मुलुकमा नसोचेको बिपत्ति आइलागेको छ । यो हाम्रो पुस्ताका लागि चुनौती र अवसर दूवै हो । यो समयमा हाम्रो पुस्ताले मुलुकका लागि त्याग र समर्पण देखाउने बेला आएको छ । बिशेषगरी बिदेशमा बस्ने झण्डै आधा करोड नेपाली अब मुलुकलाई नयाँ शिराबाट माथि उठाउन जुरुक्कै उठ्न जरुरी छ । बिदेशको सफा, चिल्ला एवं सुकिला-मुकिलामा रमाउँदै कोठे भेला र ओठे भाषणमा नेताहरुलाई सराप्दै देश बनाउने आदर्शका कुरा गरेर बस्ने बेला अब रहेन । अब जुनसुकै हालतमा प्रवासका ऊर्जाशील युवाहरु स्वदेशफिर्ती अभियानमा जुट्नुपर्छ । यो बेलामा रमिते बनेर बस्ने जो कोही सन्तानलाई रोईरहेकी नेपाल आमाले अवश्य सराप्नेछिन् ।
मुलुकमा राजनैतिक संक्रमण त छँदैथियो त्यसमाथि प्राकृतिक बिपत्तिले मुलुक थलिएको छ । जनजीवनमा त्रास र अभावले एकैचोटी गाँजेको छ । यतिबेला सरकार र राज्यले मात्रै चाहेर पनि केही गर्न सक्दैन । चेतनशील जनता जनस्तरबाटै उठ्नुपर्छ । राज्य र जनता एकै ठाउँमा उभिएर सिंगो मुलुकलाई नयाँ ढंगले उठाउने स्पष्ट खाका कोरिनुपर्दछ । हजारौंको ज्यान जाने गरी गएको शृङ्खलाबद्ध महाभूकम्पले नेपालभूमिलाई एउटा अवसर पनि दिएको छ यो अवसरलाई सहि उपयोग गर्न राजनीति क्षेत्रलाई मात्रै सुम्पिनु महाभुल हुने छ । अब जाग्ने भनेको सचेत जनता हो, विद्वत समाज हो, नागरिक समाज हो र ऊर्जाशील युवा जमात हो, जुन वर्गको ठूलो हिस्सा अहिले बिदेशमा भुलेको छ । जसले राजनीति क्षेत्रलाई निरन्तर खबरदारी गर्दै मुलुक निर्माणमा दबाब सिर्जना गर्ने हैसियत राख्दछ । यसका लागि बिदेशिएका लाखौं युवाहरु अब स्वदेश फर्केर देशकै लागि समर्पित हुने मनस्थिति बनाउनुपर्दछ । यो त्याग देखाउन सक्नुपर्दछ आजको पुस्ताले । महाबिपत्तिसंगै मौलाउने महामारी, महंगी, कालाबजारी, भ्रष्टाचार, लूटपात, डकैती, यौनहिंसा, चेलीबेटी बेचबिखन जस्ता संभावित अर्को खतरालाई रोक्न र थेग्न पनि बिदेशका नेपालीहरु स्वदेश फिर्न जरुरी छ ।
अब नेपालमा फुटपाथका नाङ्ले पसलदेखि तारे होटलसम्म जे गरे पनि उद्योग ब्यवसायको भबिष्य सुनिश्चित देखिन्छ । गाउँघरदेखि सहरबजारसम्म जनशक्तिको अभाव छ । सिकर्मी, डकर्मी, ज्यालादारी मजदुरदेखि उच्चतहका जनशक्तिको नेपालमै अभाव छ । हाम्रा युवाहरु मासिक बिस-तीस हजार कमाउन खाडिको चर्को गर्मी थेग्न तयार हुन्छन् । उनीहरुलाई रोजगारीका अवसर सिर्जना गरी आर्थिक समृद्धिका क्रियाकलापमा सहभागि बनाउने खालका राज्यको सहि नीति तथा योजनाका अभावमा बुझेर या नबुझेर लाखौं युवाहरु बिदेशमोहले ग्रस्त देखिन्छन् । यसलाई अब नयाँ ढंगले सम्बोधन गरिनुपर्दछ । बिशेष अवसरबाहेक सामान्य भन्दा सामान्य कामका लागि उच्च जोखिम मोलेर बैदेशिक रोजगारमा जाने युवाशक्तिलाई देशभित्रै रोजगारीको बन्दोबस्ती राज्यले मिलाउनुपर्दछ भने बिदेशमा भएका नेपालीलाई मुलुक फर्केर आ-आफ़्नो ठाउँबाट योगदान गर्न राज्यका तर्फबाट आह्वान गरिनुपर्दछ । बिदेशमा भएका नेपालीहरु पनि मुलुक संकटमा परेको बेला स्वदेश फर्केर आफुले जानेको, सिकेको र अनुभव