Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

प्रबल गुरुङ
विश्वको फेसन डिजाइनमा प्रवलको उपस्थितिले पूर्वीय एकाधिकार तोडेको छ । काठमाडौंको सेन्ट जेभियर्सबाट एसएलसी पास गर्नुभएका प्रबलले दिल्लीमा फेसन डिजाइनर अध्ययन गर्नुभएको हो । नेसनल काउन्सिल अफ होटेल म्यानेजमेन्ट कलेजमा पढ्न मुम्बई जानुभएका प्रबलले पछि दिल्लीको नेसनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीमा डिजाइनको कोर्स गर्नुभएको थियो ।

त्यसपछिको केही समय उहाँले दिल्लीका केही संस्थाहरूमा मनीष अरोरासँग डिजाइनमा सहकार्य गर्नुभएको थियो । सन् १९९९ मा न्युयोर्कको बाटो तय गरेपछि उहाँको जीवन नै परिवर्तन भयो । विभिन्न संस्थामा इन्टर्न्सिप गर्दै र विभिन्न व्यक्तिसँग सहकार्य गर्दै उहाँले सन् २००९ मा न्युयोर्कमा एकल फेसन विक र २०१० मा पहिलोपटक रनवे सोसमेत गर्नुभयो । सन् २०११ देखि प्रबलले शिक्षा फाउन्डेसन नेपाल नामक संस्था सञ्चालनमा ल्याउनुभएको थियो ।

विश्व फेसनको प्रतिष्ठित संस्था फेसन ग्रुप इन्टरनेसनलले प्रबललाई नाइट्स अफ स्टार्स सम्मान दिएको छ । उहाँलाई अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले पनि सम्मान गरेको थियो । उहाँका अधिकांश डिजाइनमा नेपाली संस्कृतिको समेत सम्मिश्रण छ ।

सञ्जिता प्रधान
अमेरिकी राष्ट्रपति बाराक ओबामाले २०१५ मेमा सञ्जिता प्रधानलाई आफ्नो एसियन, अमेरिकन तथा प्यासिफिक आइल्यान्डरसम्बन्धी सल्लाहकारमा नियुक्त गर्नुभयो । प्रधान पति र छोरासहित सन् २००६ मा अमेरिका जानुभएको थियो । संखुवासभाको चैनपुरमा जन्मिएकी सञ्जिताले धरान विजयपुर बोर्डिङ स्कुलबाट एसएलसी पास गर्नुभएको थियो । कृषि क्याम्पस रामपुर चितवनबाट बिएस्सी–एजी सकेपछि उहाँले भारतबाट एमबिए सक्नुभयो ।

त्यसपछि जिटिजेडमा काम गर्नुभयो । अमेरिका पुगेपछि प्रधान बैंकमा कस्टुमर सेल्स रेप्रेजिन्टेटिभ र फाइनान्सियल फर्म मार्के्टिङको जागिर छाडेर रिफ्युजी सर्भिस अर्गनाइजेसनमा स्वयंसेवकका रूपमा समेत काम गर्नुभएको थियो ।

लुजेन्द्र ओझा
सन् १९९० मा काठमाडौंमा जन्मिनुभएका ओझाले लैनचौरको योघारी हाइयर सेकेन्डरी स्कुलमा चार कक्षासम्म अध्ययन गर्नुभएको थियो । उहाँले ज्ञानेश्वर पब्लिक स्कुलमा पनि अध्ययन गर्नुभएको थियो ।

सन् २००५ देखि अमेरिका बस्दै आउनुभएका उहाँकोे पुख्र्यौली घर भने डोटीको महादेवस्थान हो । लुजेन्द्रका बुबा टंक ओझासमेत वैज्ञानिक हुनुहुन्छ । एरिजोनाबाट विद्यावारिधि गरेसँगै टंकलाई वैज्ञानिकका रूपमा अनुबन्धित गरेको थियो । लुजेन्द्रले पनि एरिजोनाबाटै प्लानोटरी साइन्स र जियो फिजिक्सबाट ब्याचलर गर्नुभएको थियो ।

सन् २००७ देखि २०११ सम्म एरिजोनामा पढेपछि उहाँले जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजीबाट प्लानोटरी साइन्स र भोन्कानोलोजीबाट विद्यावारिधि गर्नुभयोे । सन् २०१६ देखि उहाँ जोन्स हकिङ विश्वविद्यालयमा ब्लास्टेन पोस्ट डक्टरल फेलो हुनुहुन्छ ।

