टोकियो – हालै नेपालमा गएको बिनाशकारी महाभूकम्पबाट पीडित तथा प्रभावितहरुका लागि जापानको नेपाली समुदायका विभिन्न संघसंस्थाहरुले संकलन गरेका राहत रकम हस्तान्तरण गर्ने क्रम निरन्तर जारी रहेको छ ।
यसैबीच आज एभरेष्ट इन्टरनेशनल स्कुलले संकलित राहत रकम भूकम्प पीडित राहत तथा सहयोग समितिलाई हस्तान्तरण गरेको छ । टोकियो सिन्जुकुस्थित टीबीआईको प्रधान कार्यालयमा भएको एक भेटघाट कार्यक्रममा एभरेष्ट स्कुलका प्रिन्सिपल प्रदिप थापाले सहयोग समितिका संयोजक भवन भट्टलाई २ लाख ५० हजार येन हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा एनआरएन आइसीसीका सदस्यसमेत रहनुभएका उक्त स्कुलका सञ्चालक समितिका सदस्य भूषण घिमिरे, सहयोग समितिका आर्थिक संयोजक दिपक थापा, एभरेष्ट स्कुलकी अभिभावक कोमात्सुजाकी तोमोमी, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ललगायतको उपस्थिति रहेको थियो ।
यसैगरी एभरेष्ट इन्टर्नेशनल स्कुलले आजै नेपाली दूतावासमा गई प्रधामन्त्री राहत कोषमा जम्मा हुने गरी २ लाख ५० हजार येन हस्तान्तरण गरेको स्कुल स्रोतले जनाएको छ ।
उक्त रकम स्कुलका प्रिन्सिपल प्रदिप थापाले जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईलाई हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा सुगिनामी कल्चर एक्सचेञ्ज एसोसियशनका डाईरेक्टर ताकाहासी काजुओको पनि बिशेष उपस्थिति रहेको थियो ।
सो अवसरमा राजदूत डा. भट्टराईले नेपालको बिपत्तिमा जापान सरकार र जापानी जनताहरुबाट प्राप्त सहयोगका लागि आभार प्रकट गर्नुभएको थियो । ***