काठमाडौ – भारतको कर्नाटक विधानसभाले आयोजना गरेको महिला सांसद सम्मेलनमा सहभागी हुन अन्तिम तयारी गरिरहेका १५ नेपाली महिला सांसदको टोलीलाई उक्त अवसरमा तिब्बती शरणार्थी नेता दलाइ लामा पनि उपस्थित हुने जानकारी पाएपछि सभामुख ओनसरी घर्तीमगरले भ्रमण रोक्न निर्देशन दिनुभएको छ ।
कर्नाटक प्रान्तीय विधानसभाले सभामुख घर्तीमगरसहित सांसदहरूलाई उक्त कार्यक्रममा सहभागिताका लागि निमन्त्रणा गरेको थियो । सभामुख घर्तीमगरले आफू उपस्थित हुन नसक्ने भन्दै विभिन्न दलका १५ जना सांसदलाई उक्त कार्यक्रममा पठाउने तयारी गर्नुभएको थियो ।
तर भारतस्थित नेपाली राजदूत र आयोजकसँग बुझ्दा उक्त कार्यक्रममा दलाइ लामा र उहाँका प्रतिनिधि उपस्थित हुने जानकारी पाएपछि सभामुख घर्तीमगरले सांसदहरूलाई पनि नपठाउने निर्णय गरेको संसद् सचिवालय स्रोतले बतायो ।
कर्नाटक विधानसभाद्वारा आमन्त्रण गरिएको उक्त कार्यक्रममा सांसदहरूको सहभागिताका लागि कांग्रेसका स्वर्गीय नेता सुशील कोइरालाका नाममा स्थापित ‘सुशील कोइराला फाउन्डेसन’ का सचिव अतुल कोइरालाले संसद् सचिवालय र सभामुख घर्तीमगरको निजी सचिवालयसँग संयोजन गर्नुभएको थियो ।
तर सम्मेलनमा दलाइ लामा उपस्थित हुनेबारे कोइरालाले केही पनि उल्लेख नगरेपछि सभामुख घर्तीमगरले कांग्रेस, एमाले, माओवादी केन्द्र र अन्य दलका प्रमुख सचेतकसँग छलफल गरी त्यहाँ पठाउने १५ जना सांसदको नाम तय गर्न लगाउनुभएको थियो ।