गरेको क्षेत्रमा योगदान गरेर नेपाललाई साँच्चिकै नयाँ बनाउने अभियानमा जुट्नुपर्दछ । यी सबका लागि सबैभन्दा आवश्यक पर्ने मुल नेतृत्व र नीति तथा योजना नै हो । त्यसैले कुनै बेला भन्ने गरिएको नयाँ नेपालका लागि नयाँ शक्ति र नयाँ नेतृत्वको बहस यतिबेला सान्दर्भिक देखिन्छ । पुराना शक्ति र नेतृत्व हामीले हेरिसक्यौं, भोगिसक्यौ । देश बनाउनका लागि आवश्यक पर्ने दूरदर्शीता र त्याग भएका राजनेता अब अगाडि आउनुपर्दछ र उसलाई सबैले सहयोग गर्नुपर्दछ । मित्रराष्ट्र सिंगापुरले लि क्वान यु जन्मायो, लि ले आधुनिक सिंगापुर जन्माएको कथा धेरै पुरानो भएको छैन । एउटा सामान्य बन्दरगाहलाई आजको आधुनिक सिंगापुर बनाउने भिजन त्यतिबेलै सोंच्न सक्ने दूरदर्शी नेता लिबाट नेपालका नेताहरुले कहिलै सिकेनन् । अब उनीहरुलाई अभिभावकीय भूमिकामा रहन दिएर नयाँ नेतृत्वको खोजी गरिनुपर्दछ, त्यो संभव छ । संकट र समस्याले नयाँ नेतृत्व जन्माउने हो । परिवर्तित सन्दर्भमा नेपालले अब नयाँ नेतृत्व खोजेको छ जुन कुरा हरेक सचेत नेपालीलाई महशुस भईरहेकै छ । कुनै पनि मुलुकको कायापलट हुने गरी बिकास गर्न त्यहाँको एउटा पुस्ताले त्याग गरेको इतिहास पाइन्छ । नेपालको सन्दर्भमा विभिन्न कालखण्डमा शासन ब्यवस्था परिवर्तनका लागि मात्र तत्कालिन पुस्ताले आन्दोलन गरेको इतिहास छ । शासन ब्यवस्था आफैमा सबैथोक होइन, यो त एउटा साधक मात्र हो । मुलुकलाई बिकासे राजमार्गमा डोर्याउन नीति योजना र नेतृत्व नै सबैभन्दा महत्वपूर्ण कुरा हुन् ।
आफु जन्मिएको थातथलो भत्किएर सडकमा गुजारा गर्नुपर्दा यतिबेला धेरै नेपालीको मन भत्किएको छ । निमेषभरमा सारा बस्तीका बस्ती खण्डहरमा परिणत हुँदाको अकल्पनीय घटनाको बज्रपातले अझै धेरैको मथिंगल सन्तुलित हुन नसकेको स्थिति छ । अर्कोतिर आर्थिक गतिबिधि तहस नहस बन्न पुगेको छ । धन्न नेपालीहरु न त दुखमा आत्तिन्छन् न त सुखमा मात्तिन्छन् । देशकै धरोहर धरहरा त ढल्यो भने हाम्रो घर बाँकी रहने कुरो भएन भनेर आफुलाई बलियो पार्दै मनलाई सान्त्वना दिने क्षमता नेपालीमा प्रचुर देखियो । जे नहुनु थियो भयो, अब भत्किएका मनलाई सिउन र ढलेका बस्तीलाई जुरुक्कै उठाउन नेपालीहरु सबै मिलेर जुट्न आवश्यक छ । यतिबेला मत मतान्तर र नकरात्मक टिकाटिप्पणी गरेर एक सेकेण्ड पनि खेर फालिनु हुँदैन । महाभूकम्पले चेत खुलेका हामी नेपालीले अब गर्नैपर्ने काम भनेको अग्ला गगनचुम्बी ज्यानमारा महल होइन प्रतिरोधक र सुरक्षित घर एवं बस्तीको मोडल तयार गरी ब्यवस्थित समाजको निर्माणमा राज्यसंग हातेमालो गर्नुपर्दछ । जिन्दगीभरिको कमाइ खनाएर आफ़्नै चिहान बनाउने भुल अब कुलै हालतमा गरिनु हुँदैन । सुपथ, सरल र सहजढंगले सुरक्षित र सुनिश्चित निवासको अवधारणा अबको आवश्यकता हो ।
