काठमाडौं – जय नेपाल नगरेको झोकमा प्युठान प्रहरी प्रमुखले जिल्लामा कार्यरत एक ट्राफिक प्रहरी हवल्दारलाई कुटपिट गरेका छन् । जिल्ला प्रहरी कार्यालयको हिरासतमा चार घण्टा राखेर आफूलाई कुटेको पीडित हवल्दारले बताए ।
सोमबार दिउँसो बिजुवारको क्वाडीमा ड्युटीमा रहेका अस्थायी प्रहरी पोष्ट बिजुवारका प्रहरी हवल्दार त्रिचन्द्र डिसीलाई जिल्ला प्रहरी प्रमुख रञ्जीतसिंह राठौरले कुटपिट गरेको हवल्दार डिसीले बताए । ट्राफिकको युनिफर्ममै हत्कडी लगाएर चार घण्टा हिरासतमा राखी आफूलाई मरणासन्न हुने गरी कुटपिट गरेको डिसीले जानकारी दिए । ‘म र एकजना भाइ क्वाडीमा नियमित चेकिङमा थियौं ।
एक छेउमा जरिवाना काटिरहेको थिएँ । त्यही बेला प्रहरी प्रमुख र डिएसपीसाप आउनु भएछ । काममा भएकोले देखिँन । अर्को भाइ सडकमै थियो उसले देखेछ । मैले नदेखेकोले जय नेपाल गर्न सकिनँ । पछि त्यही निहुँ बनाएर मलाई जिल्ला प्रहरीमा बोलाई कुटपिट गरे’ उनले भने । डिएसपी राठौरको कुटाइबाट प्रहरी हवल्दार डिसीको बाँया हातमा निलडाम हुने गरी चोट लागेको छ ।
डिसीले डिएसपीको निर्देशनमा हतकडी लगाएर नै अस्पताल लगेर उपचार गराइएको बताए । डिसीले आफूमाथि डिएसपी राठौरले गरेको कुटपिटबारे राप्ती अञ्चल प्रहरी प्रमुखलाई जानकारी गराएको बताए । तर, डिएसपी राठौरले भने अनुशासनहिन काम गरेकाले कार्यालयमा बोलाएर सामान्य सोधपुछमात्रै गरेको बताए ।