले जीविकोपार्जनमा सुधार ल्याउनसक्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया