मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

चितवन – राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित प्रतियोगितात्मक बाल कवि सम्मेलनमा देवघाट स्थित परमानन्द संस्कृत गुरुकुलमका संयोग बस्याल प्रथम हुनुभएको छ ।

सिनर्जी एफ एफ ९१ दशमलव ६ मेघाहर्जले आयोजना गरेको उक्त सम्मेलनमा बेदबेदाङग मावि देवघाटका शिशिर पोख्रेल द्धितिय र एसओएस हर्मन माइनर भरतपुर ८ का वर्षा कडेल तृतिय हुनुभएको छ । सान्त्वना स्थान भने सिताराम मावि देवघाटका सरिता विकले हासिल गर्नुभयो ।

विजयीहरुलाई एफएमका स्टेसन म्यानेजर अमर प्रधान र कार्यक्रम संयोजक रामकान्त पौडेलले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगिताको निर्णायकमा कवि मनोज भण्डारी र एफएमका स्टेसन म्यानेजर प्रधान हुनुहुन्थ्यो ।

यसअघि भएको उद्घाटन समारोहमा कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका चितवनका जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यले बालअधिकारको सम्बद्र्धन तथा संरक्षणमा रेडियोहरुको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । सिनर्जी एफएमले आयोजना गरेको प्रतियोगितात्मक बाल कवि सम्मेलनको प्रशंसा गर्दै उहाँले यस्ता कार्यक्रमले बालबालिकाहरुलाई श्रृजनात्मक बनाउने धारणा राख्नुभयो ।

यस्तै एफएमका प्रवन्ध निर्देशक सहन प्रधानले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनको माध्यम बनेको सिनर्जी एफएमले बर्सेनि बाल कवि सम्मेलन गर्दै आइरहेको जानकारी दिनुभयो । कार्यक्रमले विद्यार्थीहरूको अभिव्यक्ति कलालाई उजागर गर्न मद्धत पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगितामा विभिन्न विद्यालयका ६० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया