टर्की – टर्कीमा विद्रोह गरी कूको प्रयास गरेका १ सय ६१ सैनिक मारिएका छन् । १४ सय ४० जना घाइते भएका छन् । यस्तै २८ सय ३९ सैनिक पक्राउ परेको समाचार संस्था एएफपीले जनाएको छ ।
शुक्रबार बेलुका सेनाले कू गरेपछि राष्ट्रपति रिसेप तैयप एर्डोगेनप्रति बफादार सुरक्षाकर्मीले कूमा संलग्न सैनिकलाई पक्राउ गर्न सुरु गरेको छ । पक्राउ पर्नेमा २९ जना कर्नेल र पाँच जर्नेल गरी ३४ जना सैनिक अधिकृत छन् । कसको नेतृत्वमा कूको प्रयास भएको भन्ने अझै बाहिर आएको छैन ।
यस्तै केही सैनिक हेलिकोप्टर मार्फत ग्रिसमा शरण माग्न गएको एएफपीले जनाएको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगेनले सैनिक विद्रोहलाई नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । राष्ट्रपति तैयप विदामा बसेको समयमा सेनाको एक समूहले देशको शासन व्यवस्थालाई नै नियन्त्रणमा लिने प्रयास गरेको हो ।
झण्डै १३ वर्षदेखि टर्कीमा शासन गरिरहेका राष्ट्रपति तैयपका विरुद्धमा टर्कीमा विद्रोहको आवाज उठेको थियो । यसै कारण पछिल्लो समयमा विभिन्न आन्दोलन सुरु भएका थिए । शुक्रबार राति टर्कीको सैनिक दुई भागमा बाँडिएर यस्तो कू को प्रयास भएको हो ।
राष्ट्रपति तैयपले पछिल्लो समयमा आतङ्कवादीहरुले आक्रमण सुरु गरेको समयमा देशभित्रै यस्तो विद्रोह हुनु दुःखद भएको बताएका छन् । शुक्रबार राति इस्तानबुल र अङ्कारामा सयौँको सङ्ख्याका सैनिक सडकमा ओर्लिएका थिए ।
उनीहरुले सरकारी सेनासँग भिडन्त पनि गरेका थिए । सरकारले इस्तानबुल र अङ्कारामा कफ्र्यू लगाएको छ । कफ्र्यूका बाबजुद पनि राष्ट्रपति तैयपको राजनीतिक दलका समर्थकहरुले कूको विरुद्धमा सरकारको समर्थनमा जुलुश निकालेको समाचार संस्था एएफपीले जनाएको छ ।