भारतीय मिडियाको भूमिकाप्रति महासंघको असन्तुष्टि
काठमाडौं – आज मे ३ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा विश्वभरका पत्रकारहरू विश्व प्रेस स्वतन्त्रता दिवस मनाइरहेको परिस्थितिमा नेपाल पत्रकार महासंघले भने कुनै पनि औपचारिक कार्यक्रम नगरी भूकम्प पीडितको उध्दार र हरसंभवका सहयोगमा केन्द्रित गरेको बताएको छ ।
गत वैशाख १२ गते गएको प्रलयकारी महाभूकम्पबाट पत्रकार सुमन भोम्जनलगायत सात हजार भन्दा बढी नागरिकको ज्यान गएको दुखद अवस्थाका कारण महासंघले कुनै पनि औपचारिक कार्यक्रम नगरी उध्दार तथा राहतका केन्द्रीत हुनुपरेको बताएको हो ।
महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले एक बिज्ञप्ति प्रकाशित गर्दै राष्ट्रिय शोकको यस घडीमा नेपाल पत्रकार महासंघ र नेपालको प्रेस जगत प्रेस स्वतन्त्रता दिवसका अवसरमा कुनै पनि औपचारिक कार्यक्रम नगरी भूकम्प पीडितको उध्दार र हरसंभवका सहयोगमा केन्द्रित हुनु परेको बताउनुभएको छ ।
बिज्ञप्तिमा अगाडि भनिएको छ – महाभूकम्पको एक साताको यो अवधिसम्ममा सात हजार भन्दा बढीको जीवन गुमिसकेको छ भने हजारौं घाइते भएको अवस्था छ । लाखौं घर पूर्ण क्षति भएका छन् । धराहरालगायत थुप्रै ऐतिहासिक तथा धार्मिक मठमन्दिर, साँस्कृतिक सम्पदा र पुरातात्विक स्मारकहरू नष्ट भएका छन् । यस्तो अवस्थामा हरेकलाई आफू सम्हालिन, आफन्तलाई सम्हाल्न अनि आफ्नो जिम्मेवारी सम्हाल्न मुस्किल हुनु स्वभाविक हो । यसका बाबजुद पनि हामी सवै यो विपदको सामना गर्न कृतसंकल्पित छौं ।
यसैगरी बिज्ञप्तिमा, नेपाल पत्रकार महासंघले अहिले राष्ट्रिय विपत्तिको सामनामा जुट्नुका साथै पत्रकार तथा प्रेस जगतमा भएको क्षतिको विवरण संकलन एवं सक्दो उध्दार, राहत र मिडियामार्फतको दायित्व निर्वाह गरिरहेको बताईएको छ । पत्रकार सुमन भोम्जनलाई गुमाउनुपरेको पीडा त छँदैछ, यो विपत्तिमा महासंघ केन्द्रीय सदस्य माधव दुलालसहित दर्जन बढी पत्रकारले आफन्त गुमाउनु परेको छ । कतिपय घाइते हुनुहुन्छ । धेरै सञ्चार संस्थाहरू कामै नलाग्ने गरी क्षतिग्रस्त छन् । कतिपय बन्द छन् भने कतिपयले अस्थायी शिविर खडा गरेर प्रकाशन-प्रसारणलाई निरन्तरता दिइरहेको अवस्था छ । यो बेला अत्यन्तै जोखिमका बीच पनि मिडियाकर्मीहरूले जसरी आफ्नो दायित्व पूरा गरिरहनुभएको छ, त्यो प्रशंसनीय छ । यस्तो घडीमा हामीले अझ बढी जिम्मेवार र उत्तरदायित्वपूर्ण ढंगले काम गर्नुपर्ने खाँचो छ । विभत्स दृश्य, नकारात्मक सन्देश र अतिरञ्जनापूर्ण प्रस्तुति हुन नपाउन् भनेर थप होसियारी अपनाउनुपर्ने खाँचो छ – बिज्ञप्तिमा भनिएको छ ।
नेपाल र नेपालीमा परेको यो महाविपत्तिप्रति अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त सहयोग र अन्तर्राष्ट्रिय मिडिया जगतको ऐक्यवध्दताले हामीलाई सान्त्वना मिलेको छ । तर, कतिपय विदेशी मिडियाबाट पीडाको यस घडीमा जसरी नेपालको सार्वभौमिकता, पत्रकारिताको धर्म र मानवीयताको खिल्ली उडाउँदै थप पीडा दिने काम भएको छ, हामी त्यसबाट मर्माहत भएका छौं । खासगरी केही भारतीय मिडियाको अफवाह, अतिरञ्जना र संवेदनाहीन प्रस्तुतिप्रति खेद छ । यस सन्दर्भमा मुलुकका जिम्मेवार निकाय र अन्तर्राष्ट्रिय मिडिया जगतको हामी गम्भीर ध्यानकर्षण गराउन चाहन्छौं – महासंघले बिज्ञप्तिमा जनाएको छ ।
नेपाली मिडिया अनेकखालको चुनौतीबाट गुज्रिरहेको छ । मुलुक लोकतान्त्रिक युगमा छ, तर नेपाली मिडियाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग र पत्रकारको पेशागत तथा भौतिक सुरक्षाको अनुभूति गर्न पाएको छैन । दण्डहीनता व्याप्त छ । सेल्फ सेन्सरसीपले गाँजेको छ । यो वर्ष मात्रै पनि प्रेस स्वतन्त्रता हननका ४६ वटा घटनाहरू भएका छन् । यस्ता थुप्रै नीतिगत, संरचनागत, कानुनी र अन्य पेशागत मुध्दामा हामी विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बृहत छलफल गर्न चाहन्थ्यौं । प्रेस स्वतन्त्रताका योध्दाहरूको सम्मान गर्न चाहन्थ्यौं । तर, नियतिले हामीलाई अहिले यी सवै विषयलाई थाँती राखेर महाविपत्तिको सामनामै केन्द्रित हुनुपर्ने अवस्थामा पुर्याएको छ – विज्ञप्तिमा अगाडि भनिएको छ ।
महाविपत्तिको यस्तो घडीमा आएको विश्व प्रेस स्वतन्त्रता दिवस, २०७२ का अवसरमा म महाभूकम्पमा परी जीवन गुमाउने सवैमा हार्दिक श्रध्दाञ्जली व्यक्त गर्दछु र, आमसञ्चारकर्मी, विचार र अभिव्यक्ति स्वतन्त्रताका पक्षधर र आमनागरिकमा आपसमा मिलेर यो विपत्तिको सामना गर्दै प्रेस स्वतन्त्रताको रक्षा र मुलुकको पुनर्निर्माणमा लाग्ने संकल्प गर्न हार्दिक अपील गर्दछु – विज्ञप्तिमा उल्लेख छ । ***