यस्तो रह्यो आज टोकियोमा नेपथ्यको लाईभ कन्सर्ट
टोकियो – बिशाल नेपालीहरुको उपस्थितिमा आज टोकियोमा ‘नेपथ्य लाइभ कन्सर्ट’ सम्पन्न भएको छ ।
महाभूकम्पमा परी ज्यान गुमाउने नेपाल आमाकी हजारौं सन्ततीहरुको आत्माको चिरशान्तिको कामना गर्दै १ मिनेट मौन धारणबाट सुरु भएको कार्यक्रममा आयोजक सँस्था तमु धीं जापानका अध्यक्ष भीम गुरुङले उपस्थित सबैमा स्वागत गर्नुभएको थियो । लगत्तै कार्यक्रम संयोजक ईश्वर गुरुङले मुलुकको विपत्तिमा सघाउन नेपथ्य लाइभ कन्सर्टको आयोजना गरिएको बताउनुभयो ।
मेरो देश, पुतली, यो जिन्दगानी, जीवन छोटो छ, ओइ आमा, माया गर्ने नानी, रातो र चन्द्रसूर्य जंगी निशान हाम्रो… लगायतका दर्जनभन्दा बढि राष्ट्रिय भावनाले ओतप्रोत भएका गीत गाएर गायक अमृत गुरुङले जापानका नेपालीहरुलाई जन्मभूमिप्रतिको कर्त्तब्यमा सजग बनाउनुभएको थियो ।
गाउँदा गाउँदै भावुक हुँदै गायक गुरुङले भन्नुभयो – ‘म आज यहाँहरुलाई कम्मर मर्काइ मर्काइ धित मरुञ्जेल नचाउन चाहन्थे, तर माफ गर्नुस, आज सक्दिन, किन कि मेरो देश अहिले शोकको आहालमा डुबेको छ । देशभन्दा ठूलो र माथि हाम्रा लागि अरु केही हुन सक्दैन’ – गायक गुरुङले भन्नुभयो ।
‘तपाईहरु जापानमा हुनुहुन्छ, हामीले यहाँको कला, सँस्कृति र भाषा साहित्यको सम्मान अनि माया गर्न जान्नुपर्छ । अनि उहाँहरुले पनि हाम्रो कला र सँस्कृतिको पक्कै माया गर्नुहुने छ’ – गायक गुरुङको कथन थियो ।
‘सन् २०११ मा जापानमा आएको भूकम्प र सुनामीको बेला हामी नेपालमा रोयौं, अहिले हाम्रा जापानी मित्रहरु रोईरहनुभएको छ । यो दुखमा हामी सबै मिलेर धैर्यधारण गर्न सकौं, हामी त्यसैका लागि आएका हौं, त्यसैका लागि गाएका हौं’ – गायक गुरुङले भन्नुभयो ।
गायक गुरुङले जति गीत गाउनुभयो सबै देशको माटोको गीत गाउनुभयो, देश दुखेको गीत गाउनुभयो, गीतबाटै मुलुकप्रतिको कर्त्तब्य नबिर्सन प्रवासी नेपालीहरुलाई आह्वान पनि गर्नुभयो ।
गायक गुरुङले ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ….’ बोलको गीत गाउँदा दर्शकदीर्घाका पुरै जुरुक्कै उर्लेका मात्र थिएनन् भावुक हुँदै संगसंगै गाएर साथ पनि दिएका थिए, हल गुन्जायमान गराएका थिए ।
अन्तमा, गायक गुरुङले जहाँ जसरी रहे पनि नेपाली भएर रहन र त्यहाँको स्थानीय बासिन्दासंग राम्रो सद्भाव राखेर नेपालीको असल परिचय कायम गर्न आग्रह गर्नुभयो । उहाँले एक पटकको जिन्दगी खुशी भएर जिउन पनि अपिल गर्नुभयो ।
गायक गुरुङले आजको कन्सर्टमा आफ़्ना नाच्न बाध्य पार्ने खालका दर्जनौ गीतहरु भए पनि देश दुखेको बेला भन्दै त्यस्तो कुनै रोमान्टिक गीत गाउनुभएन । पुरै देशप्रेमको गीत गाउनुभयो ।
तमु धीं जापानले आफ़्नो बिसौं बार्षिकोत्सवका अवसरमा नेपथ्य लाइभ कन्सर्टको आयोजना गरेको हो । बहुप्रतिक्षित कन्सर्ट देशमा गएको महाभूकम्पले प्रभावित भए पनि दर्शकको उपस्थितिका हिसाबले उत्साहजनक नै रहेको आयोजकको दाबी छ ।
कार्यक्रमबाट हुने आम्दानी भूकम्प पीडितहरुको राहतमा खर्च गरिने आयोजक संस्थाले बताउँदै आएको छ ।
कार्यक्रमको प्रमुख अतिथिकारुपमा जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईको बिशेष उपथिति रहेको थियो । कार्यक्रमको औपचारिक चरणमा संस्थाका महासचिव अम्मर गुरुङको संचालन रहेको थियो । ***