काठमाडौँ – सङ्घीय गठबन्धनले संविधान संशोधन लगायत विभिन्न माग राखी जारी राखेको रिले अनशनको सरकारले कुनै सुनुवाइ नगरेको भन्दै आपत्ति जनाएको छ ।
गठबन्धनका तर्फबाट प्रवक्ता ओम गुरुङले शुक्रवार जारी गरेको प्रेस विज्ञप्तिमा शान्तिपूर्ण आन्दोलनको माग सुनुवाइ नगर्नु लोकतन्त्र र संविधानकै खिलाफको काम भएको बताइएको छ । विभिन्न २६ बुँदे माग राखी गत जेठ २५ गतेदेखि गठबन्धनले सुरु गरेको तेस्रो चरणको आन्दोलन अन्तर्गतको ३९ दिने ‘रिले अनशन’ को शुक्रवार बत्तिसौँ दिन पूरा भएको जनाइएको छ । अनशनमा विभिन्न राजनीतिक दल सम्बद्ध ३३ जनाको सहभागिता थियो ।
सांस्कृतिक कार्यक्रमअन्तर्गत अनशनस्थलमा विविध पहिचान, देशभक्ति तथा जागरणमूलक गीत, कविता, नृत्य प्रस्तुत गरिएका थिए । अनशनस्थलमा नयाँ शक्ति नेपालका नेता रामेश्वर खनाल, सुनुवार सेवा समाज केन्द्रीय समितिका अध्यक्ष सहितका प्रतिनिधि, मधेस समता पार्टी नेपालका अध्यक्ष बेचन मुखिया लगायतले अनशनस्थल खुलामञ्च पुगी आन्दोलनप्रति समर्थन र ऐक्यबद्धता जनाउनुभएको थियो ।