निर्वाचन भने आउंदो ६ तारिख हुने
टोकियो – एनआरएन जापानको सातौं अधिवेशन आइतवार टोकियोमा सम्पन्न भएको छ । अधिवेशनको प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईले रिबन काटेर उदघाटन गर्नुभयो ।
एनआरएन जापानका अध्यक्ष पारसमणि पोखरेलको सभापतित्वमा भएको अधिवेशनमा प्रवक्ता सन्देश पोखरेलले स्वागत मन्तब्य दिनुभएको थियो ।
राष्ट्रिय गानबाट शुरु भएको समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै राजदूत डा. भट्टराईले अधिवेशन सफलताको कामना गर्नुका साथै पुरानो कार्यसमितिलाई बधाई र नयाँ बन्न गईरहेको कार्यसमितिलाई शुभकामना ब्यक्त गर्नुभएको थियो । यसैगरी बिशेष अतिथिहरुमा एनआरएन आइसीसीका उपाध्यक्ष भवन भट्ट, आइसीसी एशिया प्यासिफिक क्षेत्रीय समितिका संयोजक गंगा राई, उपसंयोजक रोविन्दप्रसाद श्रेष्ठ (गोविन्द) ले एनआरएन अभियानमा जापानले खेल्खै आएको भूमिकाबारे चर्चा गर्दै अधिवेशन सफलताको कामना गर्नुभएको थियो । यसैगरी कार्यक्रममा आइसीसीका सदस्यहरु ओम गुरुङ, भूषण घिमिरे र रोशन केसीले पनि बोल्नुभएको थियो ।
यसैगरी कार्यक्रममा नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष अरुणकुमार श्रेष्ठ, नेपाली प्रवासी मञ्च जापानका अध्यक्ष कृष्ण खड्का, नेपाली जनसम्पर्क समिति जापानका अध्यक्ष नारायणप्रसाद सुवेदी, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, निर्वाचन कमिटीका सदस्य सोनाम शेर्पा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
समारोहमा अध्यक्षका उम्मेदवारहरु किरणबिक्रम थापा, चिरञ्जिवी थापा, सुदन थापा र नरबहादुर थापाले पनि आ-आफ्ना चुनावी मन्तब्य दिएका थिए ।
कार्यक्रमको अन्तमा उपाध्यक्ष तुल्सीराम खरेलले धन्यबाद मन्तब्य दिनुभएको थियो भने समारोहका सभापति पोखरेलले अधिवेशन उदघाटन सत्रको समापन गर्नुभएको थियो ।
त्यसपछि एशिया प्यासिफिक क्षेत्रीय समितिका संयोजक राईको संयोजनमा, महेशकुमार श्रेष्ठ र शदकुमार गौचन अध्यक्ष मण्डल रहेको बन्द सत्रमा महासचिव मुक्तिराम खनाल ‘बिनोद’ले प्रस्तुत गरेको कार्यप्रगति प्रतिबेदन र कोषाध्यक्ष दिपक थापाले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन पारित गरिनुका साथै बिधान संशोधन प्रक्रियाकाक्रममा हलबाट आएका सुझावहरुलाई समेट्दै सामान्य संशोधनसहित बिधान पारित गरिएको थियो ।
एनआरएन जापानको साँतौ अधिवेशन आइतवार सम्पन्न भएता पनि अधिवेशनले चयन गर्ने नयाँ कार्यमितिको गठनका लागि भने आउँदो ६ तारिख क्षेत्रगत आधारमा निर्वाचन हुने भएको छ ।***