नयाँदिल्ली – भारतमा गरिएको नोटबन्दीपछि सर्वसाधारणको बैंक खातामा करोडौं रुपैयाँ जम्मा हुन थालेको छ ।
कालोधन नियन्त्रणका लागि भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले गत नोभेम्बर ८ मा ५ सय र १ हजार दरका नोट नचल्ने घोषणा गरेपछि कालोधन लुकाउनका लागि बैंकसँगको मिलेमतोमा यसरी सर्वसाधारणको बैंक खातामा करोडौं रुपैयाँ जम्मा हुन थालेको छ।
यस्तै घटना भारतको मैनपुरीमा सार्वजनिक भएको छ । त्यहाँकी एक महिला प्रहरी जवानको बैंक खातामा अचानक करिब एक सय करोड रुपैयाँ जम्मा भयो । यसरी आफ्नो खातामा एक सय करोड रुपैयाँ जम्मा भएपछि ती महिला आश्चर्यमा परिन् । उनले सो जानकारी प्रधानमन्त्री नरेन्द्र मोदीलाई गराएकी छन् ।
उनी आफ्नो खातबाट पैसा निकाल्न डिसेम्बर १४ तारिखमा स्थानीय बैंक एटीएममा पुगेकी थिइन् । पैसा निकालेपछि एटीएमबाट आएको रसिदमा उनको खातामा ९९ करोड ९९ लाख ९७ हजार ९७७ रुपैयाँ ५८ पैसा रहेको उल्लेख थियो । उनी यो देखेपछि चकित परिन् ।
आग्रा घर भएकी रेखा रजौरियाको बैंक खातामा यती धेरै रकम जम्मा भएको हो । उनले वषौं अगाडि आग्रामा रहेको एसबीआई बैंकको शाखामा खाता खोलेकी थिइन् ।
उनी स्थानीय एसपीको नेतृत्वमा कालोधन नियन्त्रणका लागि बनेको विशेष टोलीमा परिचालित थिइन् । उनले यसबारेमा स्थानीय प्रहरी प्रमुखलाई जानकारी दिइन् ।