आज मेरो देश विनाशकारी भूकम्पको पीडाबाट रोईरहेको अवस्थामा नरुने मन नेपाली नागरिकता र राहदानी बोके पनि त्यो कसरि नेपाली बन्ला र ? बाबु आमा पीडामा हुंदा रमाउने त्यो कसरी सन्तान होला र ? आजको हाम्रो पीडा निको पार्न हामी आफै नै अघि सर्न जरुरी छ । संसारले हाम्रो घाउलाई निको पार्न जुनरुपमा सहयोग गरिराखेको छ त्यो देख्दा पनि त्यतिकै बस्न सक्ने अबस्था हुंदैन । पूर्व मेचीदेखि महाकालीसम्म चोट जहाँ लागे पनि आखिर चोट हामीलाई नै लागेको हो त्यसैले सबैले आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्न जरुरी छ ।
यस्तो विषम दुखमा पनि दुख भित्रको पनि दुखको कुरा देख्दा अझ दुख लाग्दछ । आज राहतको रुपमा देशले धेरै नै सहयोग खोजेको छ । अहिले पनि देशले सहयोग पाउने क्रम चलिरहेको छ, राज्यले पनि सबै पीडितहरुले राहत पाएका छन् भन्दैछ तर बास्तबिक पीडितले पाउन सकिराखेको देखिदैन। कोहि आज उध्दारलाई पर्खदा पर्खदै पनि कालको सिरानी राख्न बाध्य परिरहेको छन । कसैले यहि दुखमा लडिराखेकाहरु माथि जग राखेर महल बनाउने सपना बुन्दैछन् ।
पीडितलाई अझ पीडित पार्न उपभोग्य बस्तुको मूल्य २/३ गुणा बढी महंगो पारेका छन । सवारी साधनमा पनि उस्तै मनपरी चलेको छ । यो अबस्थामा सबैले आफ्नो ठाउंबाट सहयोग गर्ने हो भने समस्यालाई पार लगाउन सहज हुनेछ ।
आखिर हामी सबै पीडित नै हो हामीलाई राजनीतिले पनि कहिल्यै निकास दिएन । हामीले राम्रो गर्नेलाई जन्माउन सकेनौ, नसक्नेलाई आफै माथि पुराउंछौ अनि गाली पनि गर्छौ तर आहिलेको समय भनेको सबै मिलेर दु:खलाई पार लगाउने हो । कोहि धेरै नै पीडित भएका हौंला, कोहि कम, त्यसैले आहात नहुनेले पनि राहतमा आंखा लगाउंदा वास्तविक पीडितले अझ पीडित हुनुपर्ने छ । कति महलले च्यापिएर मरे कति झुपडीले, कसैलाई पालको ओत कटेजको लागि होला, कसैलाई सटेजको लागि होला, कसैलाई आकाशको छानोले मनोरंजन देला, कसैलाई पीडा देला, कसैलाई बाहिरै खानुले आनन्द देला कसैलाई पहिचान देला आखिर एउटै कुरा भित्र छ हुने र नहुनेहरु बिचको अन्तर।
अहिले सक्ने जतिले सहयोग गर्न जरुरी छ, सक्नेले आफ्नो घाउ आफै निको पारौ, आफ्नो भत्केको संरचना आफै बनाऔं, पाल आफै किनेर ओत लागौ, खानेकुरा आफै किनेर उपभोग गरौं, जसले गर्दा संधैभरि गरिबीको रेखामुनि रहेको वास्तविक पीडितको राहतमा असर नपरोस, घामपानीमा भिजेर मजदुरी गरे पनि ओत लागेर खान बस्न पाओस अग्लोले होचोलाई कुल्चेर हात नथापौं, उसले पनि सास फेर्न पाओस, नयां जुत्ता राहतमा आउंदा पुरानो खोलेर नदिउ उसले पनि नयां अनुभुति गर्न पाओस । यो कुरा समानताको बिपरित छ सामान्यतया समानतालाई न्यायिक मानिन्छ तर कहिलेकाही समानताले न्याय गर्दैन जस्तो बच्चालाई दिने १ मानो चामल र बयस्कलाई दिने १ मानो चामलको राहतले न्याय गर्दैन, हुनेले १ लाखको राहतमा थपेर घरमा छानो लगाउला नहुनेलाई ओत लाग्दैन । जो संग धेरै छ धेरै नै दिउ कम हुनेले कमै दिउं । नसक्ने र नहुने वास्तविक पीडितले पाउनुपर्ने राहतले सक्नेले आराम नगरौ यसैबाट हुन्छ धर्म, न्याय, अनि निकास र बिकास, जय होस् ।