काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आवधिक निर्वाचन नागरिकको अधिकार भएकाले त्यसलाई कुण्ठित नगर्न दलका नेताहरूलाई सुझाव दिनुभएको छ ।
संसदमा रहेका सात दलका नेतालाई सोमबार संयुक्त रूपमा शीतलनिवास बोलाएर राष्ट्रपतिले भन्नुभयो, ‘निर्वाचनले मुलुकलाई अगाडि बढाउने भएकाले यसको कुनै विकल्प छैन । आवधिक निर्वाचन नागरिकको अधिकार हो, यो कुण्ठित हुनु हुँदैन ।’
शीतलनिवासमा सोमबार अपराह्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपा अध्यक्ष कमल थापा, संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) अध्यक्ष विजयकुमार गच्छदार र तमलोपा अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेताको उपस्थितिमा लिखित सम्बोधन गर्दै राष्ट्रपतिले भन्नुभयो, ‘निर्वाचन प्रक्रिया पूरा गर्ने दायित्व आकस्मिक आइलागेको नभई संवैधानिक व्यवस्थाअनुरूप भएको हो ।’
जनताद्वारा निर्वाचित संविधानसभाले लोकतान्त्रिक विधिबाटै संविधानवाद, बहुदलीयता, कानुनी शासन, मानवअधिकारलगायत लोकतन्त्रका मूलभूत मान्यता आत्मसात गर्दै नेपालको संविधान २०७२ लागू भएको स्मरण राष्ट्रपतिले नेताहरूलाई गराउनुभयो ।
संविधानको सम्मान र संरक्षण गर्दै संवैधानिक विकासमा थप योगदान र्पुयाउनु तथा राजनीतिक स्थायित्व, शान्ति र विकासको प्रवद्र्धनका लागि दत्तचित्त रहनु सबै लोकतान्त्रिक राजनीतिक दलको सर्वोपरी दायित्व हुनुपर्ने उहाँले बताउनुभयो ।