आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024
                                                                                  रिजन श्रेष्ठ 
बाहिरबाट जतिसुकै बलिस्ठ देखिएपनि
भित्रबाट मेवाको रुख झै खोक्रो
उहिलेका बिक्रम ट्याम्पु झै थोत्रो
पानीले बर्सौ भिजेको काठ झै मक्किएको
कमेरोले लिप्न छाडेको घर झै उक्किएको
भुइँचालोले भत्किएको
बाङिएको
टिङिएको
यस्तै छ मेरो देश !
बिदेशीले तँ गरीब भनेर हेप्दा
हाम्रो रेस्टुरेन्टको मेनु खिस्स हास्छ
टलक्क टल्कने मार्बल ओछ्याएको भुइँमा
बिदेशी पाहुना उत्तानो पर्दा
मनमनै खै के सोच्छ ?
तर,
बाहिर हाइबेको ठुल्ठुला प्वालले
हाम्रो धरातल सम्झाइदिन्छ
बाटोमा दिनहु हुने जामले
हाम्रो वास्तविकता अौलाइदिन्छ
आखिर जतिसुकै सजाउन
भत्केको घरको कोठा
त्यसले दिने आनन्द
केटाकेटीले खेलाउने साबुनको रङिचङी फोका झै
क्षणिक हुन्छ, झुटो हुन्छ l
हो यस्तै झुटो आनन्दमा रमाउने
बानी परेको छ हामीलाई
बानी पारेका छौ हामीले
आफन्तले गर्छ, म किन नगरुँ ?
पहाडको टुप्पोमा उभिएकाले भन्छ
हेर मैले चन्द्र छोएँ
अनि हामी सबै दौडन्छौ ऊ भएतिर
चन्द्र छुने लोभमा
छिमेकीले गर्छ, म किन नगरुँ ?
हो यस्तै म्याराथोनमा निस्केका छौं हामी
फरक यति हो
कोही गाडी लिएर निस्कनछन्
कोही मोटरसाइकल, कोही साइकल त
कोही खाली खुट्टै ठीक
दौडनु छ हामीलाई
गन्तब्य थाहा छैन
तर बडो हतार छ
बस यति थाहा छ
यताभन्दा उता जाती छ
छिमेकीले पत्याउछ, म किन नपत्याऊ ?
लाइन ठ्याक्कै टाइमै जान्छ
कहिले काहीँ लाइन आउँदा मात्र
पानी ट्यान्कीमा चढ्छ
लाईफ लाइन बिनाको लाईफ
तैपनि सबै खुशी छन्
भत्केको घरको कोठा
सजाउदै दंग छ्न्
कसैलाई कोठा पुगेकै छैन
अझै थप्नुछ
सबैको साझा घरको चिन्ता छैन
आफ्नो कोठा राम्रै छ
तर,
बर्ष दिन अगि भुइँमा जोतिन पुगेका
अझै उस्तै मन्दिरका छत र टुडालले
हाम्रो धरातल सम्झाइदिन्छ
सार्वजनिक बस र शौचालयहरुले
हाम्रो वास्तविकता अौलाइदिन्छ
गजब लाग्छ
देश आँफै चलेको छ कि
कसैले चलाएको छ ?
कि कतै टेकोमा त अडेको छैन ?
मन्दिरको टेको भए पो देखिन्छ !!
                                     हाल : टोक्यो
तपाईको प्रतिक्रिया