टोकियो – शनिवार गएको विनाशकारी महाभूकम्पबाट भएको ठूलो जनधनको क्षतीमा गहिरो दुख ब्यक्त गर्दै जापानको टोयोटा ग्रुपले राहत एवं पुनर्स्थापनाका लागि १ करोड (१ हजार मान) येन सहयोग गर्ने घोषणा गरेको छ ।
टोयोटा ग्रुपका वरिष्ठ अधिकारीहरु नेपाली दूतावासमा आई उक्त सहयोग राशीको घोषणा गरेका हुन् । जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईलाई भेटेर नेपालको बिपत्तिमा दुख ब्यक्त गर्दै अधिकारीहरुले सहयोगको घोषणा गर्नुका साथै नेपालको विपत्तिमा जापानको निजी क्षेत्रबाट पनि ठूलो सहयोग राशी आउने आश्वासन दिएको दूतावासद्वारा जारी बिज्ञप्तीमा जनाईएको छ ।
यसैगरी जापानको एक प्रतिष्ठित डिपार्टमेन्ट कम्पनी एइवनका अध्यक्ष नाओकी हायासीले पनि आजै राजदूत डा. भट्टराईलाई भेटी नेपालको बिपत्तिमा १ करोड (१ हजार मान) येन सघाउने वचन दिनुभएको छ । भेटका अवसरमा हायासीले जापानभरि बिस्तारित आफ़्नो कम्पनीको ७ हजार भन्दा बढि शाखा पसलहरुमा नेपालको बिपत्तिमा सघाउनका लागि चन्दा संकलन बाकस राखिएको जानकारी गराउनुका साथै यसरी संकलन हुने कुल रकममा त्यति नै रकम आफ़्नो कम्पनीले थपेर नेपाललाई सहयोग गर्ने प्रतिबध्दता ब्यक्त गर्नुभयो । एइवन ग्रुपले गएको वर्ष २०१४ मा नेपालको कपिलवस्तु र पर्सा जल्लामा ५७ वटा विद्यालय भवन निर्माण लगायतका सामाजिक कार्यहरु पनि गरेको छ ।
यसैगरी बुध्दिष्ट संगठन सोका गाक्काईले पनि नेपालको बिपत्तिमा ५० लाख येन सहयोग गरेको छ भने मेगुरो सिटीका मेयर, निगाता प्रिफेक्चरका गभर्नर लगायतका अधिकारीहरु पनि दूतावासमा आई नेपालको बिपत्तिमा गहिरो दुख ब्यक्त गर्दै भूकम्पमा परी ज्यान गुमाउनेहरुप्रति श्रध्दाञ्जली ब्यक्त गर्नुका साथै राहत सहयोग प्रदान गरेका छन् भने र उध्दार तथा राहत सहयोग जारी रहने प्रतिबध्दता ब्यक्त गरिएको छ ।
पछिल्लो तीन दिनमा दूतावासमै आएर राहत सहयोग प्रदान गर्ने जापानीहरुबाट ३ करोड येन भन्दा बढि संकलन भएको दूतावास स्रोतले जनाएको छ ।
स्मरण रहोस् नेपालको बिपत्तिमा जापान सरकारले यस अघि नै आकस्मिक राहतस्वरुप ८० करोड अमेरिकन डलर सहयोग गरिसकेको छ भने राहत सामाग्री, उध्दार तथा राहतको बिशेष टोली, बिज्ञहरुको टोली, मेडिकल टिम यस अघि नै नेपाल पठाईसकेको छ । ***