टोकियो – महाभूकम्पको बिपत्तिबाट प्रभावित तथा पीडितहरुका लागि नेपाल पत्रकार महासंघ जापान शाखाले सुरु गरेको उध्दार, राहत र सहयोग संकलन अभियानमा जापानको स्थापित ट्राभल कम्पनी नम्वर वनले १ लाख येन सहयोग हस्तारन्तरण गरेको छ ।
सो कम्पनीका प्रवन्ध निर्देशक रञ्जन दासले महासंघको जापान शाखाका अध्यक्ष तिलक मल्ललाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।
टोकियोस्थित समुद्रपारि डट कमको प्रधान कार्यालयमा भएको एक भेटघाट कार्यक्रमका बीच उक्त रकम हस्तान्तरण गरिएको हो ।
सो अवसरमा एनआरएन जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग, एभरेष्ट इन्टर्नेशनल स्कुल जापानका अध्यक्ष डा. भूपालमान श्रेष्ठ, नम्वर वन ट्राभलका बजार ब्यवस्थापक दिनेश केसी, टिकेटिङ कन्सलट्यान्ट राजु श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रवन्ध निर्देशक दासले नेपालमा महाभूकम्पका कारण भएको जनधनको क्षतीप्रति गहिरो दुख ब्यक्त गर्नुभयो । उहाँले सो बिपत्तिमा परी ज्यान गुमाउने हजारौं ज्ञात अज्ञात दिवंगत आत्माहरुको चिरशान्तिको कामना गर्दै हार्दिक श्रध्दाञ्जली ब्यक्त गर्नुका साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभयो ।जापानमा लामो समयदेखि ट्राभल ब्यवसायमा संलग्न भारतीय नागरिक दासले यस दुखद घडिमा शोकाकुल परिवारजनहरुमा धैर्यधारण गर्न सक्ने शक्ति मिलोस् भन्ने कामना गर्दै हार्दिक समवेदना ब्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघ केन्द्रको निर्देशन अनुसार जापान शाखाले विभिन्न ढंगले राहत सहयोग संकलन कार्यलाई तिब्र पार्दै आईरहेको छ । यस अभियानमा सघाउन जापानमा रहनुभएका समस्त पत्रकार तथा अन्य नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा जापान शाखाले अपिल गरेको छ । ***