काठमाडौं – डेढ करोड लगानी गर्दा ३५ करोड आम्दानी हुने प्रलोभनमा पोखराका बेलबहादुर गुरुङ लोभिए । तर, त्यो वास्तविकता नभई ठगको जालमात्र थियो भन्ने गुरुङले पत्तै पाएनन् । एक महिनामै ३५ करोड कमाउन खोज्दा उनले दुई करोडको घर गुमाएका छन् ।
दक्षिण कोरियामा १७ वर्षदेखि काम गर्दै आएका गुरुङले विदेशकै कमाइले पोखरामा घर किनेका थिए । तर, रातारात करोडौँ कमाउन खोज्दा एकैपटक उनको वर्षौँको कमाइ गुमेको हो । ८६ करोड रुपैयाँको चिट्ठा परेको भन्दै एक युवकले उनको एक करोड ४२ लाख रुपैयाँ ठगी गरेका हुन् । उनको दुई करोड पर्ने घरसमेत अर्कैको हातमा पुगेको छ ।
लमजुङ घर भई महाराजगन्ज बस्ने सोयम ‘यमराज’ गुरुङले आफूलाई ८६ करोडको चिट्ठा परेको र त्यसको ३५ करोड रुपैयाँ दिने भन्दै उनको घरसमेत बेच्न लगाएर एक करोड ४२ लाख रुपैयाँ ठगी गरेका हुन् । सोयमलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।