काठमाडौं – नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले तत्कालीन विद्रोहीको उदारताको फाइदा कांग्रेस र एमालेले उठाएको आरोप लगाउँदै अब एकीकृत जनक्रान्तिमार्फत् त्यसको जवाफ दिने चेतावनी दिनुभएको छ ।
सशस्त्र युद्ध थालेको २२ औं वर्षगाँठमा आइतबार राजधानीमा आठौं महाधिवेशन उद्घाटन गर्दै चन्दले त्यस्तो घोषणा गर्नुभएको हो । उहाँले एकीकृत जनक्रान्तिको स्वरुप स्पष्ट पार्नुभएन, बरु आवश्यक परे ‘राइफल र जिपिएमजी बोक्न तयार हुनुपर्ने’ जिकिर भने गर्दै रहनुभयो ।
‘माओवादीको आह्वानमा झुपडीको गरिबले काठमाडौंको दरबार ढाल्यो, केन्द्रको सत्तालाई घेराबन्दी गरेर यहाँ आइपुगेका थियौं, तर हामी उदार भइदिदा त्यसको फाइदा कांग्रेस र एमालेले लिए,’ चन्दले भन्नुभयो, ‘हामी हारेर आएका थिएनौं, तर बालुवाटार, लैनचौर, भट्टी पसलहरुबाट हाम्रै साथीहरुमा किटाणु पस्यो, तर हामी डलर र भारुबाट संक्रमित हुँदैनौं ।’
चन्दले केही नेतालाई किनेर, लोभ देखाएर माओवादी आन्दोलन सिध्याउने सपना नदेख्न चेतावनी समेत दिनुभयो ।