भूकम्पको घाउ आलै छ, नेपाल र नेपालीका लागि अहिले । भूकम्पले नेपाल धर्तीमा जे जति मानवीय तथा भौतिक क्षती पुर्याएको छ त्यो भन्दा धेरै गुणा सचेतनाको पाठ सिकाएको छ । यो पाठबाट नेपालले अबको पुस्ता भूकम्पमा पुरिएर ज्यान गुमाउन नपर्ने संरचनाको बिकास गर्न सक्नुपर्दछ । यसका लागि नयाँ शिराबाट गाउँ, नगर र सहरमा राज्यले आवासीय बिकासको मोडेल तयार गर्नैपर्छ । ९० सालको भूकम्पबाट पाठ सिक्न नसक्दा जुन क्षती आज नेपालले ब्यहोर्नुपरेको छ, त्यसैगरी यसपालीको भूकम्पबाट पाठ नसिक्नु भनेको अर्को क्षतीका लागि तयार भएर बस्नु हो । यस्ता विपत्तिपछि पहिलो र सोझो असर भनेको विपन्न वर्गमा पर्ने हुँदा औसत नेपालीको हैसियत र पहुँचलाई ध्यानमा राखी अब नेपालको नयाँ खाका बनाउन ढिला गरिनुहुँदैन । यो राष्ट्रिय अभियानमा सरकार, राजनीतिक दलहरु, सम्बन्धित बिषयका विज्ञ, नागरिक समाज र डायस्पोराका नेपालीहरु एकैठाउँमा उभिन जरुरी छ ।
ब्यवस्थित सहरी बिकासमा राज्यले ध्यान दिन नसक्नु, मापदण्ड बमोजिम भौतिक संरचनाहरु निर्माण नहुनु, जनतामा भूकम्पको जोखिमलाई न्यूनिकरण गर्ने बारे सचेतना जगाउन नसक्नु, ठूलो भूकम्पको निकट संभावना बारे जानकार हुँदाहुँदै राज्य र सम्बन्धित निकायको कुनै पूर्व तैयारी योजना नहुनु जस्ता अत्यन्त लाजमर्दो भगवान भरोसाको अवस्थामा नेपालीहरुले यसपटक महाभूकम्पको बिपत्ति सामना गर्नुपर्यो । प्राकृतिक प्रकोपपछि मुलुकको पुनर्निर्माण बारे देशविदेशमा गएर बिशेषज्ञता हासिल गरेका दिग्गज नेपालीहरुको पनि सहयोग लिंदै अन्य देशमा घटेका घटनापछि त्यहाँको बिकासको मोडल एवं रोडप्याप, मुलुकभित्रको भूबनोट र यहाँको वस्तुस्थिति सबैलाई अध्ययन गरी अब साँच्चिनै नयाँ नेपाल निर्माणमा लाग्ने बेला भएको छ । यो बिपत्तिसंगै मुलुकलाई नयाँ ढंगले बिकासको गति प्रदान गर्ने अवसर पनि हो यो । यतिबेला संसारभरिका मित्रराष्ट्रहरुले नेपालतिर सहयोगको हात बढाईरहेको स्थिति छ । राज्य र सरकारले यतिबेला दूरदर्शी दृष्टिकोणका साथ कूटनीतिक कौशलता प्रदर्शन गर्न सक्ने हो भने पुरै नेपाल नयाँ बनाउन पुग्ने सहयोग जुट्ने संकेतहरु सतहमा देखिएका छन् । सिंगो नेपाललाई एकैचोटी माथि उठाउन सकिने अवसरका ढोकाहरु खुलेका छन्, तर खाँचो छ देशमा स्थिर राजनीति र कुशल राजनेताको, जसलाई नेपाली जनता र अन्तर्राष्ट्रिय समुदायले सजिलै पत्याउन सकून् ।
देशै हल्लिने गरी आएको महाभूकम्पले थलिएको मुलुकको नवनिर्माण अभियानमा डायस्पोराका नेपालीहरु अब अग्रमोर्चामा रहेर सक्रिय सहभागिता जनाउन सक्नुपर्दछ । इतिहासले सुम्पेको जिम्मेवारी स्वीकार्दै जन्मभूमिमा आइपरेको बिपत्तिमा बिदेशमा भएका लाखौं नेपालीहरु अब नेपाल फ़र्कनुपर्दछ । देश बनाउने संकल्प अब हरेक नेपाली नागरिकको अन्तर्हृदयमा जागृत हुनुपर्दछ । शोकलाई शक्तिमा बदलेर पहिले आ-आफ़्ना ढलेका घर उठाउँदै पुरिएका बस्तीलाई ब्युँझाउनुपर्दछ अनि सिंगो नेपाललाई ब्यवस्थित र सुरक्षित संरचनायुक्त बनाउनुपर्दछ । संगै बिर्सनै नहुने अर्को महत्वपूर्ण कुरा के भने आर्थिक, सामाजिक, राजनीति, प्रशासनिक (कर्मचारीतन्त्र) रुपान्तरण पनि यहि मेसोमा गरिनुपर्दछ । अनि मात्र हुनेछ नयाँ नेपाल । ****
(लेखक मल्ल नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष हुन)