टोकियो – गत शनिवार गएको महाभूकम्पका कारण भएको नेपालको मानवीय तथा भौतिक क्षतीप्रति मर्माहत बन्न पुगेका जापानमा रहेका नेपालीहरु विभिन्न ढंगले परिचालित भई राहत संकलनमा अभुतपूर्व सक्रियता देखाईरहेका छन् ।
यसै सन्दर्भमा जापानका बिभिन्न संघसंस्थाहरुको संयुक्त अभियानकारुपमा राहत संकलन गर्न गठित नेपाल भूकम्प पीडित राहत तथा सहयोग समितिले राहत संकलन कार्यलाई ब्यवस्थित, मर्यादित र नियम कानुनको परिधिमा रहेर गर्न गराउन सम्बन्धित सबैमा अपिल गरेको छ ।
सहयोग समितिको तर्फबाट कार्यबाहक संयोजक रोशन केसीले आज एक बिज्ञप्ति प्रकाशित गर्दै जापानका बिभिन्न सहर र नगरीमा रहेका नेपाली तथा जापानी मित्रहरुले राहत संकलन गरी नेपालको बिपत्तिमा सघाउन देखाएको सक्रियताप्रति धन्यवाद ब्यक्त गर्दै राहत संकलन कार्यलाई ब्यवस्थित, मर्यादित र जापानको नियम कानुनको परिधिभित्र रहेर गर्न, गराउनु हुन अपिल गर्नुभएको हो । विज्ञप्तिमार्फत मुलुक विक्षिप्त अवस्थामा पुगेको संबेदनशीलतालाई ध्यानमा राख्दै अत्यन्त संयमित र संवेदनशील भई मुलुकको गरिमा र प्रतिष्ठामा कुनै आँच नआउने गरी राहत संकलन कार्य गर्न अपिल गरिएको छ ।
यसैगरी बिज्ञप्तिमा, जापानमा बिभिन्न संघसंस्था, शैक्षिक संस्थान, ब्यक्ति, समुह, रेष्टुरेन्ट र पसलहरुले पनि विभिन्न ढंगले राहत संकलन गरिरहेको सन्दर्भमा त्यसको लेखाजोखा, मुल्याङ्कन र अभिलेखीकरण गर्नुपर्ने भएकोले आ-आफुले गरेको राहत संकलन कार्यको जानकारी यस समिति (080-5495-5877) लाई गराई सहयोग गर्नुहुन बिनम्र अनुरोध गरिएको छ । यसैगरी महाभूकम्पमा परी परिवारमा मानवीय क्षती ब्यहोर्नुपरेको नेपालीहरु कोही जापानमा भए जानकारी गराउन पनि समितिले अनुरोध गरेको छ । अभिलेख राख्न र संभावित सहयोग गर्न समितिले जानकारी गराउन अपिल गरेको बताईएको छ ।
यसैगरी विज्ञप्तिमा लत्ता, कपडा, खाद्यवस्तुलगायतका केही राहत सामाग्री पनि जम्मा भईसकेको हुँदा तत्काल नेपाल पठाउनका लागि केही समस्या देखिएकोले राहत सामाग्री पठाउनमा सहयोग गर्न सक्ने कोही नेपाल जाँदै गर्नुभएका ब्यक्ति वा ट्राभल एजेन्सी तथा अन्य सम्बन्धित निकायहरुले सहकार्य गर्न पनि नेपाल भूकम्प पीडित राहत तथा सहयोग समितिले बिज्ञप्तिमार्फत आह्वान गरेको छ । ***