डा. कुमुद धिताल
संसारमा पहिलोपटक मृतकको मुटु झिकेर प्रत्यारोपणको शल्यक्रिया डा. कुमुद धितालले गर्नुभयो । अस्ट्रेलियाको सिड्नीस्थित सेन्ट भिन्सेन्ट अस्पतालमा कार्यरत डा. धितालले सन् २०१४ मा तीन मुटु तीनजना बिरामीमा प्रत्यारोपण गर्नुभयो ।

त्यसपछि उहाँले विश्वभर चर्चा मात्र कमाएनन् नेपालीको शिरसमेत उचो बनाउनुभयो । सिड्नीकै ५७ वर्षीया मिसेल ग्रिबिलास र ४० वर्षीय जेन डामेनमा उहाँले मुटुको सफल प्रत्यारोपण गर्नुभएको थियो ।

आधा घन्टा पहिले चल्न बन्द भएको मुटुलाई पुनः परिचालित र प्रत्यारोपण गर्न सेन्ट भिन्सेन्ट अस्पताल र ‘भिक्टर चाङ कार्डियाक रिसर्च इन्स्टिच्युट’का अनुसन्धाताले सघाएका थिए । त्यसअघि ब्रेन डेथ भएकाहरूको मुटु मात्र प्रत्यारोपण हुँदै आएको थियो ।

गोर्खा खरिबोटका विष्णुप्रसाद र लक्ष्मी धितालका पुत्र कुमुदको जन्म इटालीमा भएको हो । विष्णुप्रसाद राष्ट्रसंघीय खाद्य तथा कृषि कार्यक्रममा जागिरेका रूपमा इटली जानुभएका वेला कुमुद जन्मिनुभएको हो । विष्णुप्रसाद वि.सं. २००१ को एसएलसी बोर्डटपर हुनुहुन्थ्यो ।  नेपालको सेन्ट जेभियर्समा सात वर्ष पढ्नुभएका कुमुदले इटालीपछि बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा मेडिकल साइन्स पढ्नुभयो ।

उहाँले सन् २००० मा लन्डन विश्वविद्यालयबाट मस्तिष्क नसाको उपचार विषयमा पिएचडी गर्नुभएको थियो । क्याम्ब्रिज विश्वविद्यालयबाट मुटुको शल्यक्रियासम्बन्धी ट्रान्सप्लान्ट फेलोसिप (एफआरसिएस) गरेका उहाँले अमेरिका र लन्डनमा पनि काम गर्नुभएको थियो ।

अहिले उहाँ अस्ट्रेलियाको सेन्ट भिन्सेन्ट्स अस्पतालमा कार्डियोथोरासिक सर्जन हुनुहुन्छ । कुमुद युनिभर्सिटी अफ न्यु साउथ वेल्सका एसोसिएट प्रोफेसर र भिक्टर च्याङ कार्डियाक रिसर्च इन्स्टिच्युटका फ्याकल्टी मेम्बरसमेत हुनुहुन्छ ।

अनिश गिरी
नेपाली बुबा सञ्जय गिरी र रसियन आमा ओल्गाबाट २८ जुन १९९४ मा रसियामा जन्मिनुभएका अनिश गिरीले पटक–पटक विश्व चेस च्याम्पियन उपाधि जित्नुभएको छ । उहाँले १४ वर्षकै उमेरमा ‘ग्रान्ड मास्टर’को उपाधि पाउनुभएको थियो ।

अनिश बाबुआमासँगै सन् २००२ मा जापानको सापोरामा जानुभयो र २००८ सम्म बस्नुभयोे । रसियामा छँदा नै उहाँ १४ वर्षमुनिको रसियन हाइयर लिगमा च्याम्पियन हुनुभएको थियो । त्यसपछि उहाँको परिवार नेदरल्यान्डमा बस्न थाल्यो ।

वल्र्ड चेस च्याम्पियन २०१० मा चौथो हुनुभएका गिरी २०१३ को वल्र्ड चेस च्याम्पियनसिपमा पहिलो हुनुभयो । अनिश सन् २०१२, २०१४ र २०१६ को ओलम्पियाडमा लगातार पहिलो हुनुभएको थियो । उहाँ सन् २०१२ को वल्र्ड सिटिज च्याम्पियनसिपमा र सन् २०१३ को युरोपियन च्याम्पियनसिपमा पनि पहिलो नै हुनुभयो ।

तपाईको प्रतिक्रिया